धरानका पुर्वमेयर पत्नी एवं तत्कालिन एमाले नेतृसहित ४६ जना समाजवादी पार्टीमा प्रवेश

धरान : धरानका पुर्व मेयर मनोजकुमार मेन्याङ्बोकी पत्नी प्रमिला यङ्देन समाजवादी पार्टीमा प्रवेश गरेकी छिन् ।

शुक्रबार धरान १५ स्थित चुम्लुङ हिममा आयोजित समाजवादी पार्टीको १ नम्बर प्रदेश समिति समायोजन घोषणा कार्यक्रममा पार्टी प्रवेश गर्नेहरुको लहरमा यङ्देन पनि थिइन् । उनी पुर्वमेयरकी पत्नी मात्र नभै साविक एमाले धरान उपमहानगर कमिटि सदस्य र वडा नं ८ सह इञ्चार्ज पनि थिइन् । तर, पछिल्लो समय उनी पार्टीमा सक्रिय थिइनन् । २०७४ को स्थानीयतह निर्वाचनको बेला पार्टीसँग असन्तुष्ट बनेकी उनी वडा नं ८ मा अध्यक्ष पदमा बाघी उम्मेदवारी दिएकी थिइन् । त्यसपछि उनी एमाले पार्टीबाट टाढिएकी थिइन् भने पार्टीले कारबाही गरेको थियो ।

शुक्रबार उनै यङ्देनलाई समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, वरिष्ठ नेता अशोक राई, पुर्वप्रधानमन्त्री एवं संघीय परिषद अध्यक्ष डा.बाबुराम भटराईलगायतले पार्टी प्रवेश गराएका थिए । तत्कालिन एमालेको नगर अधिवेशन हुँदा मतदान प्रक्रियाबाट सदस्य पदमा उनले जितेकी थिइन् । पछि वडा सहइञ्चार्जको पनि जिम्मेवारी पाएकी थिइन् । पछिल्लो समय आफु स्वतन्त्ररुपमा बसेको र नेताहरुको आग्रहमा पार्टी प्रवेश गरेको बताइन् ।

उनी श्रीमान् तथा नेकपा प्रदेश कमिटि सदस्य मेन्याङ्बोसँग छुट्टिएर अलग्गै बसेकी छिन् । उनीहरुको औपचारिकरुपमा सम्बन्ध विच्छेद हुन भने बाँकी रहेको बताइएको छ । शुक्रबार यङ्देनसँगै संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका केन्द्रीय सदस्य नन्द याम्फु, लिम्बुवान मञ्चका मोरङ जिल्ला उपाध्यक्ष नगेन्द्र पारघरीलगायत ४६ जना समाजवादीमा प्रवेश गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार