फाल्गुनन्द गाउँपालिका अध्यक्षमा समाजवादीबाट विमला आङदेम्बे उम्मेद्वार

  युद्धबहादुर बोहोरा
0 Shares

पाँचथर :  पाँचथरको फाल्गुनन्द गाउँपालिका अध्यक्षमा समाजवादी पार्टीका तर्फबाट विमला आङदेम्बे (नेम्बाङ) उम्मेद्वार भएकी छन् ।

विहीबार समाजवादी पार्टी फाल्गुन्द गाउँपालिको घर्विसे पंचमीको भएको बैठकले आगामी १४ मंसिरमा हुने उपनिर्वाचनमा अध्यक्षको उम्मेद्वारमा आङदेम्बे (नेम्बाङ) लाई सर्वसम्मत चयन गरेको हो । फाल्गुनन्द-१ निवासी विमला स्थानीय क्षेत्रमा प्रभावशाली नेतृका रुपमा स्थापित छन् ।  उनी समाजवादी पार्टी फाल्गुन्द गाउँपालिका वडा नम्बर १ वडा समितिको वडाध्यक्ष हुन् ।

उनको  उम्मेद्वारीसँगै पार्टीको संगठन बलियो हुने समाजवादी पार्टीको ठहर छ । अन्य पार्टीको तर्फबाट सबै उम्मेद्वार पुरुष भएको अवस्थामा समाजवादी पार्टीले अध्यक्षमा महिलालाई उम्मेद्वार बनाएको हो ।

त्यस्तै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले फाल्गुनन्द गाउँपालिका नेकपा अध्यक्ष वीरबहादुर कुरुम्बाङलाई अध्यक्ष पदमा सर्बसम्मतबाट सिफारिस गरेको छ ।

यस्तै फिदिम नगरपालिका वडा नम्बर १ मा गजाधार भट्टराईलाई र हिलिहाङ ७ मा गेहनाथ रिजाललाई अघि वढाएको नेकपा पाँचथरका अध्यक्ष राजकुमार भण्डारीले जानकारी दिए । कुरुम्बाङ र भट्टराई यसअघि पनि तत्कालिन नेकपा एमालेबाट नेपाली काग्रेससँग पराजित भएका थिए ।

फाल्गुनन्द गाउँपालिकाको अध्यक्ष अमर नेम्बाङ, फिदिम १ का वडाअध्यक्ष हर्क मोक्तान र हिलिहाङ गाउँपालिका वडा नम्बर ७ मा तिर्थ तिम्सिनाको निधन भएको थियो ।

यसअघि नेपाली काग्रेसले पाँचथरको फाल्गुनन्द गाउँपालिकामा पार्टी सचिव वृजहाङ आङदेम्बे, हिलिहाङ ७ मा तिलविक्रम इधिङगोलाई टुंगो लगाइसकेको छ । यस्तै फिदिम १ मा भने अहिले सम्म टुंगो लगाइसकेको छैन् । अव वडा नम्बर १ को पनि चाँडै टुंगो लगाउने काग्रेस वडा नम्बर १ का सभापति सुभराज थापाले बताए ।

यसअघि राप्रपा र संघीय लोकतान्त्रिक राष्ट्रीय मञ्च संघीय लिम्बुवान मञ्चले अध्यक्षमा उम्मेद्वार टुङ्गो लागइसकेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार