
इलाम : त्रिवेणी युथ क्लब, देउमाई नगरपालिका इलाम सदरमुकाममा भइरहेको चाैंथो इलाम प्रिमियर लिग (आइपिएल) को एक खेल खेल्नु अगाडि नै फाइनलमा प्रवेश गरेको छ ।
लगातार दोस्रो जित हात पार्ने क्रममा आज इलाम क्रीकेट युथ एकेडेमी फर युथ (आइसिएवाई) लाई १८ रन अन्तरले पराजित गर्दै त्रिवेणी युथ क्लब फाइनलमा प्रवेश गरेको हो ।
टस जितेर पहिलो ब्याटिङ गरेको त्रिवेणी युथ क्लबले निर्धारित २० ओभरमा नौ विकेट गुमाउँदै एक सय २४ रनको मध्यम योगफल तयार पारेको थियो ।
त्रिवेणी युथ क्लबका लागि अजय राजवंशीले ३० बलको सामना गर्दै तीन छक्का र तीन चौकाको मद्दतले सर्वाधिक ३६ रन बनाए । उनी बाहेक कुसल प्रधान र सोजित श्रेष्ठले १६/१६ तथा प्रज्वल प्रधानले १५ रनको योगदान गरे भने त्रिवेणी युथ क्लबले १४ रन अतिरिक्त बापत पाएको थियो ।
आइसिएवाईको लागि सुदिप तामाङले तीन विकेट लिए भने बिपिन महतो र साहिल घिसिङले दुई/दुई तथा अभ्यास तिम्सिना र माधव लुइँटेलले एक/एक विकेट लिए । एक सय २५ रनको विजय लक्ष्य पछ्याएको आइसिएवाईले त्रिवेणी युथ क्लबको धारिलो बलिङसामु १९.३ ओभरमा सबै विकेट गुमाएर एक सय छ रन मात्र बनाउन सक्यो ।
आइसिएवाईको लागि पुजन खड्काले ४८ बल खेल्दै एक छक्का र सात चौकाको मद्दतले अविजित ४३ रन बनाए । यस्तै आइसिएवाईको लागि बिबेक बुढाथोकीले १८ रन बनाउनु बाहेक कुनैपनि ब्याट्सम्यानले दोहोरो अंकको रन बनाउन सकेनन् । आइसिएवाईलाई सस्तैमा समेट्नको लागि त्रिवेणी युथ क्लबको लागि अमिर बुढाथोकीले ३.३ ओभर बलिङ गर्दै २७ रन खर्चेर चार विकेट झारे । उनी बाहेक अजय राजवंशी र मुकुन्द यादवले दुई/दुई तथा प्रतीक श्रेष्ठले एक विकेट झारे । खेलको म्यान अफ द म्याच त्रिवेणी युथ क्लबको तर्फबाट उत्कृष्ट बलिङ गरेका अमिर बुढाथोकी भए ।
यसैगरी आजै सम्पन्न अर्को खेलमा बिस्फोटक ब्याट्सम्यान अंकित सुवेदीले अविजित एक सय ३९ रन बनाएपछि न्युस्टार तिल्केनीले सुर्योदय क्रीकेट टिमलाई एक सय १६ रनको फराकिलो अन्तरले पराजित गर्यो ।

अंकितले बनाएको शतक प्रतियोगिताको पहिलो शतक हो । टस जितेर पहिलो ब्याटिङ गरेको न्युस्टारले निर्धारित २० ओभरको खेलमा सात विकेट गुमाएर दुई सय १८ रनको विशाल योगफल बनाएको थियो । ६० बलको सामना गरेका अंकितले अविजित एक सय ३९ रनको इनिङमा १३ छक्का र १२ चौका हानेका थिए । यस्तै न्युस्टारको लागि निदेन श्रेष्ठले ३६ रनको योगदान गरे ।
सुर्योदयको लागि हेमन राई र प्रदिप मिश्रले दुई/दुई तथा गोविन्द कट्टेल, इशान राई र उज्वल काफ्लेले एक/एक विकेट लिए । दुई सय १९ रनको विशाल लक्ष्य पछ्याएको सुर्योदय नगरपालिकाको क्रीकेट टिम १६.१ ओभरमा सबै विकेट गुमाउँदै एक सय दुई रनमा समेटियो । सुर्योदयको लागि अनिश मैनालीले २० र मनोज आचार्यले अविजित १० रन बनाउनु बाहेक कुनै ब्याट्सम्यानले दोहोरो अंकको रन बनाउन सकेनन् ।
सुर्योदयलाई सस्तोमा समेट्न न्युस्टारको लागि प्रवेश कामतीले चार ओभर बलिङ गर्दै पाँच रन खर्चिएर सर्वाधिक चार विकेट लिए । यस्तै सुनिल मगरले दुई तथा सुजन श्रेष्ठ, सगुन खत्री, अंकित सुवेदी र अबिनाश पौडेलले एक/एक विकेट लिए । खेलको म्यान अफ द म्याच न्युस्टार तिल्केनीको लागि प्रतियोगिताको पहिलो शतक बनाएर एक विकेट समेत लिन सफल अंकित सुवेदी भएका छन् ।
जिल्ला क्रीकेट संघ इलामको आयोजनामा कार्तिक २ गतेदेखि इलाम सदरमुकामस्थित टुडिखेलमा भइरहेको आइपिएलको फाइनल खेल आगामी ९ गते काग तिहारको दिन हुने संघका अध्यक्ष अर्जुन पौडेलले बताए ।
प्रतियोगिताको विजेता टिमले एक लाख नगद पुरस्कार पाउनेछ भने उपविजेताले ५० हजार पाउनेछ । यसैगरी प्रतियोगिताको म्यान अफ द सिरिजले सात हजार तथा सर्वाधिक रन बनाउने र सर्वाधिक विकेट लिने खेलाडीलाई पाँच/पाँच हजार नगद प्रदान गरिने अध्यक्ष पौडेलले बताए ।






















































