नेपाल विकासको नयाँ युगमा : प्रधानमन्त्री ओली

काठमाडौं  : प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल विकासको नयाँ युगमा प्रवेश गरेको बताएका छन् ।

सोमबार नागढुंगा सुरुङ मार्गको शिलान्यास गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् ।

सुरुङमार्गको प्रयोग नेपालमा पहिलो भएकोले यस प्रकारको विकासले देशलाई नयाँ फड्कोबाट अघि बढाउने प्रधानमन्त्री ओलीको भनाइ छ । “हामी यस्तै प्रकारका विकासका नयाँ अभ्यासहरु गर्दै देशलाई विकासको गतिमा अघि बढाउनेछौं” प्रधामन्त्री ओलीले भने, “यस सुरुङमार्ग निर्माणको सहयोगका लागि जापानी सरकार र त्यहाँका जनताप्रति आभार व्यक्त गर्दछु ।”

प्रधानमन्त्री ओलीले यो सुरुङ मार्गको ४२ महिनामा निर्माण सम्पन्न भइसक्ने बताए । “विकासको यो नमुना हेर्न केही समय पखौं । बढीमा ४२ महिनामा काम सकिन्छ” प्रधानमन्त्री ओलीले भने, “निर्माण कम्पनीले समय मै काम सक्नेछ भन्ने मेरो विश्वास छ ।”

प्रधानमन्त्री ओलीले देशका अन्य ठाउँमा पनि सुरुङ मार्गको निर्माणका लागि सरकारले प्रक्रिया अघि बढाएको बताएका छन् । “सरकार अब योजनाबद्ध ढंगले विकासका आधुनिक नमुनाहरु प्रयोग गर्दै अघि बढ्दछ” प्रधानमन्त्री ओलीले भने, अब कुरा काट्नेहरुले पनि काम काट्नेहरुले पनि काम काट्ने बानी बसाउनुप¥यो ।”

काठमाडौंको प्रवेशद्वार त्रिभुवन राजपथको बलम्बूबाट धादिङको सिस्ने खोलामा निस्कने सुरुङ मार्गको लम्बाइ २ दशमलव ६६ किलोमिटर छ ।

जापान सरकारको करिब १६ अर्ब र नेपल सरकारको ६ अर्ब रुपैंया गरी कुल २२ अर्ब रुपैंयामा निर्माण हुन लागेको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार