तेस्रो सिरिजंगा खुल्ला नकआउट फुटबल प्रतियोगिता सुरु

  गोविन्द लामिछाने
0 Shares

फाकफोकथुम : इलामको फाकफोकथुम गाउँपालिकास्थित सिंहदेवी माध्यमिक विद्यालयको खेलमैदानमा शनिबारदेखि सुरु भएको तेस्रो सिरिजंगा खुल्ला नकआउट फुटबल प्रतियोगितामा तुम्याहाङ युवा समूह फाल्गुनन्द पाँचथर विजयी भएको छ ।

तुम्याहाङ युवा समूह र आयोजक सिरिजंगा युवा समूह बीच भएको उद्घाटन खेलमा तुम्याहाङले आयोजकलाई १ ले पछि पार्दै विजयी सुरुवात गरेको हो । निक्कै प्रतिस्पर्धामक खेलमा निर्धारित समयमा दुवै टीमबाट बराबरी भएपछि खेलको निर्णय टाइब्रेकरबाट लिइएको थियो ।

प्रतियोगिता अन्तरगत आइतबारको पहिलो खेल मुनालक्लब देनपा र पाथीभरा क्लब एकतप्पाबीच हुनेछ । दोस्रो खेल एथेलेक्टिस फाकफोकथुम ११ र माङसेवा युवा समूहबीच हुने तथा तेस्रो खेल गजुरमुखी ३ बी र ठिंगेपुर युवा समूहबीच हुने आयोजक समितिका सचिव सन्देश लिम्वूले जानकारी दिए ।

सिरिजंगा सांस्कृतिक परिवार फाकफोकथुम ३ को आयोजनामा शुभदिपावलीको अवसरमा आयोजित प्रतियोगितामा देउमाई नगरपालिका, माङसेबुङ गाउँपालिका, पाँचथरको फाल्गुनन्द गाउँपालिकालगायत विभिन्न गाउँपालिका तथा नगरपालिकाका ३६ टीमको सहभागिता रहेको छ ।

५२ हजार पुरस्कार राशीको खेलमा उपविजेताले २६ हजार नगद, मेडल र प्रमाणपत्र पाउनेछन् । खेलमा उत्कृष्ठ खेलाडी, सर्वाधिक गोलकर्ता र उत्कृष्ट गोलकिपरलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिने आयोजक समितिका सल्लाहकार हिमेस लिम्वूले जानकारी दिए ।

प्रतियोगिताको उद्घाटन गर्दै कार्यक्रमका प्रमुख अतिथि तथा फाकफोकथुम गाउँपालिकाकी उपाध्यक्ष सरस्वती राई (सरु) ले समाज रुपान्तरणका लागि खेलकूद क्षेत्रको विकास महत्वपूर्ण हुने विचार व्यक्त गरिन् । स्वस्थ समाज निर्माणका लागि केन्द्रदेखि स्थानीय तहसम्मले खेलकूद क्षेत्रमा बजेटको विशेष व्यवस्था गर्ने बताइन् ।

फाकफोकथुम गाउँपालिकाले पनि खेलकूद क्षेत्रमा यस पटक पर्याप्त बजेट छुट्याउनुका साथै अध्यक्ष र उपाध्यक्षकप फुटबल प्रतियोगिता आयोजना गर्ने बताइन् । उनले युवाहरुमा विकृतिको रुपमा बढ्दै गईरहेको क्यारामबोर्ड खेल्ने, तास खेल्ने प्रवृत्तिलाई निरुत्साहित गर्न गाउँपालिकाले विद्यालयको पाँच सय मिटर वरपर यस्ता खेल खेल्न प्रतिबन्ध लगाउने बताइन् । उनले आयोजकको कामको उच्च मुल्याङ्कन गर्दै १० हजार रुपैयाँ सहयोग दिने घोषणा गरिन् ।

प्रतियोगिताको उद्घाटन अवसरमा वडा नं. ३ का वडाध्यक्ष राजन पौडेल, यामप्रसाद अधिकारी, दिपेन्द्र लिम्वू, जयनारायण राईलगायतले शुभकामना राखेका थिए ।

कार्यक्रम आइन्द्र लिम्वूले सञ्चालन गरेका थिए । खेल हेर्न टाढा–टाढाबाट खेलप्रेमीहरुको उत्साहपूर्वक सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार