
माइजोगमाई : इलामको माइजोगमाई गाउँपालिका २ जोगमाईमा जारी दोश्रो संस्करणको लभ्ली फूटबल प्रतियोगितामा बिहीबार फ्रेण्डसिप फूटबल क्लब जोगमाई र युनाइटेड फूटबल क्लब आहाले विजयी भएका छन् ।
बिहीबार सम्पन्न पहिलो खेलमा फ्रेण्डसिप फूटबल क्लब जोगमाईले अन्तु स्पोर्टिङ्ग क्लब श्रीअन्तुलाई सडन डेथमा पराजित गरेको हो । निर्धारित र अतिरीक्त समय तथा टाइब्रेकरमा समेत खेल बराबरीमा सकिएपछि सडन डेथबाट विजेता निर्धारण गरिएको थियो ।
निर्धारित समयमा फ्रेण्डसिपका लागि राम गोले र निश्चल राईले गोल गरेका थिए भने युनाइटेडका लागि नरसिंह राई र लोकेन्द्र भूजेलले गोल गरेका थिए ।
दोश्रो खेलमा युनाइटेड फूटबल क्लब आहालेले न्यू स्टार सोयाङ्गलाई ३—२ गोल अन्तरले पराजित गर्दै अघिल्लो चरणका लागि यात्रा तय गरको छ । युनाइटेडको जितका लागि अनिस राईले २ र सञ्जिब राईले १ गोल गरेका थिए भने न्यू स्टारका लागि हिमाल राई र सर्जन राईले गोल गरेका थिए ।
प्रतियोगिता अन्तर्गत शुक्रबार पहिलो खेलमा जनता सेभेन फिक्कल र मानेडाँडा फूटबल क्लब गोर्खे तथा दोश्रो खृलमा बरबोटे स्पोर्टिङ्ग क्लब फिक्कल र लक्की सेभेन जोगमाई मैदान उत्रिने आयोजक समितिका उपाध्यक्ष तथा प्रचारप्रसार समितिका प्रमुख प्रदिप खड्काले जानकारी दिए ।
प्रतियोगिताको विजेताले नगद एक लाख र उपविजेताले ५० हजार सहित ट्रफि मेडल र प्रमाण पत्र प्राप्त गर्ने छन्। प्रतियोगितामा २४ टीमको सहभागिता रहेको छ ।
लभ्ली युवा क्लब जोगमाइको आयोजनामा शारदा आधारभूत विद्यालयको खेल मैदानमा जारी प्रतियोगिताको फाइनल खेल आगामी १६ कार्तिकमा सम्पन्न हुनेछ ।






















































