इलामका पत्रकार गौतमलाई अन्तर्राष्ट्रिय पुरस्कार

इलाम :  यस बर्षको अन्तर्राष्ट्रिय सीतादेवी अनलाइन पत्रकारिता पुरस्कार २०१९ पत्रकारद्धय युवराज गौतम नेपालबाट र श्याम लुईटेल यूकेबाट संयुक्त रुपमा पुरस्कृत गर्ने निर्णय गरिएको छ ।

प्रवासी नेपालीहरुसंग सम्बन्धित समस्या तथा मुद्दाहरुमा कलम चलाई रहेका पत्रकार लुईटेल वीनेपाल डट कमका सम्पादक मण्डलमा छन भने गौतम इमेजखवर डटकमको डेस्क इडिटर तथा संवाददाता हुन् ।

डेढ दशक अघि इलामको पावन भूमि साप्ताहिकबाट पत्रकारिता सुरु गरेका गौतम स्पेसटाइम दैनिक तथा च्यानल नेपाल टेलिभिजनको जिल्ला संवाददात हुँदै हाल काठमाडौंलाई कार्यथलो बनाएर पत्रकारिता गरिरहेका छन् ।

पत्रकारितामा स्नातक तथा राजनीतिशास्त्र र समाजशास्त्रमा स्नाकोत्तर गौतम हाल कान्तिपुर साप्ताहिक र नारी मासिक साथै राजधानी दैनिकमा स्वतन्त्र रुपमा कलम चलाउँछन् । उनले अर्थबजार डटकमको सम्पादक तथा फ्रेसन्यूज नेपाल डटकमको समाचार संयोजकका रुपमा भूमिका निर्वाह गरिसकेका छन् ।

दुई दशक लामो पत्रकारिताको अनुभव भएका पत्रकार लुईटेल रेडियो सगरमाथा, राजधानी दैनिक हुदै डायस्पोराको बेलायतमा संचालित न्यूज पोर्टल वीनेपाली डटकममा सकृय छन । समाजशास्त्रमा स्नाकोत्तर तह उत्तिर्ण गरेका लुईटेल नेपाल पत्रकार महासंघ बेलायत शाखाका बरिष्ठ उपाध्यक्ष हुन ।

नेपाल र विदेशमा एनआरएनएका बारेमा कमल चलाउने पत्रकारलाई प्रोत्साहित गर्ने उद्देश्यले स्थापित अन्तर्राष्ट्रिय सीतादेवी अनलाइन पत्रकारिता पुरस्कारका स्थापना गरिएको थियो ।

गैरआवासीय नेपाली संघका एक अभियन्ता चिरन्जीवि ढकालकी स्वर्गीय माता सीतादेवी ढकालको नाममा स्थापित गरिएको सो पुरस्कार प्रत्येक दुइ वर्षमा प्रदान गरिन्छ ।

पुरस्कारको राशी ५ सय अमेरिकी डलर सहित प्रमाण पत्र रहेको छ । यस बर्ष संयुक्त रुपमा वितरण गर्न लागिएको हो ।

यसअघि सो पुरस्कार युवा पत्रकार कृष्ण ढुंगानाले पाएका थिए । यो वर्ष एनआरएनएको नवौं विश्व सम्मेलनका अवसरमा काठमाडौँमा उक्त पुरस्कार प्रदान गरिने संस्थापक ढकालले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार