दसैँसग याक्थुङ जातिको के साइनो लाग्छ ?

  प्राज्ञ अमर तुम्याहाङ  67 पटक हेरिएको

प्राज्ञ अमर तुम्याहाङ

चाड भनेको के हो ?

चाडको कुरा आउनेवितिकै प्रायः सबैले आफ्नो बाल्यकालका घटनाहरू सम्झन्छन् । म आफू पनि अन्यजस्तै दसैँ भन्ने वितिकै गाईबस्तुलाई घाँस काटीवरि बुढौली वा सुब्बाको घरमा नगरा बजाउन जाने, बाटो खन्न जाने, नवमी या मारको दिन नगरा बोकेर वा नगरा बजाउँदै गाउँभरि मार काट्दै हिँड्ने ताँतीमा सामेल हुने, दसमी या टीकाको दिन टीका लगाइदिएर कसले कति पैसा देला भनेर आफूभन्दा ठूलाको घरमा टीका थाप्दै हिँड्ने पुराना यादहरू किताबका पानाहरू जस्तै एकपछि अर्को गर्दै पल्टिन्छन् । चाड, तत्कालिक समय, समाज आदि अनुसार यस्ता अनुभवहरूमा फरक हुन्छन् नै । यसरी चाड भन्नासाथ बालसुलभ निर्दोष बालमनोविज्ञानमा चाडको अवसरमा लाउन पाइने नयाँ लुगा, भातमासु वा मीठो मसिनु खान पाउनु, रमाइलो गर्नु आदि पर्न आउँछन् । यसर्थ पनि चाडपर्वलाई पूजाआजा, भोजभतेर, खेलतमासाबाट गरिने मनोरञ्जन वा धार्मिक कार्य वा उत्सवको रूपमा लिइन्छ । यसको मतलब मनोरञ्जन, रामरमिता बाहिर देखिने चाडको आकर्षक रूप हो भने भित्री वा आधारभूत पक्ष धार्मिक या राजनीतिक आधारशीला हुन्छ नै । यस प्रकारको भित्री पक्षसँग बालसुलभ मनहरू या भलोभला आत्माहरू अर्थात् जनसाधारणहरू अनभिज्ञ हुन्छन् या त शक्तिको
राप र तापका कारण निहुरमुन्टी भएर लुरुलुरु पछि लागिरहेका हुन्छन् । दसैँ र याक्थुङहरूको प्रसङ्ग पनि यसकै सेरोफेरो रहेको
थियो, विगतमा । अहिलेचाहिँ कतिपयका लागि दसैँ मान्नु आदत वा भुल्न नसकिने या स्वपालित बानीजस्तो भएको छ भने धेरैका लागि यो नोस्टालजियको एउटा विषय मात्र भएर रहेको छ ।

दसैँको मिथक

दसैँको उत्पति र परम्पराको प्रसङ्गमा पुनर्कथन गरिने मूलतः दुईवटा मिथकहरू बढी नै सुनिआइएका हुन्– रामले रावणलाई मारेको र दुर्गादेवीले शुम्भ र निशुम्भलाई वध गरेको । यी मिथकहरूमा वध
गर्ने समूह आर्य र वध गरिने पक्ष अनार्य भएको भन्ने तर्कको आधारमा २०४६ को जनआन्दोलनपछि मुलुकमा आर्य हिन्दूइतरका जातिहरू मूलतः आदिवासी जनजातिहरूले धेरैमात्रामा विरोध र बहिष्कार गरेको इतिहास पाइन्छ ।

राणाकाल र पञ्चायत कालमा दमित भएका विचार र विचारका बाहकहरूको विद्रोह जनआन्दोलनपछि ज्वालामुखीको रूपमा मुखरित भएको हो ।

जे होस् सुभाङ्गीको अन्त्यसँगै राज्यसत्ताले याक्थुङ लाजेमा सुब्बाहरुको रखबारी हुने गरी सुकाएको दसैँरुपी विस्कुन उठेको छ ।
नगराका तामा सुँगुरचारो पकाउने भाँडो र निसानहरु हलोका फाली बनेका छन् । २०४६ को जनआन्दोलनले ल्याएको चेतनाको विहानी घामले टालीटाली लाएको दसैँया जुम्रे लुगा फुकाएर थन्क्याउन बल प्रदान ग¥यो भने २०६२÷२०६३ को ऐतिहासिक जनआन्दोलनपछि उदाएको गणतान्त्रिक चैतन्ययुक्त भर्रभराउँदो भाष्करीय चेतले थन्क्याएको त्यो दसैँया लुगालाई रद्दीको टोकरीमा फाल्ने शक्ति प्रदान गरेको छ र पहिचानको खोजी र स्वत्वको बाटो हिँड्ने गोरेटो खनेको छ । विजातीय दसैँको मिथकीय धङ्धङी खलाँस भएको छ ।

याक्थुङ मुन्धुममा दसैँ उल्लेख छ ?

याक्थुङ जातिले आफ्नो जीवन दर्शनको मार्गदर्शक विचारको रूपमा मानिल्याएको मुन्धुममा विश्व ब्रमाण्डको उत्पत्तिदेखि मानव उत्पत्ति, चराचरको उत्पत्तिजस्ता शास्त्रीय विषयवस्तु मात्र होइन, समाज र सभ्याता विकासक्रमका विविध पक्षहरूको चर्चा पाइन्छ । मुन्धुममा उल्लेख हुने मानव र मानवजातिलाई दुःख दिने पात्रहरूको प्रसङ्गमा दसैँको मिथकमा आउने कथित दानव पात्रहरूको कहीँ पनि चर्चा आउँदैन न त दुर्गा देवी, राम जस्ता भगवान्हरू कै चर्चा मुन्धुममा आउँछ । यसबाट स्पष्ट हुन्छ कि दसैँ याक्थुङ जातिसँग सम्बन्धित होइन, याक्थुङ सभ्याताको उपज परोइन, यायावर हो ।

दसैँ कहबाट याक्थुङ चुलोमा पुग्यो ?

केही अपवादलाई छोडेर राजनैतिक हिसाबले हेर्ने हो भने वि.सं. १८३१ मा पृथ्वीनारायण शाहसँग संपृति या समरीति समूहमा पर्ने दस लिम्बु सरदारहरूले जब सन्धि गरे त्यही मितिदेखि याक्थुङ लाजे अर्थात् लिम्बुवानमा दसैँले औपचारिक प्रवेश पायो । यसपछि शाह राजाहरूको प्रत्यक्ष शासन र राणा शासनकालमा सुब्बा, बुढौली, कारबारी आदि भएर स्थानीय स्तरमा केन्द्र सरकारको पाखुरे भई काम गर्नेहरूले राज्य चाड रूप लिएको हिन्दूहरूको दसैँलाई याक्थुङहरूको घरमा पुर¥याउने काम गरे । सत्ता र शक्तिको भरमा दसैँ याक्थुङ घरमा पस्यो ।

तिल्लिङ्गा पठाएर याक्थुङहरूले दसैँ माने नमानेको अनुगमन गर्ने भएकाले सत्ताको मनोवैज्ञानिक त्रास मात्र होइन, दसैँ मानेको निसानी स्वरूप हात र खुट्टाको छाप घरको मूल ढोका छेउमा लगाउनै पर्ने नियती पनि उनीहरूले भोगेकै कुरा बूढापाकाहरूको सम्झना जिउँदै छँदैछ ।

पछिल्लो समयमा लिम्बूहरू गोर्खा भर्तीमा जान थालेपछि पल्टनघरमा राखिएका बाहुनबाजेहरू मार्फत दसैँ याक्थुङ लाहुरेहरूको खाकी लुगाको फेरो समाएर याक्थुङ घरभित्र खुरुन्दार गरेर चुलोमा नै पुग्यो, अझ धेरै ढुक्कका साथ धनदौलतको रबाफसँग मिसिएर । विवाहपछि टीका लगाउने संस्कृतिलाई अठ्याएर याक्थुङहरूको जीवनको अभिन्न अङ्ग बन्ने प्रयास ग¥यो । यसकै निरन्तरताको डोरो समाएर याक्थुङ चेली माइतीले फूल लगाउनु नहुने मुन्धुमी आस्थालाई लात मार्दै हिन्दूहरूको भाइटीकामा फूलमाला लगाइदिने सम्मको हर्कत सारै सहजरूपमा हुँदै आएको छ ।

दसैप्रति गैह्रदसैँवाला वा याक्थुङहरूको अभिमत के ?

संसारका जुनसुकै जाति वा समुदाय आआफ्नो चाडपर्वप्रति गर्व गर्दछन् र त्यसैमा रमाउने गर्दछन् । यस प्रकारको चाडपर्वले बालबालिका र नयाँ पुस्तालाई मनोरञ्जन र उत्सवउत्साह दिन्छ भने पाको पुस्ता आफ्नो सजातीय सभ्यतामा विकसित भएको मूल्य, मान्यता, संस्कार, संस्कृति र जीवन दर्शन हस्तान्तरण गर्न र जीवनमा पुनर्ताजगी ल्याउन लागिपर्दछन् । यही मान्यता याक्थुङ जातिमा पनि लागू हुनुपर्छ अर्थात् आफ्नो सजातीय चाडपर्वहरू जो विगतका सत्ताका कारण ओझेलमा परेकै किन नहुन्, तिनलाई पालन वा पुनर्पालन गर्नुपर्छ । मूलतः हिन्दूहरूको चाड दसैँ वा अन्य चाडको विरोध वा समर्थन गर्नुको कुनै तुक छैन, नेपालको अन्तरिम संविधान २०६३ ले “राज्यले नागरिकहरूका बीच धर्म, वर्ण, जात, जाति, लिङ्ग, उत्पत्ति, भाषा वा वैचारिक आस्था वा ती मध्ये कुनै कुराको आधारमा भेदभाव” नगर्ने समानताको हकको प्रत्याभूति गरेपछि । मुलुक धर्म निरपेक्ष भएपछि सबैले सबै जातजाति वा सम्प्रदायले मान्ने चाडपर्वको सम्मान गर्नुपर्छ । यसको मतलब कसैको कुनै चाड पर्वको विरोध वा समर्थन होइन समानताको आधारमा सम्मान र सद्भाव राखिनुपर्छ ।

सरकारी रबैया

विगतमा एक भाषा, एक भेष, एक धर्मको नीति लागू गर्न शासकहरूले दसैँलाई सबै जाति, धार्मिक सम्प्रदायमा राज्यशक्तिको दुरूपयोग गरी लाद्ने काम गरे । यसले गर्दा तत्तत् जातिको जातीय अस्तित्व नामेट हुनुका साथै उनीहरूले मान्ने विभिन्न चाडपर्वहरू प्रायः लोप नै हुन पुगे । यस प्रकारको दमनको जाँतोमा याक्थुङ समुदाय पनि नराम्ररी पिसिएकै हो । यस प्रकारको दमनबाट उन्मुक्ति पाउनका लागि धेरै याक्थुङ सपुतहरूले बलिदानीपूर्ण आन्दोलन र त्याग गरेका छन् ।

मुलुक गणतान्त्रिक युगमा प्रवेश गरी धर्म निरपेक्षता संविधानमा सुनिश्चित भए पनि व्यवहारमा त्यो उजागर सकेको छैन । नेपाली मिडियाले कहिलै गैह्रहिन्दू चाडपर्वलाई प्राथमिकतामा राखेको छैन भने हिन्दूहरूको चाडपर्व शनैः शनैः हाइहाइमा परिआएको सबैको सामु छँदैछ । अहिले पनि राज्यले सबैभन्दा लामो समयसम्म दसैँमा विदा दिने गर्दछ भने वर्षभरिमा चाडपर्व मान्ने पेश्की पैसा दसैँमा नै दिने गरेको छ । यसले के स्पष्ट हुन्छ भने परोक्षरूपमा हिन्दू चाडले हिजो जस्तै राज्यको काखको न्यानो राम्ररी नै पाइरहेको छ । संविधानको मर्म र सबै समुदायको आदर्श सपना भनेको यस मुलुकमा रहेका सबै जातिले मान्ने चाडपर्वले समान सम्मान र आदर पाउनु हो । यो अवस्था सिर्जना भएको अवस्थामा मुलुक साँच्चै नै धर्म निरपेक्ष भएको अवस्था हुने छ ।

टुङ्गाउनी

दसैँसँग याक्थुङ्हरूको रगत वा हाडनाताको साइनो सम्बन्ध लाग्दैन । याक्थुङहरूले दसैँ मान्ने प्रसङ्गलाई एकजना सामन्तले भलाद्मी तर दमित व्यक्तिसँग गाँसेको मितेरी साइनो वा बोलचालको साइनोसम्मको रूपमा लिन सकिन्छ । याक्थुङहरू नेपाल मुलुकका एक जाति–राष्ट्र हुनुको नाताले उनीहरू आफ्नो सभ्याता, संस्कृति, चाडपर्वप्रति गौरव गर्दछन् । विगतमा राज्यको जाँतोमुनि जतिसुकै पिसिएको भए पनि उनीहरू मुलुकको अन्तरिम संविधानले प्रत्याभूत गरेको समानताको हकको आधारमा सबै जातजाति र तिनले मान्ने चाडपर्वप्रति समान सम्मान र सद्भाव राख्दछन् र सोही अपेक्षा पनि गर्दछन् ।

दसैँप्रति हुरुक्क हुनु अर्काको पोइसँग सती जानु या जोइसँग पति जानु जस्तै हो भने त्यसको अन्ध विरोध अनावश्यक इखको काउसो लाएर गरिने छोइछिटे प्रतिक्रियात्मक प्रवृतिको द्योतक हो । आफ्नो सभ्याता र जीवन दर्शनबाट उदात्त उद्भव भएका चाडहरू निर्धक्कसाथ मान्नु र अरुको चाडप्रति सद्भाव राख्नु अपेक्षित व्यवहार हो जसमा सर्वजन हित निहित छ ।

तान्छोप्पा मासिक असोज अंक (वर्ष २४ अंक ९)२०७६ (२०६९ कार्तिक अंकबाट पुनः प्रकाशन गरिएको)

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार