परदेशकाे दशैँ : घरदेशकाे दशैँ

परदेशमा सम्झनाको लागि मात्रै दशैँ हुन्छ, यहाँ दशैँ नहुुँदा पनि दशैँ भएजस्तो हुन्छ’

  सुजाता सुनुवार  43 पटक हेरिएको

 

इलाम : दशैँकै टीका थियो तर हात आमाबाबुको थिएन । आर्शिवाद सधैँ ठूलोबाटै लिइनुुपर्छ तर, न त आफन्त न त सम्बन्धले ठूला । टीका थाप्ने पहाडी समुदायका राई र आर्शिवादसँगै जमरा लगाइदिने तराई मूलका सिंह । उमेरले ठूला भएकाले दशैको टीका लगाइदिने सिह, टीका थाप्ने राई । यसैगरी परदेशी भूमिमा दशैँ मनाए सन्यास राईले । तर उनले आमाबाबुको आर्शिवाद भने फोनबाटै लिए ।

नाताबिनाको दाजुबाट टीका थापे पनि फोनबाट आर्शिवाद लिँदा दुःखको आँसु बग्थ्यो इलाम माइजोगमाई गाउँपालिका–२, जोगमाईका राईको । दशैँ उस्तैगरी तीन वर्षसम्म बित्यो उनको ।

तर, यो वर्ष विदेशबाट फर्किएपछि आमाबाबुको हातबाट टीका थापेर उल्लासमय दशैँ मनाउँदै छन उनी । टीका थाप्नु बाँकी नै छ तर उमंग फरक लाग्दैछ उनी आफैलाई ।

 

‘घर र परदेशमा हुँदा दशैँ फरक हुन्छ’, परदेशको दशैँ सम्झँदै उनी भन्छन,‘परदेशमा सम्झनाको लागि मात्रै दशैँ हुन्छ, यहाँ दशैँ नहुुँदा पनि दशैँ भएजस्तो हुन्छ ।’

विदेशमा हुँदा ड्युटी सकेर चाड विशेष भेटमा साउदी, अरबी, बहराइन, बंगलादेश लगायतका आठ देशका नागरिकलाई आफ्नो देशको परम्परा रीतिरिवाज तथा सस्कार र संस्कृतिका बारेमा जानेसम्मको कुरा साट्ने मौका पाए उनले । ‘अर्को वर्ष मैले पनि टीका लगाएदिएँ, परदेशमा आफूभन्दा सानालाई टीका लगाइदिँदा परिपक्व भएजस्तो हुँदोरहेछ ’, उनले अनुभव सुनाए ।

दशैँ मात्रै होइन तिहार पनि उस्तैगरी बित्थ्यो ।  तर साथीभाइसँग रमाइलो भने मज्जाले गर्दथे  । ‘नेपालमा कहिल्यै नपोलेको सेल विदेशमा गएर पोलियो’,उनी भन्छन,‘सेल पकाउन अहिले पो रहर लाग्न थालेको छ ।’

होमबहादुरकाे कथा पनि उस्तै

इलामकै सन्दकपुर गाउँपालिका– २, माइमझुवाका होमबहादुर सुनुवारले अघिल्लो सालमा मलेसियामा नै सामुहिक रुपमा तिहार मनाए । काम सकेपछि विभिन्न देशका सात सय जना कामदारबाट दश रिंगिट उठाएर सामूहिक तिहार मनाए, सँगै यहाँजस्तै देउसी भैलो खेलेर रमाए ।

 

परिवारलाई खुशी राख्ने सपना बोकेर विदेशिएका उनको ५ वर्ष उसैगरी बितेको थियो । ‘नेपालका हरेक चाडबाडको औधि याद आउँथ्यो, फोनमा चाडबाडमा आउने पाहुना रत्याउने सल्लाह हुन्थ्यो’, उनी सम्झन्छन, ‘चाडबाडका बेला आफू विदेशमा भए पनि घरमा आएका पाहुनाको साह्रै याद आउने रहेछ ।’

५ वर्षको मलेसिया बसाइमा तेल भण्डारण गर्ने, पेट्रोल पम्पमा पाइप लाइनको स्थान निश्चित गर्ने, बाटोको दूरी पत्ता लगाउने र पोल गाड्ने ठाउँ पहिचान गर्नुपर्ने । ५ वर्षअघि विदेशमा पुगेका उनकाे यी काम गरेर महिनाको २८ हजार रुपैयाँ कमाइ हुन्थ्यो ।

ठाउँ परिवर्तन गरेर उनले महिनाकाे ५९ हजार रुपैयाँसम्म कमाइ गरे, ओभरटाइम ड्युटीसम्म हिसाब गरेर । कमाइ राम्रो भएपनि पारिवारिक मिलनबाट टाढा रहँदा मन कम्ति पिरोल्दैनथ्याे उनकाे । ‘दशैँ तिहार मात्र कहाँ हो र, उधौली उभौलीको पनि खुबै सम्झना आउने नी’, उनी सुनाउछन ।

उनकी श्रीमती विमकला राई सुनुवारलाई पनि श्रीमान् गएको वर्ष निकै पीडा भयो । ‘घरको मूली भएजस्तो हुन्न रै’छ, चाडबाडमा यादले औधि सताउँदो रहेछ ’, विमकलाले अनुभव सुनाए, ‘पाँच वर्षपछि सँगै दशै मनाउन पाएकोमा कम्ती खुशी लागेको छैन ।’

अहिलेसम्मको घरव्यहारको जिम्मेवारी जिम्मा लगाउन पाएकोमा उनी अझ खुशी देखिन्छन ।

विदेशको दुःख, दशैँको खुशी 

सन्यासलाई घर छोडेर विमानस्थलमा पुग्दा गहभरी आसुँ रसायो, बिदाइका लागि उभिनेहरु देख्दा मन कुटुक्क खायो । अमिलो मन पारेर विदेशिए पनि मनग्य कमाइ होला भन्ने लागेको थियो । तर, कमाई सोचे जस्तो थिएन, दुःख भने धेरै । यति मेहनत गरे त स्वदेशमै केही भइहाल्ला नि भन्ने आँट र साेचले उनी नेपाल आए ।

 

उस्तै पीडा भोगेका थिए होमले पनि । ‘मलेसियामा ३६ घण्टा बस्दा एक रिंगिटमा पाइने पानीलाई १० रिंगिट तिरेर खानु पर्‍यो’, उनले भने,‘३६ घण्टासम्म कम्पनीको सम्पर्कबिना बस्नु पर्दा असह्य पीडा भयो नि !’

नेपाल हुँदा सम्झिएको मलेसिया र पुगेपछि भोगेको मलेसियामा आकाश-पातालको फरक हुने उनको अनुभव छ । ‘भाषा नजान्नु नै खास समस्या रहेछ, यहाको सीपले पनि काम नदिँदो रहेछ ।’

स्वदेशकै सीप, स्वदेशकै रोजगार

२०७५ सालको चैतमा नेपाल आएका सन्यासले आफ्नै गाउँमा खाद्य सामग्रीको पसल सञ्चालन गरेका छन । गाउँमै चलाएको पसलले चार जनाको परिवारलाई धानिरहेको छ ।

विदेशमा हुँदाजस्तो धौ धौ छैन । होमले पनि तरकारीको व्यापार थाल्नु भएको छ । नेपाल आउँदै गर्दा पाउरोटी उद्योग खोल्छु भन्ने लागे पनि अहिलेकै व्यपार राम्रो हुँदै गरेकाले यसैमा रत्तिदै हुन्छन हाेम ।

‘श्रीमती विमकलाको पनि सक्दो सहयोग छ, दशैलाई मात्र १ घण्टा समय दिएर व्यापारै गर्ने हो’, उनले सुनाए,‘पाँच वर्ष विदेश बस्दाकाे अपूरो सपना नेपालमै व्यापारबाट पूरा गर्छु भन्ने अठोट छ ।’

उज्यालोबाट साभार 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार