दुधबाट बनेका परिकारको बिक्री बढेकाले इलामका दुग्ध चिस्यान केन्द्रमा दूध संकलनमा कमी

इलाम : दूधमा आत्मनिर्भर भनिएको इलाममा पछिल्लो समय दूध संकलनमा कमी आएको छ ।

दुग्ध चिस्यान केन्द्रले दैनिक ३५ हजार हजार पाँच सय लिटरसम्म दूध संकलन गर्ने गरेकोमा अहिले दैनिक २० हजार लिटर मात्र संकलन गरिरहेको छ । पहिलेभन्दा अहिले दूध संकलनमा १५ हजार लिटरले कमी आएको हो ।

चाडपर्वको समयमा दूधबाट बनेका परिकार कोसेलीका रुपमा धेरैले किन्न थालेपछि दूध संकलनमा कमी आएको दुग्ध विकास संस्थान (डीडीसी) इलामले जनाएको छ । दूध संकलनमा कमी आएपछि अहिले इलामका आठ ओटा दुग्ध चिस्यान केन्द्रबाट दैनिक २० हजार लिटर दूध मात्र बाहिरी जिल्ला जाने गरेको छ ।

इलाम पर्यटकीय जिल्ला भएकाले दूधबाट बन्ने परिकार धेरै बिक्री हुने गर्दछ, जसका कारण जिल्लाका विभिन्न स्थानमा दूधबाट बन्ने मिठाइका परिकार बनाउने उद्योगहरु सञ्चालित छन् । यस्ता उद्योगहरुमा ललिपप, पनिर, कुराउनी, चीज, घ्यू, छुर्पीजस्ता विभिन्न परिकारका मिठाइ बनाउन दूधको खपत बढ्दै गएकाले दूध संकलनमा कमी आएको हो ।

डीडीसी इलामले इलामको कुटिडाँडा, तिनघरे, फिक्कल, लक्ष्मीपुर, बिब्ल्याँटे, शान्तिडाँडा, पुवाखोला र देउराली चिस्यान केन्द्रमार्फत दूध संकलन गर्ने गर्छ ।

संकलन गरिएको दूध विराटनगर लैजाने गरेको दुग्ध चिस्यान केन्द्र बिब्ल्याँटे इलामका देवनारायण महतोले बताउनुभयो । उहाँका अनुसार विराटनगर पुग्ने दूधमध्ये१० हजार लिटर दूध स्थानीय बजारमा खपत हुने गरेको छ भने बाँकी दूध पाउडर बनाउन प्रयोग गरिन्छ ।

इलाममा वार्षिक एक लाख १६ हजार ८६ मेट्रिक टन दूध उत्पादन हुने गरेको छ । इलामका ग्रामीण भेगमा उत्पादन भएका दूधमध्ये डीडीसी इलाममा मात्र वार्षिक ३० करोड ६६ लाख रुपैयाँ बराबरको दूध बिक्री हुने गरेको सरकारी विवरणमा उल्लेख छ ।

इलाममा एक सय २५ ओटा गाई फार्म र सहकारीमा आबद्ध किसानहरुले दूध उत्पादन गर्दै आइरहेका छन् ।  उज्यालोबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार