इलाम : दसैंको दिन नजिकिँदै गर्दा जिल्लाका बजार सुनसान बन्दै गएका छन् । बजार आउने किनमेल गर्नेको भीड पनि पातलिँदै गएको छ । विशेष गरी घटस्थापनादेखि सुरु भएर पःलपाती सम्ममा बजारको भीडभाड कम हुँदै गएको हो ।
दसैंको किनमेल त्यसअघि नै सकेकाहरू घटस्थापनाको दिन गाउँ गाउँ पुगिसकेका थिए । मूल घरमा जमरा राख्ने तथा लिपपोत गर्नका लागि पनि अधिकांश बजारमा बस्नेहरू गाउँमा रहेका घरमा फर्कने गरेका छन् ।दसैंको दिन नजिकिँदै जाँदा बजार सुनसान हुने र गाउँमा चहल पहल बढ्ने भएकाले बजारमा बस्नै मन नलाग्ने सर्वसाधारणको भनाई छ ।
जिल्ला भित्रका विभिन्न बजारमा अध्ययन र पेसा, व्यवसाय गरेर बस्ने तथा जिल्ला बाहिर रहेकाहरू पनि गाउँ पुगेपछि गाउँमा चहलपहल बढेको छ । ‘दिनदिनै बजार सुनसान हुँदै गएको छ, किनमेल गर्न आउनेको संख्या पनि घट्दै गएको छ, सदरमुकाम इलाम बजारका एक व्यापारी भने, ‘किनमेल गर्नेहरू पनि पहिल्यै काम सकेर गाउँ लागिसकेका छन् ।’















































