गीत–संगीतमा रम्नेहरूको दसैं

दसैं लाग्नासाथ सबैतिर मालश्री धून गुन्जन्छ। तिहारका बेला देउसी रे र भैलोका गीतले वातावरण मनोरम बनाइदिन्छन्, अविस्मरणीय बनाइदिन्छन्। हरेक चाडपर्वसँग सम्बन्धित गीत–संगीतले परम्परा र संस्कृतिप्रतिको आत्मीयता जगाउँछन्, भावनात्मक रुपमा जोडिने बनाउँछन्। यसका लागि कलाकर्मीहरु कुनै न कुनै रुपमा जोडिएका हुन्छन्।

यिनै गीत संगीतको माध्यमबाट चार्ड पर्वलाई संगीतमय बनाउने स्रष्टा र सर्जकहरू यस वर्षको दसैं कसरी मनाउँदै छन्? दसैंसँग जोडिएका अनुभूति÷किस्सा के–के छन्? यिनै जिज्ञासाका जवाफ यहाँ प्रस्तुत गरिएको छ।

यम बराल, गायक

दसैं भन्नेबित्तिकै वर्षमा एकपटक भेट गर्ने अवसरजस्तो लाग्छ। आफन्तबीचको सामिप्यता, अग्रज बुबा आमा दाइ दिदीहरू जस्तै परिवारका शीर्ष व्यक्तित्वबाट आशिर्वाद लिन पाइने रामाइलो पल नै दसैं हो।

यो वर्ष हाम्रो परिवार सबै काठमाडौंमै छौं। मेरो मुमा, बुबा स्वर्गे भइसक्नु भयो। ठूलो मुमा काठमाडौंमै हुनुहुन्छ। त्यही भएर काठमाडौंमै रहेर टीका ग्रहण गर्ने कार्यक्रम छ।

अब, सांगीतिक माहोलको कुरा गर्दा, दसैं विशेष नै त छैन। किनभने केही दिनअघि कोरियाको कार्यक्रम सकेर नेपाल फर्किएको हुँ। अब, दसैंलगत्तै इटहरीमा कार्यक्रम छ। अमेरिका, बेलायत र मलेसियाको पनि कार्यक्रम तय भएका छन्। हुन त दसैं अथवा चाडपर्वहरू कलाकारको उपार्जनको समय पनि हो। किनकि विदेशमा रहनुहुने नेपाली दाजुभाइ, दिदीबहिनीहरू कलाकारसँगै चाडपर्व मनाउनु चाहनुहुन्छ। तर, यो वर्ष दसैंमा म चाहिँ स्वदेशमै हुन्छु।

बद्रि पंगेनी, गायक

दसैं भन्नासाथ गाउँघर, बाटो, गल्ली, पानी, पँधेरो सफा गर्ने, घरमा कमेरो माटोले पोत्नेजस्ता विषय मेरो मानसपटलमा घुमिरहन्छन्। बाल्यकाल, मिठो मसिनो खाने, नयाँ कपडा लाउने, पाउनेजस्ता विषयले बाल्यकालको दसैंं आजसम्म पनि स्मरणयोग्य छ।
अहिले त जिम्मेवारी बढेको छ। अरु कामले पनि दसैंसँगको सामिप्यतामा असर गरिरहेकै हुन्छ। लाग्छ अहिले पहिलेको जस्तो दसैं नै आँउदैन।

परम्परागत र साँंस्कृतिक मान्यता बोकेको यो पर्व हिन्दुहरूको मात्र भने होइन। सबै नेपालीको चाड हो। नेपालीहरूमा भाइचारा बढाउने यो महत्वपूण छ जस्तो लाग्छ।

अब, मेरो यस वर्षको दसैं योजना सुनाउँदा, सांगीतिक कार्यक्रमहरू तय भएका छन्। दसैंकै समयमा धादिङ, गोरखा, गुल्मी र बारामा सांगीतिक कार्यक्रम तय भएका छन्। यी कार्यक्रम सकेर टीकाकै दिन मेरो गाउँ पाल्पाको रामपुर जानेछु। बुबाको हातबाट टिका ग्रहणसँगै भेटघाट रमाईलोमा यो दसैं सकिने छ।

रमना श्रेष्ठ, गायिका

नौरथाको वातावरणीय प्रभाव, शरद ऋतुको मौसम अनि, मानिसहरूमा देखिने हर्र्षोल्लास। यहीे नै दसैंको आभास दिलाउने सशक्त माध्यम हुन्। जब वर्षायामको हिलो, पानी हटेर मौसममा नयाँपन आउँछ यसले नै मलाई दसैं शुभारम्भ भएको अनुभूत गराउँछ।

अझ सानो छँदा दसैंको टीका लगाउने दिनलाई राम्रो लगाउने, मिठो खाने दिनका रूपमा लिइन्थ्यो। जसले सबै दुःख बिर्साएर वर्ष दिनमा मानिसको मन मस्तिष्कमा खुसी र उमंग ल्याउँछ। यो आफैंमा दसैंको सुन्दर पक्ष हो।

अनि, दसैंको बलि प्रथाले भने मन कटक्क खान्छ। देखासिकी खर्च गर्ने परम्पराले पनि मन चस्काईरहेको हुन्छ।

यो वर्ष हामी पारिवारिक जमघटमै रहेर दसैं मनाउने योजनामा छौं। काठमाडौंमा हाम्रो परिवारिक भेटघाट अनि धरानमा माइती गएर आमाको हातबाट टिका लगाउने, रमाईंलो गर्ने योजना छन्।

कलाकारलाई चाडपर्वमा भ्याइनभ्याइ हुनु स्वाभाविक हो। तर, मेरो मामलामा यस विषयले कम छुने गरेको छ। किनकि नेपाली संगीत बजारमा हाम्रो चर्चाको समय धेरै कार्यक्रम हुँदैन थिए। आजकाल म बौद्ध भजनमा बढी ब्यस्त छु। त्यसैले अरु बेला कता–कता विदेशको यात्रा भए पनि दसैंमा भने कुनै योजना छैन।

उमेश पाण्डे, गायक

बाल्यकालमा जुन प्रकारको उमंग, उत्साह हुन्थ्यो त्यस्तो खालको दसैं अहिले आउँदैन। जति परिपक्व हुँदै गयो उति नै जिम्मेवारीपन बढ्दै जाने रहेछ। लाग्छ दसैंको रौनक उस्तै नै छ तर, हामी परिवर्तन भयौं, उमेर परिवर्तन भयो।

अब, दसैं भन्नेबित्तिकै पारिवारिक जमघट, खुसियाली, चंगा उडाउने, पिङ खेल्नेलगायतका माहोलले शरीरमा नयाँ रक्तसञ्चार गराउथ्यो। त्यो माहोल नभएको होइन। तर आज हाम्रो जिम्मेवारी र उमेर परिवर्तन भयो, त्यसैले दसैं मनाउनेभन्दा पनि परिवारका लागि मनाइदिनेमा पुगियोभन्दा फरक नपर्ला।

अब, दसैं योजनाको कुरा गर्दा, मेरो घर काठमाडौं ज्ञानेश्वर हो। यही घरमै परिवारसँग दसै मनाउने हो। छोरो विदेशमा भएकाले अलि खल्लो हन्छ। अरु त सबै सधैं जस्तै हो।

दसैं अलिकति लामो बिदा हुने समय। सबै परिवारका सदस्य फुर्सद हुने समय पनि हो। त्यसैले यो समयमा विदेश जाने वा अरु कतै जाने जाँगर नै चल्दैन। मजाले घरमै बस्ने हो। रमाईलो गर्ने हो, दसैं मनाउने हो। अनि, मेरो उमेर बढे पनि चंगा उडाउने रहर भने सकिएको छैन। शंका छ, चंगा उडाउन मौसमले साथ दिन्छ दिदैन।

मिना निरौला, गायिका

पलेटीको सांगीतिक कर्मबाट केहीदिन अघिमात्र फुर्सद मिल्यो। यतिबेला जताततै बज्ने मालश्री धून, वातावरणीय प्रभाव सबै कुराले दसैंलाई बोलाईरहेको भान हुँदै छ। मलाई बच्चैदेखि यिनै कुराहरूले दसैंको आभास दिलाइरहन्छन्।

सानो छँदा नयाँ कपडा लगाउन पाउँदाको उत्साह, त्यही कपडामा चिनेका नचिनेका छरछिमेककहाँ टिका, जमरा र दक्षिणा थाप्दै नयाँ कपडाको खल्तिमा हालेको याद अविस्मरणीय छन्।

यस वर्षको दसैं योजनाको कुरा गर्दा, आमा, सासु आमा काठमाडौंमै हुनुहुन्छ। उहाँहरूको हातबाट टिका ग्रहण, भेटघाट भलाकुसारी गर्ने, यस्तै योजनामा छु। किनकि बल्लबल्ल आएको चाडमा आफन्त र मान्यजनसँग भेटघाट अनि आशीर्वाद लिन/दिन पाउनुको आनन्द नै छुट्टै हुन्छ। दसैंको सांस्कृतिक महत्व पनि यही भेटघाट चिनजान र माया सद्भाव अनि अपनत्व साटासाट गर्नु नै हो जस्तो लाग्छ।

अब, कलाकारको हैसियतले कार्यक्रमकै कुरा गर्दा यस वर्ष टीका लगाएर टीकाकै दिन मैले जनकपुर सांगीतिक कार्यक्रममा सहभागी हुनु पर्ने छ। सँगै झापाको गौरादह, इलाम, इटहरीमा पनि सांगीतिक कार्यक्रम तय भएका छन्।

हरि लम्साल, संगीतकार

नयाँ लुगा लगाउने, मिठो मसिनो खाने अनि गाउँमा चहलपहल, आवतजावत बढ्दै जाने, पिंङ खेल्नेजस्ता कुराहरू दसैंसँग जोडिएका छन्। अझ टिका लगाएर आशीर्वादभन्दा बढी दक्षिणामा ध्यान दिएका पलहरू दसैं विशेष लाग्छन्। किनकि गाउँघरमा पहिले–पहिले छोरालाई आशीर्वाद अनि छोरीलाई दक्षिणा दिने चलन थियो। त्यसैले झनै साथी–साथीमा कसले धेरै दक्षिणा बनाउने भन्ने प्रतिस्पर्धा नै हुन्थ्यो।

यस वर्ष गीत–संगीतबाट टाढा रहेर गाउँमा दसैं मनाउने हो। हाम्रो गाउँ नवलपरासीको कावासोती हो। त्यहीँ गएर ८० वर्षकी आमासँग टीका र आशीर्वाद लिइन्छ। गाउँमा अन्य दाइ, दिदीहरू हुनुहुन्छ। उहाहरूसँग टीका आशीर्वाद, भेटघाटमा यो दसैं बित्ने छ। घर, अफिस, स्टुडियोजस्ता पेशागत कुराले धेरै ‘ह्याङ’ महसुस भएको छ। गाउँ गएर शान्त वातावरणमा खेल्ने हो, रमाउने हो।

मञ्जु पौडेल, गायिका

शरद ऋतुसँगै आउने मौसम नै मेरा लागि दसैंको उमंग ल्याउने माध्यम हो। खेतमा लहलह झुलेका धानका बाला, अनि बारीमा फूल खेल्दै गरेको कोदो, यस्तै कुराहरू मानसपटलमा खेल्न थाल्छन्।

रातो टीका, जमरा, नयाँ लुगा यस्तै–यस्तै कुराले पनि दसैंको झल्को दिन्छ। खासमा भन्दा यतिबेला दसैं मनाउनेभन्दा पनि बालापनका रंगीन दसैंको स्मरणमा रमाउन मज्जा आउँछ। त्यो बालापन साँच्चै दसैं ‘फ्रेन्ड्ली’ थियो।

मलाई, दसैंमा आफन्त र परिवारसँगको भेट र आशीर्वादले भन्दा धेरै गाउँ जाने, वर्षौदेखि छुटेका साथीसंगीसँग भेट गर्ने। पुराना याद सम्झँदै रमाउने यस्ता विषयले बढी छुन्छ।

दसैंमा घर गुल्मी जान्छु। गाउँको रमाईलो वातावरण, पूराना साथी–संगीहरूसँगको भलाकुसारी नै यस वर्षको दसै विशेष योजना हुन्। योसँगै बुटवल र गुल्मीमा दुई वटा सांगीतिक कार्यक्रम तय भएका छन्। त्यता पनि व्यस्त हुन्छु होला। केही दिन अघि सिक्किमको सांगीतिक कार्यक्रमका लागि अफर भएको थियो। तर, वर्षदिनमा आउने यो दसैं गाउँघरमै मनाउने रहरले विदेश यात्रा छोडियो।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार