‘खुला दिसामुक्त बाई बाई, पूर्ण सरसफाइ हाई हाई’

काठमाडौं : सोमबार नेपाललाई खुला दिसामुक्त राष्ट्र घोषणा कार्यक्रमको अन्त्यतिर मञ्चको अगाडि एक हुल बिद्यार्थी देखिए । उनीहरुले नारा लगाए, ‘खुला दिसामुक्त बाई बाई, पूर्ण सरसफाइ हाई हाई ।’

अर्थात, नेपाल खुला दिसामुक्त भएको र अब पूर्ण सरसफाइतिर अग्रसर हुनुपर्छ भन्ने सन्देश दिन खोजिएको थियो । कार्यक्रममा अधिकांश वक्ताहरुले नेपाललाई खुला दिसामुक्त बनाउन विद्यार्थी, नागरिक समाज, सञ्चार क्षेत्रको ठूलो भूमिका रहेको चर्चा गरेका थिए ।

विश्वकै पहिलो खुला दिसामुक्त देश !

खानेपानी मन्त्रालयका सचिव माधव बेलबासे ‘सम्भवत विश्वमै पहिलो पटक नेपाल खुला दिसामुक्त राष्ट्र घोषित’ भएको बताउँछन् । तर, खानेपानी मन्त्रालयले नै तयार पारेको र सार्वजनिक गरेको तथ्यहरुमा ‘नेपाल दक्षिण एसियाकै पहिलो खुला मुक्त राष्ट्र’ भनेर लेखिएको छ । तर, विश्वमै खुला दिसामुक्त राष्ट्र घोषित भएको भन्न हिचकिचाउन आवश्यक नरहेको खानेपानी विभागका उपमहानिर्देशक रमाकान्त दुवाडी बताउँछन् ।

‘औपचारिक रुपमै खुला दिसामुक्त भयो भनेर विश्वमै अहिलेसम्म कसैले घोषणा गरेको छैन । तर, ब्यवहारमा हाम्रो भन्दा राम्रो सरसफाइ भएको देश कति छन् कति’ उपमहानिर्देशक दुवाडी अनलाइनखबरसँग भने, ‘हामीले ७५३ वटै स्थानीय तह, जिल्ला हुँदै पुरै नेपाललाई घोषणा गर्यौं । त्यसकारण विश्वकै पहिलो भन्न हिचकिचाइरहनुपर्दैन ।’

सार्क राष्ट्रहरुले आ–आफ्ना राष्ट्रलाई खुला दिसामुक्त घोषणा गर्ने गरी काम गरिरहेका छन् । यसको अगुवाइ दक्षिण एसियाली सरसफाई सम्मेलनले गरिरहेको छ ।
सन २००३ मा निर्माण भएको यो संयन्त्रले सरसफाइसम्बन्धी सातवटा सम्मेलन आयोजना गरिसकेको छ ।

पाचौं सम्मेलन २०१४ मा नेपालको राजधानी काठमाडौंमा भएको थियो । सन २०१६ मा बंगलादेश र २०१९ मा पाकिस्तानमा भएको थियो । सम्मेलनमा प्रत्येक राष्ट्रले आधारभूत सरसफाइमा प्राप्त गरेको सफलता र आगामी रणनीतिहरु सार्वजनिक गर्ने आफ्ना प्रतिवद्धता राख्ने गर्दछन् ।

खुला दिसामुक्त राष्ट्र घोषणा गर्नमा सफलता हासिल गर्ने पहिलो राष्ट्र भने नेपाल भएको छ । खानेपानी विभागका उपमहानिर्देशक दुवाडीका अनुसार बंगलादेशले नागरिकको घर–घरमा चर्पी निर्माण गर्ने सवालमा ९९ प्रतिशत उपलब्धी हासिल गरेको छ भने, सार्क राष्ट्रमा भारत सबैभन्दा पछाडि छ ।

बंगलादेश पछाडि श्रीलंका रहेको जनाइएको छ । सार्कका सबै देशमा आधारभूत सरसफाइ अन्तर्गत चर्पी निर्माणको अभियान चलिरहेको छ । भारतमा स्वच्छ भारत अभियान चलिरहेको छ । पाकिस्तान, अफगानिस्तानमा पनि आधारभूत सरसफाइ अन्तर्गतका अभियान चलिरहेको छ ।

बाल मृत्युदर घटायो

चर्पी निर्माणको अभियानले बाल मृत्युदर घटाएको खानेपानी मन्त्रालयले दावी गरेको छ । मन्त्रालयका अनुसार सन २०१० मा नेपालमा पाँच बर्षमुनिका १० हजार आठ सय बालबालिकाको मृत्यु भएको थियो ।

सन् २०१८ मा भने पाँच बर्ष मुनिका १२०० बालबालिकाको मृत्यु भएको छ ।

स्वास्थ्य राज्यमन्त्री सुरेन्द्र यादव पनि सरसफाइकै कारण नेपालमा बाल मृत्युदर उच्च रहेको र त्यो क्रमश घट्दै गएको बताउँछन् । दिसाबाट सर्ने रोगमा निकै कमी आएको र यसमा खुला दिसा मुक्त क्षेत्र घोषणा गर्ने अभियानकै देन रहेको उनको भनाइ छ ।

अबको यात्रा पूर्ण सरसफाइ

खानेपानी मन्त्रालयका अनुसार देशभर ५६ लाख ६० हजार २१४ घरधुरीमा शौचालय बनेका छन् । प्रदेश १ मा ९ लाख ६५ हजार २७२, प्रदेश २ मा ९ लाख ३३ हजार ६४९ र प्रदेश ३ मा १६ लाख २२ हजार १९३ घरधुरीमा शौचालय बनेका छन् ।

गण्डकी प्रदेशमा पाँच लाख ४८ हजार २१०, प्रदेश ५ मा सात लाख ९३ हजार ९९०, कर्णाली प्रदेशमा तीन लाख सात हजार ९६५ र सुदूरपश्चिम प्रदेशमा चार लाख ८९ हजार १२ घरधुरीमा शौचालय बनेका छन् ।

प्रमुख शहर, जिल्ला सदरमुकाम, राजमार्गहरुमा सार्वजनिक शौचालय निर्माण भइरहेका छन् । सरकारले सन् २०३० सम्म दिगो विकासको लक्ष्य हासिल गर्ने लक्ष्य छ । त्यसका लागि तयार पारेका विभिन्न ६ सूचकमा चर्पीको समुचित प्रयोग, व्यक्तिगत सरसफाइ, सुरक्षित पानीको पहुँच तथा प्रयोग, सुरक्षित खनाको प्रयोग, घरायसी एवं संस्थागत सरसफाइर वातावरणीय सरसफाइ छन् ।

राष्ट्रिय योजना आयोगले दिगो विकास लक्ष्य प्राप्तीमा नेपालीहरुको औसत आयु पनि ७७ बर्ष पुर्याउनुपर्ने बताएको छ । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले राउटेहरु स्थायी रुपमा नबस्ने भएका कारण स्थायी चर्पी निर्माणमा समस्या भएको बताए ।

शहरी विकासमन्त्री मोहम्मद इस्तियाक राईले आर्थिक विकास र समृद्धिका लागि खुला दिसामुक्त राष्ट्र घोषणा हुनु ठूलो उपलब्धी भएको बताए । प्रदेश दुईका भौतिक पूर्वाधारमन्त्री जितेन्द्र सोनलले चर्पी प्रयोगसम्बन्धी छुट्टै कार्यक्रम ल्याउनुपर्ने बताए ।

एक हजार जनालाई सम्मान

सरकारले खुला दिसामुक्त देश निर्माणका लागि अभियान चलाउने एक हजार ३८ जनालाई सरसफाइ अभियन्ता सम्मान प्रदान गर्ने भएको छ । त्यस्तै राष्ट्रिय सरसफाइ हिरोका रुपमा नमस्तेलाल श्रेष्ठ, गुरु सुवेदी, अनिल केसी र जगतराज रेग्मीलाई सम्मान गर्ने भएको छ ।

श्रेष्ठ सरसफाइ विज्ञ तथा, राष्ट्रिय सरसफाइ स्वच्छता समन्वय समितिका अनुगमन तथा कार्यन्वयन समूहका संयोजक हुन् । सुवेदी कास्कीका पूर्वस्थानीय विकास अधिकारी हुन् ।

अनिल केसी खानेपानी सरसफाइ डिभिजन कार्यालयकाका प्रमुख थिए, उनको नेतृत्वमा पाँचथर, रौतहट, सर्लाहीलाई खुला दिसामुक्त जिल्ला घोषणा गरिएको थियो । रेग्मी नवलपरासीको पञ्च प्राविका प्रधानाध्यापक हुन् । नेपालको पहिलो खुल्ला दिसामुक्त जिल्ला कास्की हो । अन्तिम जिल्ला भोजपुर हो ।

कास्कीलाई २०६८ असार १० गते र भोजपुर जिल्लालाई २०७६ असोज ४ गते खुला दिसामुक्त घोषणा गरिएको थियो । राजधानी काठमाडौंलाई गत भदौ ३१ गते खुला दिसामुक्त घोषणा गरिएको थियो ।

-अनलाइन खबरबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार