के हो महिलाको नैतिक धरातल ?

  सीमा आभास  72 पटक हेरिएको

साहित्य महोत्सव

इलामे सहर चियाबारी राम्रो त्यहीँ पर्‍यो घर हाम्रो

कस्की हौ छोरी पातली मोरी लैजाने सुर हाम्रो।

इलामलाई गीतका यस्ता पंक्तिले झनै सुन्दर बनाएको छ। असोजको दोस्रो दिन इलाम साहित्य महोत्सवको निम्तो मान्न उत्साह बोकेर निर्मल तामाङ, शुभलक्ष्मी लम्साल, दीपक शम्चू, धीरज राई, मीनकुमार नवोदित श्रेष्ठ र म बिर्तामोडको गाडी चढ्यौं। हामीमध्ये कति इलाम पुगेका थियौं। कतिको इलाम पहिलो यात्रा थियो। मिल्ने साथीहरू भएपछि यात्रा उसै पनि रोचक हुन्छ। अझै साहित्यिक उत्सवमा जानु आफैंमा अर्को उत्सव हो। चियाका हरिया बुट्यानको चिसो हावा खाँदै हामी इलामबजार पुग्यौं।

हरेक घरका दैलामा सिँगारेका घडामा फूल भरेर सजाइएको थियो। घरैपिच्छे राष्ट्रिय झन्डा थियो। चिटिक्क पारेर सिँगारेको इलाम कुनै नवकिशोरजस्तो आकर्षक देखिन्थ्यो। बिहान एघार बजेतिर इलामको बीच बजारमा आआफ्ना सांस्कृतिक भेषभूषा, स्कुल पोसाक र कर्मचारी पोसाकमा सजिएको र्‍याली विभिन्न बाजागाजा र झाँकीहरूले हामीलाई नै स्वागत गरेजस्तो लाग्थ्यो। प्रहरीहरूको नम्र र मैत्रीपूर्ण सुरक्षा उपस्थिति साँच्चै तारिफ गर्नलायक थियो।

एकातिर संविधान दिवस मनाउने उर्दी गरेको थियो सरकारले, अर्कोतिर गौतमबुद्ध सिटी हलमा साहित्यिक महोत्सव सुरु हुँदै थियो। सुन्दर इलाम दुईतिरका सुन्दर कर्मले सुशोभित थियो।

प्रकाश थाम्सुहाङको नेतृत्वमा एक महिनाअगाडि मात्र स्थापना भएको इलाम साहित्य समाजले पहिलो कार्यक्रम नै साहित्य महोत्सव राखेर ठूलो चुनौती मोलेको थियो। गौतम बुद्ध सिटी हलमा पुग्दा हामी पाहुनाहरूको अनुहारमा उत्साह र खुसी कुदेको थियो। प्रकाश थाम्सुहाङ, महेन्द्र विरही, बालिका थपलिया, सुरेन्द्र राई, अर्जुन योङहाङ, कविता राई गाउँलेको अनुहारमा खुसीसँगै जिम्मेवारीको पहाड उभिएको देखिन्थ्यो।

२००९ सालमा इन्द्रबहादुर राई, महाकवि लक्ष्मीप्रसाद देवकोटाहरू आएर इलामको करफोकमा कविता गोष्ठी भएको इतिहास छ। साथै २०४१ सालतिर भूपी शेरचनहरूले साहित्यिक कार्यक्रम गरेको अर्को इतिहास छ। त्यसपछिको बृहत् साहित्यिक अनुष्ठान बन्यो इलामको भूमिमा।

खर्साङ, मिरिक, सुखिया, सिक्किम, रोल्पा, बझाङ, बुटवल, चितवन, हेटौंडा, काठमाडौं, झापा, मोरङ, सुनसरी, ताप्लेजुङ, पाँचथरलगायतका स्थानबाट आएका झन्डै पाँच सय लेखक–कलाकारको जमघटले इलाममा रौनकता छाएको थियो। हामीभित्रको विविध आक्रोश अनि उत्साह र खुसी थियो।

सञ्जीव उप्रेती सरको उद्घाटन सम्भाषणले कार्यक्रमको श्रीगणेश भयो। लोकतन्त्र र आलोचनात्मक चेत शीर्षकबाट सुरु भएको सम्भाषणले सम्पूर्ण कार्यक्रमको हरेक सत्रहरूमा एकछत्र शासन गरिरह्यो। वक्ताहरूले यही सम्भाषणमा आधारित भएर आफ्ना भनाइहरू तयार गरे। नेताका भाषणदेखि दिक्क हामीहरूलाई सञ्जीव सरको यो सम्भाषणले नयाँ आयाम, सिर्जना र चेतनाको झिल्का प्रसारित गरिरहेको छ। यो सम्भाषणले मार्टिन लुथर किङको ‘आई ह्याब अ ड्रिम’लाई सम्झाइरहेको थियो। कार्यक्रमको सबैभन्दा ठूलो उपलब्धि यही सम्भाषण होजस्तो प्रतीत हुन्थ्यो।

अधिकारको विषयमा बहस हुँदै गर्दा महिलाले नै भू्रण हत्या गर्छन् भनेर आममहिलामाथि तिनै विद्वान्को आरोप थियो।

भोलिपल्ट पनि त्यही सम्भाषण जिउँदोजाग्दो भएर हरेकजसो सत्रमा प्रवेश गर्‍यो। एउटा अर्थ र विश्लेषणयुक्त भाषणको तागत देख्यौं। हामी धन्य भयौं।

साहित्यिक उत्सवमा कवितालाई उसो त त्यति प्राथमिकतामा नराखेको गुनासो सुनिएकै हो। खै किन हो श्रोताहरूले पनि कविता सुन्दैनन् भन्ने आरोप इलाम महोत्सवले असत्य सावित गरिदियो। मञ्चबाट कविहरूको नाम टिपाउन आह्वान गर्दा कवितामाथि खेलाँची गर्ने भए भनेर म आत्तिएकी थिएँ। झन्डै पचासवटा कविता वाचन भए।

बाँसका भाटा र चोयाले बुनोको मान्द्रोबाट कलात्मक ढंगले बनाइएको गौतमबुद्ध सिटी हल साँच्चै कविता अनुष्ठानका लागि सुन्दर मञ्च थियो। यति धेरै मान्छे, त्यति धेरै सत्रहरूमा बीचबीचमा आएका कविताहरूले हरेक पटक नयाँ तरंग ल्याएर जान्थे। कुनैकुनै कविताले त एक सत्रमा छलफल हुने विषयभन्दा निकै बढी तरंग छोडेर जान्थे। कविताको खास शक्ति यो महोत्सवमा देखियो। साहित्यिक महोत्सवहरूमा यति धेरै कवितालाई मञ्च दिएर पनि कुनै कविता झुर लागेन। कुनै कवितामा कतै हल्ला सुनिएन। कविताले आफ्नो तागत देखाउने मौका पायो। कविताको तागतले पनि यो महोत्सव अत्यधिक सफल भयो। चिया दोकानमा होस् या गाडीमा कविता भनेर सुनाउनेसँग भाग्ने जमात छ। जता पायो त्यतै कविता भनेर सुनाउँदै हिँड्ने कविहरूलाई राम्रो पाठ सिकाएको छ। कविता खास मञ्चमा मात्र भनिने विधा हो भनेर।

साहित्यिक उत्सवमा कुनै खास विषयमा मुद्दाहरू उठ्ने गरेका छन्। कतियप मुद्दाहरू नयाँ छन्, कतिपय पुरानै छन्। तर बहसमा उठाइरहनुपर्ने विषय छन्। साहित्यिक आन्दोलनका सवाल हुन् या लोकतन्त्रको कुरा, आख्यान र कविताका कुरा हुन् या अधिकारको पेवाका कुरा बहसमा उठाइरहने विषय हुन्। विचार मन्थनका लागि र अधिकार स्थापनाका लागि यी विषयमा बहस केन्द्रित भयो।

दोस्रो दिनको अन्तिमतिर कृष्ण धराबासी, जेबी विश्वकर्मा र म वक्ता थियौं। पत्रकार समीरबाबु कट्टेलले सहजीकरण गरेको सत्रमा अधिकारको पेवामाथि बोल्नुपर्ने थियो। अधिकार र पेवा एकापसमा नमिलेजस्तो लागे पनि उठाउनैपर्ने कुरा थियो। चर्को बहस भयो। हरेक कार्यक्रममा जाँदा मलाई व्यक्तिगत कुरा सोधिने गरिन्छ। त्यत्तिका सत्रहरू चले कुनै पनि पुरुष वक्तालाई व्यक्तिगत कुरा सोधिँदैन तर मलाई सोधिन्छ। मलाई सोधिने ती व्यक्तिगत विषयका सार्वजनिक प्रश्न खुबै महत्त्वपूर्ण लाग्छन्। खास गरी सार्वजनिक बहसमा अधिकांश पुरुषले आफ्नो पारिवारिक या व्यक्तिगत कुरा उठाउन चाहँदैनन् तर म बाध्य हुन्छु। किनकि महिला हुँ। जानी नजानी महिला मञ्चमा उक्लिएर बोल्नु अझै पनि सामान्य कुरा बनिसकेको छैन। मेराजस्ता व्यक्तिगत कुरालाई बहसको विषय बनाउन चाहन्छ समाज। मजस्ता कोही पनि महिलाले पहिला व्यक्तिगत कुरा भन्नसक्ने तागत राख्नुपर्ने रहेछ भनेर बुझ्दै छु। मौका पाएसम्म हामीले हाम्रा कुरा भन्न सक्नुपर्ने रहेछ।

सत्रको मध्यतिर प्रश्न सोध्ने क्रममा क्याम्पसमा पढाउने एकजना प्राध्यापकले महिलाको नैतिक धरातल के हो भनेर प्रश्न गर्नुभएको थियो। एउटी महिला मञ्चसम्म पुग्दा उसको व्यक्तिगत विषय मात्र हैन, नैतिक धरातलको पनि प्रश्न उठ्ने गर्छ। के हो महिलाको नैतिक धरातल ? अनि पुरुषको नैतिक धरातल हुन्छ कि हुँदैन ? म आममहिलाजस्तै कसैकी आमा, छोरी, बुहारी, श्रीमती थिएँ। अनि उनीहरूको नैतिक धरातल के छ ? मेरो नैतिक धरातल पनि त्यही थियो। म मञ्चमा उक्लनु नैतिक धरातल डगमगाएको ठान्ने विद्वान्को अगाडि थिएँ म।

अधिकारको विषयमा बहस हुँदै गर्दा महिलाले नै भू्रण हत्या गर्छन् भनेर आममहिलामाथि तिनै विद्वान्को आरोप थियो। तर भू्रणहत्या अंश, वंश र धर्म जोगाउनका लागि पुरुषसत्ताको चरम दबाबमा परेर आफ्नो ज्यान पनि पर्वाह गर्न पाउँदैनन् महिलाले। अंश, वंश र धर्म यद्यपि महिलाको आफ्नै छैन भनेर तिनले किन सम्झेनन् ? महिलाको अंश, वंश, नगारिकता र धर्म हुन्थ्यो भने भू्रणहत्या हुने थिएन भनेर हामी किन बुझ्दैनौं ?

१४ वटा सेसन र पचावटा जति कवितासहित सम्पन्न इलाम साहित्य महोत्सवले नेपाली साहित्यमा अर्को तरंग ल्याएको छ। चियाबारीका बोटहरूबाट साहित्यिक तरंगहरूले हामी सिञ्चित हुँदै:

इलाम म तिम्रो काख छोडी धमिलो बगेँ

बग्नु भनेको ओलो नै त हो ओरालो बगेँ

बग्नु भनेको भत्किनु नै त हो भत्किँदै बगेँ

कवि कृष्णभूषण बलको यो कविताको पंक्तिसँगै हामी पनि हुइँकियौं मधेसतिर ओरालो ।

अन्नपूर्ण पोष्टबाट साभार गरी प्रकाशित गरेका हौं ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार