लोकतन्त्र र आलोचनात्मक चेत (पूरा भिडियो सहित)

  सञ्‍जीव उप्रेती  109 पटक हेरिएको

इलाम : प्राचिन समयमा पनि लोकतन्त्रको अभ्यास भएको थियो । एथेन्स, रोमजस्ता शहरमा धेरै पहिले नै लोकतन्त्रको अभ्यास भएको हो । तर, त्यहाँको लोकतन्त्रमा समस्या थिए । नारीहरुलाई सार्वजनिक स्थलमा प्रवेश गर्ने अधिकार थिएन । धेरै मान्छेहरु दास थिए ।

यूरोपमा पुनः जागरण अथवा रेनसाको समयमा पनि लोकतन्त्रको अभ्यास भएको थियो । यो कालखण्डमा एकातिर लोकतन्त्रको कुरा गरिन्थ्यो । अर्कोतर्फ औपनिवेशिकरण चलिरहेको थियो । दासहरुलाई कडा श्रममा लादिएको थियो । मान्छेहरुलाई बेचबिखन गरिन्थ्यो ।

त्यसैले लोकतन्त्रको अवधारणा पहिलेदेखि थियो । तर, पहिले आजको जस्तो फराकिलो अवधारणा थिएन । यही कारणले गर्दा लोकतन्त्रको अभ्यास अहिले पनि निरन्तर चलिरहेको छ । तर, अझै पूर्ण हुन सकिरहेको छैन ।

सन् १९६० को दशकमा अमेरिकामा मानवअधिकारको आन्दोलन भए । अश्वेत अमेरिकीहरुले लोकतन्त्रमा पनि आफ्नो सहभागिता र अस्तित्व खोजे । त्यसपछि १९७० मा महिला अधिकारको आन्दोलनले नारीहरुलाई अधिकार दिने बाटो खोल्यो । अधिकारका लागि बाटो बनायो । त्यसो त नारीहरुलाई अझै पनि गाह्रो छ । अझ विशेषगरी २० औँ शताब्दीसम्म त कतिपय देशमा नारीहरुले भोट दिने अधिकार नै पाएका थिएनन् ।

विश्वभर लोकतन्त्र त थियो तर, सीमित खालको लोकतन्त्र थियो । त्यसैले लोकतन्त्रका परिधिहरुलाई फराकिलो बनाउने काम बारम्बार हुँदैछ । लोकतन्त्रलाई पुन परिभाषित गर्ने प्रयास संसारभर निरन्तर चलिरहेको छ ।

नेपालमै पनि हामी पञ्चायतकालमा प्रजातन्त्रको कुर गथ्र्यौ । पञ्चायत निर्दलीय व्यवस्था थियो तर, पनि उसले प्रजातन्त्र भन्ने शब्द प्रयोग गर्यो । किनभने राज्यजस्तो चरित्रको भएपनि प्रजातन्त्रको मान्यता, अवधारणा विश्वव्यापीकरण भइसकेको छ । यस्तो अवस्थामा प्र्रजातन्त्रको प्रयोगबिना केही गर्न असंभव जस्तै भएको छ ।

सन् २००६ यता हामीले भन्ने गरेको लोकतन्त्र वा गणतन्त्रको परिधिमा पनि बारम्बार प्रश्न उठिरहेका छन् ।  यो लोकतन्त्रको परिधिमा र सीमान्तकृत समुदायका व्यक्ति कति समावेश छन् ? नारीहरुको अवस्था के छ ? जनजातीको अवस्था के छ ? तेस्रो लिंगीको अवस्था के छ ?  दलितहरुको अवस्था के छ ?

दलित, महिला, अपांग, सिमान्तकृत, जनजाती, तेस्रो लिंगी लोकतन्त्रको फराकिलो छहारीभित्र समाहित हुन सकेका छन् त ?

यदि छैनन् भने त्यो लोकतन्त्र केही सीमित व्यक्तिका लागि हुने भयो । केही निश्चित व्यक्तिका लागि मात्रै हुने भयो ।

अहिलेको महत्वपूर्ण प्रश्न हो, लोकतन्त्र कति फराकिलो छ ? कति खुम्चिएको छ लोकतन्त्र ?

अर्कोतर्फ लोकतन्त्रको परिभाषा एकै किसिमको छैन । यसको परिभाषा बारम्बार बदलिरहेको छ । लोकतन्त्र आफैमा सहभागिताको अवधारणा हो । तर, एउटा कुरा भने पक्का छ, त्यो हो, लोकतन्त्रको परिधि सधैं फैलिदै जान्छ । लोकतन्त्रको सीमा सधै फराकिलो हुँदै जान्छ ।

एकताका बहसको विषय बनेको थियो, अब संसारमा एउटै पैसा (ग्लोबल करेन्सी) हुन्छ । संसारमा अब देशका सीमा रेखा हुँदैनन् । तर, अहिले त हामी झन् झन् पछि पो सर्दै गएका छौं कि जस्तो लाग्छ । अमेरिका अहिले मेक्सिकोमा पर्खाल लगाउने कुरा गर्दैछ । भारतमा हिन्दुत्वले जरा गाड्दैछ । धार्मिक असहिष्णुता बढ्दै गएको छ । वाक स्वतन्त्रता फराकिलो हुनुपर्ने स्थानमा खुम्चिदै गएको छ ।

यसले के देखाउँछ भने हामी दुई स्टेप अगाडी गएर फेरी दुई स्टेप नै पछाडि पो जाँदैछौ कि ।

लोकतन्त्र विकासशील अभ्यास र अवधारणा हो । त्यसैले यो पछाडि पनि जानसक्छ । त्यसैले लोकतन्त्रलाई सुरक्षित गर्न हामीले लोकतन्त्रको सीमा फराकिलो पार्दै जानुपर्छ । लोकतन्त्रको सीमा फराकिलो पार्ने प्रयासको महत्वपूर्ण आधार हो आलोचनात्मक चेत ।

लोकतन्त्र र नागरिक

नागरिक को हो ? नागरिक र रैतीमा के फरक छ ? साधारण अर्थमा बुझ्दा नागरिक त्यो हो जो कर्ता हुन्छ । जोसंग आफ्नो स्वनिर्णय गर्ने शक्ति हुन्छ त्यही हो नागरिक ।

सामन्तवादी युगमा शासकहरुले नै सबै निर्णय गर्थे । आफ्नो शासक को हुने भनेर छान्न पाउँदैन थिए । त्यसैले तिनीहरुलाई रैती भनिन्थ्यो ।

तर, अहिले आएर हामी भोट दिन्छौं । आफ्नो नेता, शासक छान्छाैं भनेपछि हामी नागरिक हौं । तर, अहिले हामीले बाँचिरहेको वा भोगिरहेको लोकतन्त्रका सीमा पनि छन् । ५ वर्षमा एकपटक भोट खसाउँदैमा के हामी कर्ता भयौँ त ?

५ वर्षमा हामीले एकपटक भोट हाल्याैं तर, त्यसपछि हामीले छानेका नेता, शासक के गरिरहेका छन् ? कस्तो गर्दैछन् ? किन गर्दैछन् ? यो प्रश्न हामीले गर्यौ कि नाईं ? अथवा हामीले छानेका नेताले गर्ने काम, बनाउने नीतिमा हस्तक्षेप गर्ने हाम्रो अधिकार कति छ ?

यी प्रश्नको निश्चित जवाफ छैन । त्यसैले हामी अझै पनि पूर्ण नागरिक भइसकेका छैनाैं कि भन्ने प्रश्न पनि छ ।

कर्ता भएर हामीले पाउने आत्मनिर्णयको अधिकारमा पनि शंका गर्न सकिने ठाउँ छ । अहिले हाम्रो आत्मनिर्णयको अधिकार पनि बजारले पो निर्माण गर्दैछ कि ? मेरो अध्ययनको क्रममा म अमेरिकामा थिए । बाउआमा काम गर्न गएका छन् । उनीहरुका बच्चा टेलिभिजनका अगाडि हुन्छन् ।

टेलिभिजन कार्यक्रमसँग उनीहरु विज्ञापन हेर्छन् । उमेर अनुसारका कार्यक्रम र विज्ञापन हुन्छन् । अनि टेलिभिजन हेर्ने बच्चा त्यहीँबाट प्रभावित भएर आफ्ना बा आमासँग माग गर्छ ।

हामी सोच्छौ हामी टेलिभिजनमा कार्यक्रम हेर्दैछौं । खासमा हामी टेलिभिजनमा विज्ञापन हेरिरहेका हुन्छौं । टेलिभिजनको मुख्य प्रोग्राम नै विज्ञापन हो । हामीलाई लाग्छ कार्यक्रमको बीचमा विज्ञापन आउँछ । तर, यथार्थमा विज्ञापनको बीचमा कार्यक्रम आउने हो ।

यस्ता विज्ञापन र कार्यक्रमले मान्छे बजारको उपभोक्ता भइसकेको हुन्छ । त्यो विज्ञापन हेरेर त्यसबाट प्रभावित भएर मान्छेले सामान किन्न खोज्छ । यस्तो गर्दा उसलाई के लागेको हुन्छ भने यो मेरो स्वनिर्णय हो । तर, यथार्थमा त्यो सबै बजारको प्रभाव हो । मान्छेको निर्णय बजारले निर्माण गरिरहेको हुन्छ । यस अर्थमा मान्छेको निर्णय कति स्वतन्त्र हुन्छन् । अर्थात आजको यो युगमा हाम्रो कर्तापन घट्दै गएको छ भने हाम्रो नागरिकपन पनि स्वतः कम हुँदै गएको छ ।

अहिले प्राविधिक परिवर्तन पनि द्रूत गतिमा भइरहेको छ । यस अर्थमा भविष्यमा धेरै परिवर्तन हुनेछ । अहिले डरलाग्दो संभावना नियन्त्रण र आतंकवादको हो । अहिले इन्टरनेटमा खोज्दा एटम बम बनाउने सुत्र मज्जाले भेटिन्छ । एटम बम कसरी बनाउने भन्ने विषय इन्टरनेटमा भेटिन्छ ।

मानिलिनुहोस्, यसरी बम बन्न थाले भने संसारमा ग्लोबल आतंकवाद बढ्न थाल्छ । यो ग्लोबल आतंक रोक्न राज्यले मान्छेको घर घरमा सिसिटिभी जडान गरिदिन सक्छ । सीसीटीभी क्यामेरा फिट गर्यो भने राज्यले हरेक मान्छेको रुची, व्यवहार, बानी थाह पाउँछ । अब यति भएपछि मान्छे नागरिक कति, रैती कति भन्ने प्रश्न उठ्छ ।

मान्छेको हरेक जानकारी राज्यलाई छ । उसको आवश्यकता, रुची र व्यवहार सबैको बारेमा राज्य जानकार हुन्छ । यो सूचना राज्यले बजारलाई चुहायो भने अवस्था के होला ?

अहिलेपनि विभिन्न सामाजिक सञ्जालले यस्ता सूचना बजारलाई चुहाइरहेका हुन्छन् । त्यसैपनि राज्य र व्यापारको ठूलो नेक्सस चल्दै आएको छ ।

यस्तो भएमा नागरिक नागरिक रहँदैन । उसको आत्मनिर्णयमा बजारको प्रभाव हुन्छ ।

त्यसकारण लोकतन्त्रको सीमा फराकिलो पार्दै जान्छ । नागरिकको कर्तापन जोगाईराख्न आलोचनात्मक चेत आवश्यक छ ।

आलोचनात्मक चेत

आलोचनात्मक चेतले चलिआएका विश्वास, मान्यतालाई जस्ताको तस्तै स्वीकार नगरी त्यसमाथि प्रश्न गर्छ । मान्यता, विश्वासलाई दोहोर्याएर परीक्षण गर्छ । आलोचनात्मक चेतको प्रयोगमा विज्ञान निकै सक्रिय छ । त्यसैले विज्ञानका सत्य बारम्बार बद्लिरहन्छन् । विज्ञान एउटै सत्यमा अडिग भएर रहँदैन ।

मानविकी र समाज विज्ञानमा पनि आलोचनात्मक चेतको अभ्यास गर्दै आएको छ । आज हामीले मान्ने गरेका धारणा, सिद्धान्त, विश्वास पर्याप्त छन् ? कसले निर्माण गर्यो यस्ता विश्वास ? किन निर्माण गर्यो ?

कुनैपनि सत्यको पछाडि लुकेका के कस्ता धारणा थिए ? स्वार्थ थिए । विश्वदृष्टि थिए भन्ने प्रश्नको जवाफ खोज्ने अभ्यास नै आलोचनात्मक चेत हो ।

उदाहरणका लागि, नारी पुरुष सम्बन्धी धारण: नारीहरु भावुक हुन्छन् । पुरुषहरु आक्रामक हुन्छन् । यसलाई हामीले आजसम्म सत्य मान्दै आएका छौँ । तर, हामी भुल्छौ सत्य दुई किसिमको हुन्छ । एउटा प्राकृतिक सत्य, जस्तो सूर्य पूर्वबाट उदाउँछ यो प्राकृतिक सत्य हो । तर, पुरुषहरु आक्रामक नै हुन्छन्, नारीहरु भावनात्मक हुन्छन् भन्ने प्राकृतिक सत्य होइन । यो समाजले निर्माण गरेको सत्य हो ।

सामाजिक संरचनाले सिर्जना गरेको सत्य हो । यसरी सिर्जित गरिएका सत्यलाई मान्ने कि नमान्ने ? यो सत्यलाई दोहोर्यार हेर्ने कि नहेर्ने ? सामाजिक, सांस्कृतिक सत्यलाई पुनःदोहोर्याउने कि नाई ?

सामाजिकस्तर र संरचनाले निर्माण गरेको सत्यमाथि प्रश्न नै नगरी जस्ताको त्यस्तै स्वीकार गर्याैं भने हामीमा आलोचनात्मक चेत कम भएको मान्नुपर्छ ।

सामाजिक र सांस्कृतिक संरचनाले निर्माण गरेका सत्यमाथि जब हामी प्रश्न गर्न थाल्छाैं  त्यतिबेला हाम्रो आलोचनात्मक चेत बढ्न थाल्छ ।

आत्मआलोचनात्मक चेत

आलोचनात्मक चेत बाहिरी संसारतिर निर्देशित हुन्छ । तर, आत्मआलोचनात्मक चेत भने भित्र अर्थात् आफैतिर फर्किएको हुन्छ । हामीले आफंैले आफैंलाइ कति प्रश्न गर्छौ ? आफैंलाई फर्किएर कति हेछौँ ?

विभिन्न सभा समारोहमा मान्छेहरु एक अर्काका तर्क काट्ने र जित्ने अभ्यासमा लागेका हुन्छन् । तार्कित प्रश्न र जवाफको शिलशिलामा लागेका हुन्छन् । यसलाई म दंगली मानिसिकता भन्छु । यो एकप्रकारको तर्कको युद्ध हो ।

इमानदारीपूर्वक भन्नुहोस्, तर्कको युद्ध जितेर के हुन्छ ? ए मैले त्यसलाई हराए भनेर दम्भ उत्पन्न हुन्छ । यसले हामीलाई न कुनै फाईदा पुग्छ न कुनै रुपान्तरण ल्याउँछ हामीमा ।

मेरो बुझाईमा, मेरो तर्कमा के कस्तो कमजोरी र कमी रह्यो भनेर जब तपाईले आफैलाई प्रश्न सोध्न थाल्नुहुन्छ तब त्यो आत्मआलोचनात्मक चेत हुन्छ । आफैंतिर निर्देशित भएको प्रश्न । यसले आफैंले आफैंलाई पनि रुपान्तरण गर्छ । र यसले हामीलाई लोकतान्त्रिक बनाउँछ ।

हामीले बाहिर आवरणमा जति लोकतान्त्रिक कुरा गरेपनि हामीले भित्रभित्रै दंगली मानसिकता पालिरहेका हुनसक्छाैं । हामीले आफूभित्र दम्भको मानसिकता विकास गरिरहेका हुन सक्छौं ।

लोकतन्त्र भनेको अर्मुत शब्द हो । लोकतन्त्र अर्मुत अवधारणा हो । हामी आफंै पनि लोकतान्त्रिक हुनुपर्यो । संविधान, कानून त लोकतान्त्रिक होलान् तर, हामी व्यक्तिगत रुपमा कति लोकतान्त्रिक हुने ।

कतिपय मान्छेहरु भन्छन मेरो विचार परिवर्तन भएन । १० वर्ष अगाडि पनि म यही कुरा गर्थे, आज पनि यही । यो भनाईमा पनि म समस्या देख्छु । यो दश वर्षमा समाज परिवर्तन हुन्छ । तपाईकै अनुभव बढ्छन् । उमेर पनि बढ्छ । अनि विचार भने त्यही १० वर्ष पुरानो । यो गर्व गर्ने कुरा हो कि लाज मान्ने कुरा ? मान्छे त परिवर्तन हुँदै जान्छ । त्यसैले आफूलाई परिवर्तन गर्ने अभ्यास पनि राख्नुपर्छ।

इलाम साहित्य महोत्सवमा उप्रेतीले लोकतन्त्र र आलोचनात्मक चेतमाथि बोलेको कुराको संपादित अंश । हामीले शिलापत्रबाट साभार गरेका हौं ।

पूरा भिडियो हेर्नुहोस् :

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार