
झापा : पूर्व नयाँ शक्ति पार्टीका झापा जिल्ला अध्यक्ष र सचिव कार्बाहीमा परेका छन् ।
पूर्व नयाँ शक्ति पार्टीका १ नम्बर प्रदेश संयोजक प्रभुराम श्रेष्ठले सोमबार अध्यक्ष वीरबहादुर श्रेष्ठ र सचिव पुष्प पौडेललाई पदबाट हटाएको जानकारी दिएका हुन् ।
नयाँ शक्ति पार्टी झापा जिल्लाको बहुमत सदस्यहरुको बैठकले नेताद्वयलाई कार्बाही गर्नुपर्ने सर्वसम्मत निर्णय भइ पत्रचार भएकोले उनीहरुलाई पदमुक्त गरिएको समाचार स्रोतले जनाएको छ ।
१ नम्बर प्रदेश संयोजक श्रेष्ठले झापा जिल्लामा कार्यवाहक अध्यक्षका रूपमा उपध्यक्ष उदय गुरुङलाई जिम्मेवारी तोकेका छन् ।
पूर्व नयाँ शक्ति पार्टी र पूर्व सङ्घीय समाजवादी पार्टीबीच भोलि मंगलबार जिल्ला पार्टी समायोजन कार्यक्रम तय भएको थियो । नयाँ शक्ति पार्टी तर्फका बहुमत जिल्ला सदस्यहरुले सो कार्यक्रम रोक्न नेतृत्वलाई दवाव दिएको तर आफूहरुको कुरो सुनुवाई नभएपछि बैठक बसेर बहुमत जिल्ला कमिटीले कार्बाहीको लागि निर्णय गरेको एक जना जिल्ला सदस्यले जानकारी दिए ।
नाम नखुलाउने शर्तमा ती सदस्यले भने -‘हामीले जिल्ला समायोजन सम्मान जनक हुनुपर्छ भनेर अडान राख्दै आएका हौं । जिल्ला नेतृत्वहरुले हाम्रो कुरा सुन्नु भएन । भोलि नै समायोजन गर्ने तयारी गर्नु भो । उहाँहरुलाई कार्बाही गर्न माथिलो कमिटीलाई पत्रचार गरेका छौं ।’






















































