निडरतापूर्वक निरन्तर प्रश्न गरौं

अरुण नेपाल

उर्जाको उपयोग

‘पर्यटनका लागि साहित्य’ मूल नाराका साथ इलाम साहित्य समाजले आयोजना गरेको दुई दिने साहित्य महोत्सव सम्पन्न भयो । एक हदसम्म कार्यक्रमको मुख्य उद्देश्य पूरा भएकै देखियो । कार्यक्रममा सहभागी हुनकै लागि भनेर नेपालका विभिन्न जिल्ला र भारतको दार्जेलिङबाट समेत अतिथिको आगमन भएबाट यसै पनि इलामको पर्यटन क्षेत्रमा योगदान पुग्यो । यसका अलावा कार्यक्रममा उपस्थित कतिपय पाहुनाको बढ्दो इलाम मोहका कारण भविष्यमा समेत इलामको पर्यटन प्रवर्द्धन हुने एउटा बलियो आधार खडा भएको छ । साहित्यक कार्यक्रममा विभिन्न पाटा र पक्षबाट साहित्यका बारेमा जमेरै विचार विमर्श गरी साहित्यिक क्षेत्रमा एउटा तरंग पैदा गर्न सकेकोमा साहित्यिक कार्यक्रमको सार्थकता पनि पुष्टी भएकै पाइयो । यस अर्थमा पर्यटनका लागि साहित्य मुल नारा एक हदसम्म सार्थक नै भएको अनुभुति भयो । दुइ दिनसम्म कार्यक्रममा सहभागी हुँदा मनमा केही महत्वपूर्ण विचार उत्पन्न भएकाले तिनै विचार समेटेर यो लेख लेख्न मन लाग्यो । कार्यक्रमकै क्रममा उजागर भएको एक महत्वपूर्ण सन्देशलाई नै यो लेखको शीर्षक बनाउन मन लाग्यो  “निडरतापूर्वक निरन्तर प्रश्न गरौं” । अझ सत्तामा बसेर भत्तामा रमाउनेहरूका कानमा वतास लाग्ने गरी चर्कै स्वरमा आवाज बुलन्द गरौं । जबसम्म उनीहरूले भन्दै आएका न्याय, समानता, लोकतन्त्र, आदि जस्ता मान्यता जनजनका मनमा अनुभुति हुँदैन तबसम्म आवाज घन्काउन नछाडौं । लेखेर, बोलेर, व्यङग्यका बाणले घोचेर, कविता वाचन गरेर, नाटक देखाएर, सिनेमा चलाएर, जे गरेर भएपनि सत्तापक्षका टालिएका कान खोलेरै छाडौं । निरन्तर खवरदारीमा कहिँ कतै कोहीसँग सम्झौता नगरौं । जहिलेसम्म समाजमा स्थापित थोत्रा, अन्यायपूर्ण र असमान व्यवहारलार्इ निरन्तरता दिने मुल्य मान्यता तोडिएको अनुभुति उत्पीडित जनसमुदायका प्रत्येक व्यक्तिलार्इ हुँदैन तबसम्म निडरतापूर्वक प्रश्न गर्न नछाडौं भन्ने मेरो आफ्नो बुझाइ रहेकाले यहि प्रश्नको सेरोफेरोमा सीमित भइयो अनुभुतिजन्य लेख लेख्ने जमर्को गरिएको छ । भलै मेरो यो नितान्त व्यक्तिगत बुझाइले बाँकी सहभागीको भावना नसमेट्न सक्छ । सबैका आआफ्ना बुझाइ हुने कुरालार्इ उच्च सम्मान गर्नुपर्ने कुरा समेत यहि कार्यक्रममा प्रशस्त चर्चा भएबाट पनि कार्यक्रमबाटै प्राप्त उर्जाले आफ्नै बुझाइका आधारमा निर्धक्कसँग यो लेख लेख्न थप उक्सायो । फलस्वरूप कार्यक्रमका क्रममा प्राप्त उर्जा उपयोग गरेर कार्यक्रममै चर्चा भएका विषयवस्तुका महत्वपूर्ण सन्देश उजागर गरी तयार गरिएको एक समीक्षात्मक टिप्पणी हो  यो लेख ।

तोडिएका संस्कार

कार्यक्रमका क्रममा निकै तात्तातो बहस भएको एउटा महत्वपूर्ण विषय हो, समाजमा व्याप्त थोत्रा मुल्य मान्यता तोड्ने । त्यसरी तोड्ने कार्यको थालनी पनि आफैंबाट शुरू गर्नुपर्ने कुरामा समेत कार्यक्रममा जमेरै बहस भयो । सायद यहि मान्यतालाई सम्मान गरेरै होला, नेपालमा हुने हरेकजसो कार्यक्रममा प्रयोग हुँदै आएका कार्यक्रमकै समयमा अनुभुति हुने केही गलत परम्परा र मान्यता कार्यक्रमका आयोजक स्वयंले तोडेको अनुभुति भयो । उदाहरणको लागि, कार्यक्रमको उद्घाटन गीत गाएर गरियो । पट्यार लाग्दो आशनग्रहण गर्ने निकै भद्दा संस्कार कार्यक्रमको उद्घाटन र समापन दुवैमा पूरै तोडियो । कार्यक्रम स्थलमा उपस्थित सम्पूर्ण सहभागीलाई आआफ्नो स्थानबाट उठेर आशनग्रहण गर्न अनुरोध गरेबाट कार्यक्रममा उपस्थित सबैजसो सहभागीले समानताको अनुभुति गरे जस्तो लाग्यो । त्यो भन्दा पनि महत्वपूर्ण कुरा त कार्यक्रम शुरू भएदेखि थालिएको आशनग्रहण प्रकृया समापन नहुञ्जेलसम्म कायम राख्ने निकै हास्यास्पद र पट्यारलाग्दो संस्कार तोड्ने सन्देश नेपालभरि फैलन सक्यो भने दिनमा कति समय बचत होला ? भन्ने निकै मननीय शन्देश प्रवाह गर्न यो कार्यक्रम सफल भएको अनुभुति भयो । त्यस्तै पुस्तक विमोचन गरेर अतिथिलार्इ स्वागत गर्ने छोटो मिठो, नौलो र मौलिक तरिका अपनाएर स्वागतका नाममा श्रोतालाई लम्बे भाषण सुनाएर पीडा दिने गलत संस्कार पनि तोडेकै अनुभुति भयो । यसरी नै एक ठाउँमा निश्क्रिय रूपमा बसिरहने संस्कारलाई तोडेर कार्यक्रमस्थल वरपरका सबैजसो गतिविधिलार्इ नियाल्ने र आवश्यक व्यवस्थापन गर्नमा समेत कार्यक्रमका अध्यक्षले सक्रिय भुमिका निर्वाह गरी अध्यक्षको परम्परागत निश्क्रिय भुमिकालार्इ पनि तोड्न खोजे जस्तो लाग्यो । मुलुकका विभिन्न जिल्लामा छरिएर रहेका श्रष्टा र सिर्जनालाई  महत्व दिई  सामान्यतया जुनसुकै कार्यक्रममा महशुस हुँदै आएको काठमाण्डौ केन्द्रित मानसिकतालार्इ समेत तोड्ने प्रयास गरे जस्तो लाग्यो । स्थानीय मुद्दा र बहुलतालार्इ बहसमा उतार्ने प्रयासले पनि केन्द्रिकृत मानसिकतालार्इ तोड्न खोजे जस्तै लाग्यो । कार्यक्रमको समापनमा पनि प्रमुख अतिथिलार्इ मात्र भाषण गर्न लगाएका कारण समापन समारोहमा हुने पट्यार लाग्दो परम्परा तोडेकै महशुस भयो । यी केहि गलत परम्परा र थोत्रा मान्यता तोडेर कार्यक्रममा केहि नवीन अभ्यास गर्ने प्रयत्न भए पनि धेरै महत्वपूर्ण कुरा अझै तोड्न बाँकी छन् भन्ने कुरा समेत कार्यक्रमकै क्रममा गहिरोसँग अनुभुति भयो । आफ्नै बारेमा आत्मआलोचना गरेरै वा आफ्नै बारेमा प्रश्न गरेरै लोकतन्त्रमा निखार ल्याउन सकिन्छ भन्ने उर्जा कार्यक्रमकै क्रममा प्राप्त भयो । त्यस्तो उर्जाको उपयोग गरी यहाँ उक्त कार्यक्रमले तोड्न नसकेका केहि सवाललार्इ उजागर गरेर प्रश्न गर्ने जमर्को गरी कार्यक्रमबाट प्राप्त शिक्षा व्यवहारमै प्रयोग गर्ने प्रयास समेत गरिएको छ । यो जमर्को र प्रयासले कार्यक्रमकै क्रममा निकै तातो बहस भएको परिवर्तनको शुरूवात आफैंबाट भन्ने विषयको समेत सम्मान हुने मेरो व्यक्तिगत बुझाइ छ ।

नतोडिएका संस्कार

माथि उल्लेख गरिए जस्ता केही गलत परम्परा यो कार्यक्रममा तोडिएको अनुभुति भए पनि अन्य केही गलत मान्यता र परम्परा तोड्न अझै बाँकी रहेको कुरा समेत यहि कार्यक्रमका क्रममा निकै गहिरोसँग अनुभुति भएको छ । ती मध्ये आठवटा सवाललार्इ यहाँ चर्चा गर्न खोजिएको छ । एक, तोकिएको समयमा कार्यक्रम शुरू नहुने कुरा नेपालभरि नै एउटा अत्यन्तै गलत संस्कारकै रूपमा स्थापित भएको छ । यो गलत परम्परा यो कार्यक्रमका क्रममा पनि तोडिए जस्तो लागेन । निर्धारित समय भन्दा निकै ढिला मात्र कार्यक्रम शुरू भएबाट यहि कुरा पुष्टि हुन्छ । दुर्इ, कार्यक्रमलार्इ व्यवस्थित बनाउने क्रममा कार्यक्रम तालिका सहित सहभागीलार्इ पत्र काट्ने कार्य प्रशंसनीय नै भए पनि तालिकामा उल्लेख भएका कतिपय कार्यक्रम हेरफेर गर्ने कुराले कम तयारी गरेर अव्यवस्थित ढंगले हुने गरेका कार्यक्रमको परम्परा अझै नतोडिए जस्तो लाग्यो ।

तिन, कसैले कुनै कार्यक्रम गर्दा राजनीतिक गन्ध आउने गलत परम्पराबाट समेत यो कार्यक्रम मुक्त हुन सके जस्तो लागेन । कार्यक्रममा अमुक दलका अमुक व्यक्ति हावी हुने र अमुक दलका मानिसलार्इ वेवास्ता गर्ने भनेर हुने गरेका परम्परागत टीका टिप्पणी यस पटक पनि अनौपचारिक रूपमा प्रशस्तै सुन्न पाइयो । पर्यटन र साहित्य जस्ता सबै जनताका साझा सरोकारका विषयमा आयोजना भएको यस्तो कार्यक्रममा समेत यसरी गलत परम्परा तोडिएको अनुभुति हुन नसक्दा पक्कै पनि सकारात्मक सन्देश प्रवाह हुन सक्दैन होला । भलै कार्यक्रम कुनै राजनीतिक विचारबाट निर्देशित थियो वा थिएन भन्ने कुरा स्वयं आयोजक जानोस् । तर यदि नियतबस नै त्यसो गर्न खोजिएको थियो भने बिना राजनीतिक आग्रह पुर्वाग्रह कार्यक्रममा उपस्थित सहभागी माथि अन्याय हुन सक्ने कुराप्रति आयोजकवर्ग थप सजग र चनाखो बन्नै पर्छ । चार, कार्यक्रममा उपस्थित हुने सहभागी र वक्ताको सहजतालार्इ वेवास्ता गर्दै एकै दिन उही समयमा कार्यक्रम जुधाउने निकै गलत परम्परा यस पटक पनि नतोडिएकै देखियो । लगभग उही समयमा आयोजना भएको पहिलो दिनको संविधान दिवस र साहित्यिक महोत्सवका धेरै सहभागी र कतिपय वक्ता समेत एउटै व्यक्ति रहेछन् । यसरी साहित्यिक कार्यक्रमसँग पहिलो दिन संविधान दिवस र भोलीपल्ट साँस्कृतिक कार्यक्रम जुध्दा सहभागीले चाहेर पनि कतिपय कार्यक्रममा उपस्थित हुन नसकेको र वक्ताका कार्यक्रम जुध्दा कार्यक्रम तालिका नै हेरफेर गर्नुपर्ने अवस्था समेत सिर्जना भएको देखिएबाट कार्यक्रम जुधेर हुने असजिलो अवस्था तोड्न यो कार्यक्रम पनि असफल नै भएको निश्कर्ष निस्कियो ।

पाँच, जल्दाबल्दा मुद्दामा बहस गर्ने उद्देश्यले नै होला यस पटकको कार्यक्रममा सम्बन्धित क्षेत्रका विज्ञ तोक्ने र त्यही विषयमा विज्ञता हासिल गरेका व्यक्तिलार्इ नै सहजकर्ता तोकेर कार्यक्रममा नवीन चिन्तन र बहसलार्इ प्रमुखता दिने गरी कार्यक्रमको डिजाइन गरिएको । तर कतिपय अवस्थामा सहजकर्ताले विज्ञलार्इ प्रश्न सोध्नै असहज महशुस गर्ने र विज्ञले समेत प्रश्नको सहि उत्तर दिन चुकेको अनुभुति भएबाट यस्ता महत्वपूर्ण कार्यक्रममा समेत बिना तयारी प्रस्तुत हुने भद्दा संस्कृति विल्कुल तोड्न नसकेको निकै तितो अनुभुति भयो । कतिपय प्रस्तुतीमा त विज्ञबाट अपेक्षित उत्तर प्राप्त नभएको कुरा स्वयं सहजकर्ताले व्यक्त गरेको समेत पाइयो । कतिपय अवस्थामा विज्ञलार्इ सोधेको प्रश्न स्वयं सहजकर्ताले नै उत्तर दिदा प्रश्नकर्ताले खल्लो महशुस गरेको समेत पाइयो । छ, यस्ता कार्यक्रममा आफ्ना कुरा राख्ने तर अरूका कुरा नसुन्ने संस्कार नेपालमा निकै मौलाउँदै गएको छ । यो कार्यक्रममा पनि त्यस्तो गलत परम्परा तोडिएको अनुभुति भएन । विशेष गरेर कार्यक्रमका बक्ताका कतिपय कुरा एक अर्कासँग सम्बन्धित हुने र ती सवालमा प्रसंग जोडेर बहस सिर्जना गर्दा आउने रौनकको मज्जा पक्कै पनि छुट्टै हुन्थ्यो । तर कतिपय बक्ता आफ्ना कुरा राखेर कार्यक्रम स्थलबाट हराइदिदा बाँकी बक्ताले पूर्व बक्ताका प्रसंग जोड्दा पूर्व बक्ताको अभावकै कारण सहभागिलार्इ अलिक खल्लो भए जस्तो लाग्यो । त्यसकारण यस्ता कार्यक्रममा आफ्ना कुरा वा रचना अरूले सुनिदिउन् भनी चाहना राख्ने बक्ता र सहभागीले अरूका कुरा सुन्न पनि धैर्यता देखाउनु पर्छ भन्ने थिति बसाउन बक्ता र सहभागी दुवै चुकेकै पाइयो ।

सात, कार्यक्रम स्थलमा निकै महत्वका साथ कार्यक्रम भइरहने तर त्यहि कार्यक्रमले सम्बोधन गर्न खोजेका सहभागीहरू चाहिँ आफ्नै व्यक्तिगत गफमा रमाउने, बक्ताका कुरा नसुन्ने, फोटा र सेल्फी खिच्नमै व्यस्त रहने, आफू छलफलमा भाग नलिने अनि कसैले भाग लिएमा पनि तिनीहरूलार्इ समेत खुइल्याउने, कार्यक्रम स्थलमै ठूलो आवाजका साथ फोनमा कुराकानी गर्ने, मोवाइल साइलेन्टमा नराख्ने, छेउमा बस्ने सहभागीलार्इ भएको असजिलाका सम्बन्धमा कति पनि विचार नपुर्याउने, बिना कारण वरपर वा भित्र बाहिर दगुरेर कार्यक्रम स्थललार्इ अस्तव्यस्त बनाइदिने, आदिजस्ता गलत परम्परा यो कार्यक्रममा पनि नतोडिए जस्तो लाग्यो ।

आठ, कार्यक्रममा निकै बहस गरिएको एउटा प्रस्तुतीलार्इ नियाल्दा साहित्यको प्रमुख भुमिका रचनात्मक प्रतिपक्षको हुनु पर्छ भने जस्तो लाग्यो । यदि त्यसो हुन्थ्यो भने नेपाल आमाका अंग प्रत्यंग कुटुकुटु काटेर नेपाल आमाको अस्तित्व नै समाप्त पार्न लागेको भ्रष्टाचार जस्तो जल्दोबल्दो मुद्दामा पनि जमेरै बहस हुनुपर्थ्यो होला । तर गणतन्त्रका पक्षधर नै सरकार र प्रतिपक्षमा हावी भएका वखत गणतन्त्र खतरामा भन्ने बहस सिर्जना गरी बेमौसमको बाजा बजाएर भ्रष्टाचार जस्तो मुद्दा ओझेलमा परेको देख्दा निकै अचम्म लागेर आयो । गणतन्त्र खत्तरामा छ वा छैन भन्ने बहस गर्न खासै आवश्यक नभएको कुरा स्वयं बहसकर्ता समेत वताइरहेका थिए भने भ्रष्टाचारका विषयमा बहस गर्न उनीहरू स्वयं पनि खासै इच्छुक देखिएनन् । भ्रष्टाचार सम्बन्धि बहस आयोजकको रोजाइमा नपरे पनि एकजना सहभागीले भ्रष्टाचारका सम्बन्धमा प्रश्न गरेका थिए । तर बहसकर्ता र सहजकर्ता दुवैले त्यो प्रश्नलार्इ खासै महत्व दिएनन् । मुलुक निर्माणमा साहित्यले रचनात्मक प्रतिपक्षको भुमिका खेल्छ भनेर वकालत गरिरहँदा मुलुकमा दशकौंदेखि व्याप्त भ्रष्टाचारलार्इ ओझेलमा पारेर भर्खरै प्राप्त गणतन्त्रका सम्बन्धमा अनावश्यक बहस केन्द्रित गर्नुको रहस्य के हो ? खासै बुझ्न सकिएन । वास्तवमा वर्तमान समयमा नेपालको मुल मुद्दा भ्रष्टाचार उन्मुलन र गणतन्त्र खतरामा मध्ये कुन चाहिँ हुनु पर्ने हो ? यस प्रश्नले बेला मौकामा आयोजना हुने यस्ता महत्वपूर्ण कार्यक्रम समेत मुद्दाको प्राथमिकता निर्धारण गर्न चुक्ने गरेको गलत परम्परा यो कार्यक्रमले पनि तोड्न सके जस्तो लागेन । युवा बाहुल्यता रहेको यो कार्यक्रमले नेपालको प्रमुख दुश्मन भनेकै यत्रतत्र व्याप्त भ्रष्टाचार हो भन्ने अनुभुति गहिरोसँग गराउन सकेका हुन्थे भने यो कार्यक्रमको दीर्घकालीन महत्वमा थप बृद्धि हुन्थ्यो होला भन्ने मेरो ठहर छ । जे होस यी केही कमी कमजोडीका बाबजुद यो कार्यक्रम राष्ट्रिय महत्वका केही महत्वपूर्ण सन्देश प्रवाह गर्न पक्कै सफल भएको छ ।

मननीय तिन सन्देश

यो कार्यक्रमले प्रवाह गरेको सबभन्दा महत्वपूर्ण सन्देश हो, अरूको भन्दा बढि आफ्नै आलोचना गर्ने वा आत्मआलोचना गर्न तयार हुने । वास्तवमा हामी धेरै नेपाली अरूका बारेमा आलोचना गरेर कहिल्यै अघाउदैनौ । दोष जति सबै अरूकै टाउकामा मात्र थोपर्न तम्सिन्छौं । आफ्ना कमी कमजोडी पनि केहि छन् कि भनेर सोच्न कहिल्यै तयार नै हुँदैनौं । यहि कार्यक्रमका कतिपय बक्ताले समेत आत्मआलोचनालार्इ खासै आत्मसात् गर्न सके जस्तो लागेन । बरू अरूकै आलोचनामा बढि रमाउन खोजे जस्तो लाग्यो । एकले अर्कालार्इ यसरी दोषै मात्र थोपर्दा समाजमा गतिलो मान्छे चाहिँ एक जना पनि छैन कि क्या हो ? भनेर युवा पुस्ताका दिल दिमागमा पर्ने दुरगामी र नकारात्मक असरका बारेमा धेरैले कति पनि हेक्का राखेको देखिएन । यसरी अरूकै आलोचना मात्र गर्न तम्सिने अत्यन्तै गलत संस्कार हावी हुँदा समग्र नेपाली समाज नै खरावै खराव मान्छेको झुण्ड मात्र पो हो कि क्या हो भनेर प्रवाह भइरहेको अत्यन्तै गलत सन्देशका बारेमा हामी धेरैजसो जिम्मेवार भनिएका व्यक्ति नै खासै चिन्तित भएजस्तो पनि लाग्दैन । त्यो भन्दा पनि गम्भीर कुरा त अर्काको अनुपस्थितमा वा पिठ्यु पछाडि कुरा काटेर भरपुर मनोरञ्जन लिने अत्यन्तै भद्दा संस्कार जनजनका मन मष्तिस्कमा दरैसँग डेरा जमाएर बसे जस्तो लाग्छ । त्यसरी कुरा काटेर खेर जाने अमुल्य समय रचनात्मक कार्यमा लगाउँदा नेपाल र नेपालीको जीवनशैलीले कत्रो गुणात्मक फड्को मार्थ्यो होला भनेर आफ्नो गलत संस्कार परिवर्तन गर्न आफुलार्इ निकै बिद्धान दावी गर्ने व्यक्ति व्यक्तित्व समेत नराम्ररी चुके जस्तो लाग्छ । यसरी अरूको आलोचना मात्र गर्ने खेती दिन दुइ गुणा रात चार गुणाका दरले बृद्धि भइरहेको वर्तमान परिप्रेक्ष्यमा यस कार्यक्रमका केहि प्रमुख वक्ताहरूले अब अरूको आलोचनाभन्दा आत्म आलोचनालार्इ प्राथमिकता दिनुपर्ने कुरामा जोड दिनु निकै खुशीको कुरा हो । अरूको आलोचनामा मात्र रमाउने अत्यन्त थोत्रो संस्कार तोड्नै पर्छ भन्ने निकै महत्वपूर्ण सन्देश प्रवाह गर्न यो कार्यक्रम एकहदसम्म सफल भएजस्तो लागेको छ । त्यसमा पनि युवा बाहुल्यता रहेको उक्त कार्यक्रमका सहभागीले यस्तो आलोचनात्मक चेत विकास गर्न सके भने त्यो चेतको सकारात्मक र दीर्घकालीन प्रभावले नेपाली समाजमा निकै ठूलो तरङग पैदा गर्ने सम्भावनालार्इ नकार्न सकिदैन । भलै यति दीर्घकालीन महत्वको कुरा अनुभुति गर्न केही समय त पक्कै पनि धैर्यधारण गर्नुपर्ला ।

यो कार्यक्रमको दोस्रो महत्वपूर्ण सन्देश हो, गहन अध्ययन अनुसन्धानमा जोड । अध्ययन अनुसन्धानलार्इ प्रमुख पहिचान बनाउनुपर्ने विश्वविद्यालयहरू नै आज गुणस्तरीय र मौलिक अनुसन्धान गर्न चुकिरहेको अवस्थामा विश्वविद्यालयसँग प्रत्यक्ष रूपमा कमै सरोकार राख्ने साहित्य समाजले आयोजना गरेको कार्यक्रममा अनुसन्धानमा आधारित लेखनमा जोड दिनु धेरै नै महत्वपूर्ण कुरा हो । त्यसमा पनि सम्भावनै सम्भावनाका खानी युवावर्गको बलियो उपस्थितिमा भएको कार्यक्रममा यसरी अनुसन्धान जस्तो गहन कुराले महत्व पाउँदा ती युवावर्ग बेलैदेखि गुणस्तरीय अनुसन्धान कार्यमा हेलिन सक्ने सम्भावना थोरै नै भएपनि बढेको छ । यति सम्म कि आख्यानलार्इ बढि प्रभावकारी र पाठकप्रिय बनाउन पनि अनुसन्धानमा आधारित लेखनलार्इ नै जोड दिनु पर्छ भन्ने कुरा निकै ससक्त ढंगले उठ्यो । पर्यटनका सम्भावना पहिल्याउन पनि गहन अध्ययन अनुसन्धान हुनुपर्ने कुरा महत्वका साथ उठ्यो । कतिपय स्थानीय मुद्दा मध्ये नेपाली साहित्यमा मुन्दुम/मुन्धुम सम्बन्धि निकै रोचक र ज्ञानबर्द्धक दार्शनिक बहसमा अनुसन्धान र दर्शनका सम्बन्धमा गहन ढंगले नै चर्चा भयो । उन्मुक्त पुस्ता, फरक आयाम र कुकुर कविता जस्ता पछिल्ला साहित्यक आन्दोलनहरू र अधिकारको पेवासँग सम्बन्धित बहसहरूमा पनि धेरथोर अनुसन्धानको प्रभाव भेटिन्थ्यो । यसरी हरेक सफल लेखनकार्य, दार्शनिक बहस, र नयाँ साहित्यिक अभियानहरूको अन्तर्यमा अनुसन्धानमुलक सत्य तथ्यले बास गरेको हुन्छ भन्ने धेरै नै महत्वपूर्ण सन्देश प्रवाह गर्न यो कार्यक्रम एक हदसम्म सफल भएको छ । यसका लागि आयोजकवर्ग र बक्तालार्इ जति नै धन्यबाद् दिए पनि कमै हुने देखिन्छ ।

तेस्रो महत्वपूर्ण मुद्दाले पनि यो कार्यक्रममा चाहेर वा नचाहेर प्रवेश पाएको छ । त्यो हो, पात्र फेरिने तर प्रवृत्ति नफेरिने रोगले ग्रस्त नेपालमा अब प्रवृत्ति फेर्ने अभियान छेड्नु पर्छ भन्ने मुद्दालार्इ जब्बरजस्ती रूपमै भए पनि बहसमा ल्याउनु । वास्तवमा लगभग सात दशक अघिदेखि शुरू भएको नेपालको परिवर्तनको यात्रामा मुठ्ठीभर पात्रको जीवनमा मात्र परिवर्तन आउने तर अधिकांश जनताको जीवनस्तर जहिल्यै जहाँको त्यहिँ रहिरहने चक्र अब बाँकी राख्नु हुँदैन । यसका लागि अपारदर्शी ढंगले हुने आर्थिक चलखेल वा भ्रष्टाचारजन्य कृयाकलाप नै मुख्य बाधक भएकाले अब भ्रष्टाचार विरोधी अभियान निर्ममतापूर्वक छेड्नै पर्छ । नेपालसँगै परिवर्तनको यात्रा शुरू गरेका चीन र भारत आज विश्व शक्तिका रूपमा उदाइसके । तर प्राकृतिक साधन स्रोतले सम्पन्न यति शुन्दर मुलुक नेपाल चाहिँ विश्वकै भ्रष्ट र तन्नम मुलुक बन्ने प्रतिष्पर्धामा उत्रे झैं लाग्छ । नेपाल यसरी पछि पर्नुको प्रमुख कारण नै पात्र चाहिँ फेरिने तर प्रवृत्ति कहिल्यै नफेरिने जस्तो पट्यारलाग्दो गलत संस्कारकै पुनरावृत्ति हो भन्ने कुरामा सबैजसो वक्ता र सहभागी एकमत नै भएजस्तो लाग्यो । तर यसका लागि घरघर, टोलटोल, गाउँगाउँ र वस्तीवस्तीबाट नेपाल आमाको उज्जवल भविष्यलार्इ केन्द्रमा राख्ने एक सुत्रीय लक्ष्य बोकेर एकपटक सिङ्गो मुलुक जुरूक्कै जाग्नु पर्ने अनुभुति गराउन यो कार्यक्रम एकहदसम्म सफल भएको छ । यो अनुभुति कार्यान्वयन भएका दिन नेपाल आमालार्इ दशकौंदेखि सताइरहेका भ्रष्टाचार लगायत सम्पूर्ण विकृति र विसंगतिको दाह संस्कार हुन्छ होला भन्ने शन्देस प्रवाह गर्न समेत यो कार्यक्रम एक हदसम्म सफल भए जस्तो लाग्यो । यसरी यो कार्यक्रम मार्फत प्रवाह भएका यी तिन प्रमुख सन्देश मुलुकभरि छरौं । जनजनका मन मस्तिष्कमा यी तिनवटै शन्देस घुसाउन कुनै कसर बाँकी नराखौं । यति मात्र गर्न सक्ने हो भने यो कार्यक्रम पूर्ण रूपमा सफल भयो भन्न कति पनि कञ्जुस्यार्इ नगरे हुन्छ ।*

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार