संविधान दिवस : कतै उत्सव, कतै विरोध !

आधा घण्टा ब्ल्याक आउट

इलाम : आज असोज ३ गते । नेपालको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान जारी भएको दिन हो । जनताबाट चुनिएका प्रतिनिधिको संविधानसभाबाट यो संविधान २०७२ असोज ३ गते घोषणा गरिएको थियो ।

हरेक वर्ष सो दिनलाई संविधान दिवसका रूपमा निकै हर्षोल्लासका साथ मनाइँदै आएको छ । यस वर्षपनि संविधान दिवस भव्य रुपमा मनाउन सरकारले सार्वजनिक बिदा दिएको छ । संघीय सरकार, प्रदे शसरकार र स्थानीय सरकारले विभिन्न कार्यक्रम गरी हर्षोल्लासपूर्वक संविधान दिवस मनाउँदै छन् ।

नेपाली जनताले लामो समयसम्म गरेको त्याग, तपस्या र बलिदानबाट वर्तमान संविधानमा प्रतिबिम्बित भएको र जननिर्वाचित ऐतिहासिक संविधानसभाबाटै संघीय संविधान घोषणा भएको महत्त्वपूर्ण दिनलाई संवधान दिवसका रुपमा भव्यताका साथ मनाउन संघीय सरकारले निर्देशन नै दिएको थियो ।

सबैको अधिकार सुरक्षित गरेको संविधान घोषणाको दिन देशैभर सरकारले मात्रै नभइ आमनेपालीले खुसी साटासाट गरी भव्य रुपमा मनाउन आग्रह गरेको थियो ।

तर संविधानप्रति असन्तुष्टी जनाउँदै आएका अर्को पक्षले असोज ३ लाई विरोध स्वरुप कालो दिवस मनाउँदैछन् । संविधान जारी भएदेखि नै विरोध जनाउँदै आएको पहिचान पक्षधर राजनीतिक दल र उत्पीडित समुदायले कालो दिवस मनाउँदैछन् ।

राष्ट्रिय जनता पार्टी नेपाल, समाजवादी पार्टीको लिम्बुवान राष्ट्रिय समिति, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, राष्ट्रिय जनमुक्ति पार्टीसहित नेपालका आदिवासी जनजाति, दलित, मधेसी, मुस्लिमलगायतले असोज ३ लाई कालो दिनको रुपमा मनाउँदैछन् । विभेदकारी संविधान संशोधन गरी उत्पीडितहरुको अधिकार स्थापित नगरिएसम्म हरेक साल असोज ३ लाई कालो दिनकै रुपमा मनाउने उनीहरुको भनाई छ ।

‘असोज ३ लाई आदिवासी जनजाति, मधेसी, दलित, मुस्लिम, महिला, अपाङ्गता भएका व्यक्तिलगायत सम्पूर्ण उत्पीडितहरुमाथि धोका, षडयन्त्र, जालसाजी र विभेदन गरिएको रुपमा लिएका छौ,’ नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष जगत बारामले भने, ‘जबसम्म संविधान संसोधनमार्फत हाम्रो अधिकार स्थापित हुँदैन तबसम्म असोज ३ कालो दिनकै रुपमा मनाउँछौं ।’

असोज ३ गते दिउँसो ३ बजे जुलुससहित विरोध प्रदर्शन र साँझ ७ देखि साढे ७ बजेसम्म आधाघण्टा देशभर ब्ल्याकआउट गर्ने भएका छन् ।

समाजवादी पार्टी तटस्थ

सरकारमा सहभागी समाजवादी पार्टी भने सरकारको निर्णय विपरित तटस्थ बसेको छ । उसले सरकारको निर्णय अनुसार संविधान दिवसको खुसीयालीमा दिपावली नगर्ने र विरोधमा कालो दिवस समेत नमनाउने र त्यस्ता कार्यक्रममा सहभागी नहुने भएको छ ।

संविधान संसोधन गर्ने शर्तमा सरकारमा सहभागी भएको समाजवादी पार्टीले सातै प्रदेश राजधानीमा ‘संविधान संसोधनको अपरिहार्यता र आवश्यकता’ विषयक अन्तरक्रिया गर्दैछ ।

मस्यौदा संविधानको नै विरोध गर्दै नयाँ संविधान जलाएर कालो दिवस मनाएको समाजवादी पार्टी सरकारमा सहभागी भएपछि भने कालो दिवस मनाउन छोडेको छ । तर खुसीयालीमा दिपावली समेत गरेको छैन । दुवै खालका कार्यक्रममा सहभागी नभई तटस्थ भूमिकामा छ ।

सरकारमा भएका कारण कालो दिवस मनाउन नैतिक संकट पैदा भएको र संविधान दिवस मनाउन जनाधार कमजोर हुने भएकाले तटस्थ रहेको विश्लेषकहरु बताउँछन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार