युद्धका बेला अंगभंग भएकाहरुको फोटो र भिडियो प्रदर्शन (फोटो/भिडियो सहित)

  राम योङहाङ  182 पटक हेरिएको

इलाम : १० वर्षे सशस्त्र युद्धका बेला अंगभंग भएकाहरुको कथा संकलन गरेर विहीबार इलाम सदरमुकाममा फोटो र भिडियो प्रदर्शनी गरिएको छ ।

अपाङ्गता भएका द्वन्द्व पीडितको राष्ट्रिय सञ्जालको आयोजना ‘युद्धका जीवित स्मृतिहरु, १४ कथाहरु’ नामक फोटो र भिडियो प्रदर्शनी गरिएको हो ।

प्रदर्शनीमा देशभर छरिएर रहेका अपांगता भएका द्वन्द्व पीडितलाई संगठित गरेर १४ कथाका आवाज, फोटो र भिडियोमा रुपमा प्रस्तुत गरिएको छ । सशस्त्र द्वन्द्वका बेला युद्धरत दुवै पक्षबाट पाएको यातना, बिस्फोटक पदार्थ बिस्फोटन, गोली वा अन्य चोटका कारणले अपांगताका साथ बाँचेकाहरुको कथा फोटो र भिडियोमा समेटिएको राष्ट्रिय सञ्जालका अध्यक्ष सुरेन्द्र खत्रीले बताए ।

‘द्वन्द्वका क्रममा छाडिएको वेवारिसे बमबाट घाईते र अंगभंग भएकाहरुलाई राज्यले उचित सम्मान र सरक्षामा विशेष ध्यानाकर्षण गराउन हामीले अभियान सञ्चालन गरिरहेका छौं’ अध्यक्ष खत्रीले भने, ‘अहिलेसम्म राज्यले हामीलाई कुनै सहयोग गरेको छैन । हामी पनि केही गरेर बाँच्न सक्छौं । त्यसतर्फ राज्यको ध्यान जान आवश्यक छ ।’

द्वन्द्वको औपचारीक समाप्तिपछि युद्धका बेला बेवारीसे छाडिएका बम बिस्फोटमा परी अपांगता भएका व्यक्तिहरुको पनि यसमा कथा समेटिएको अध्यक्ष खत्रीले जानकारी दिए । कार्यक्रमका लागि इलाममा स्थानीय संयोजन मानव अधिकार मञ्च नेपाल इलामले गरेको थियो ।

१० वर्षे द्वन्द्वका समयमा देशभर १७ हजार भन्दा धेरैले ज्यान गुमाएका थिए भने १३ सय ५० भन्दा धेरै बेपत्ता भएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार