प्रा.डा. सञ्‍जीव उप्रेतीसँग तीन जिज्ञाशा

  अरुण नेपाल  184 पटक हेरिएको

अरुण नेपाल

राष्ट्रिय तथा अन्तराष्ट्रिय ख्यातीप्राप्त साहित्यकार राजनीतिज्ञ, विचारक तथा कलाकारहरूको सहभागितामा पर्यटन बर्ष २०२० लार्इ प्रवर्द्धन गर्दै “ पर्यटनका लागि साहित्य” भन्ने मुल नाराकासाथ यहि २०७६ साल असोज ३ र ४ गते इलाम साहित्य समाजले इलाम साहित्य महोत्सव आयोजना गर्दैछ । उक्त महोत्सवमा सहभागिता जनाउनका लागि कार्यक्रम तालिका सहितको पत्र प्राप्त भएपछि मनमा अनगिन्ति जिज्ञाशाको बर्षा भयो । मन मस्तिष्कमा मडारिएर आएका सबै जिज्ञाशा एउटै कार्यक्रम मार्फत सम्बोधन हुने सम्भावना पनि हुदैन । फेरि कार्यक्रम तालिका हेर्दै जाँदा तालिकामा उल्लेख भएका खाना, कार्यक्रम उद्घाटन र समापन बाहेक पन्ध्रवटा विभिन्न स्वादका कार्यक्रमका शीर्षक फेला परे । ती मध्ये पनि चौधवटा कार्यक्रममा तत् तत् क्षेत्रका विज्ञ स्वयं सहजकर्ता रहनुभएको देखियो । त्यसकारण विज्ञ सहजकर्ताले दर्शक श्रोताको मनोविज्ञान बुझेर ती चौधवटा कार्यक्रममा भरपुर आनन्द दिलाउन भरमग्दुर प्रयास गर्नु नै हुनेछ भन्ने कुरामा अविश्वास गरिरहनु पर्ने देख्दै देखिदैन ।

ती पन्ध्रवटा कार्यक्रम मध्ये क्रम संख्या तिनमा उल्लेख भएको “आलोचनात्मक चेत र लोकतन्त्र” शीर्षकको कार्यक्रमलार्इ प्रमुख सम्भाषणको रूपमा महत्व प्रदान गरी कार्यक्रमको शुरूमै राखिएको रहेछ । उक्त महत्वपूर्ण सम्भाषणका वक्ता चर्चित व्यक्तित्व प्रा.डा. सञ्जीव उप्रेती हुनुहुँदोरहेछ । वहाँको नाम देख्ने वित्तिकै वहाँले लगभग आठ बर्ष अगाडि अर्थात् २०६८ सालमा लेख्नु भएको निकै चर्चित पुस्तक “सिद्धान्तका कुरा” को झल्झली  याद आयो । पुस्तकभित्रका केही प्रसंग स्मरण भयो । पुस्तक पल्टाएरै केही चाख लाग्दा प्रसंग दोहोर्याएर पढें । त्यसरी पढ्दै जाँदा पुस्तकका विभिन्न पृष्ठमा उल्लेख भएका केही प्रसंग आजका दिनमा झन् धेरै सान्दर्भिक जस्तो लाग्यो । तिनै प्रसंगका सम्बन्धमा प्रा.डा. उप्रेती सरको ताजा धारणा चाहिँ के होला भनेर मनमा निकै कौतुहलता छायो । खुल्दुली भयो । उप्रेती सर इलाम आउनुभएको मौका पारेर यी विषयमा वहाँका ताजा धारणा बुझ्न पाउँदा कार्यक्रम थप चखिलो हुन्छ होला भन्ने ठानी पुस्तकका विभिन्न पृष्ठमा उल्लेख भएका केही अंश उदृत गरी निम्न तिन जिज्ञाशा सार्वजनिक रूपमै राख्ने जमर्को गरें । आशा छ, मेरो यो जमर्कोलार्इ आयोजकवर्ग र उप्रेती सरले सकारात्मक रूपमा ग्रहण गर्नु हुनेछ । साथै आयोजकवर्गले उप्रेती सरलार्इ यी जिज्ञाशाको जानकारी गराइदिनुहुनेछ र उप्रेतीसरले पनि कुनै न कुनै रूपमा यी जिज्ञाशाको सम्बोधन पक्कै गरिदिनु हुनेछ भन्ने कुरामा समेत आशावादी छु ।

जिज्ञाशा नं.  सिद्धान्तका सम्बन्धमा

प्रा.डा. उप्रेती सरले वहाँको चर्चित पुस्तक सिद्धान्तका कुराको पृष्ठ सातमा “सिद्धान्तलार्इ दैनिक जीवनका अनुभवसँग; समसामयिक संस्कृति, साहित्य र राजनीतिसंग तथा लोकतन्त्र र सामाजिक न्याय जस्ता अवधारणासँग जोडेर हेर्नु पर्छ” भन्नुभएको छ । सिद्धान्तलार्इ आज पनि विभिन्न पाटा र पक्षबाट व्याख्या एवं विश्लेषण गर्ने गरिएको छ । गहन अध्ययनको माग गर्ने सिद्धान्तका सम्बन्धमा चर्चा गर्न जोकोही सहज रूपमा तयार नै हुदैन । तयार भइहालेमा पनि सिद्धान्तलार्इ सरल र सहज ढंगले बुझाउनु फलामका चिउरा चपाए सरह हुने ठानिन्छ । यस्तो गहन विषयलार्इ “सिद्धान्तका कुरा” शीर्षकको पुस्तक मार्फत सिद्धान्त जस्तो गहन विषयमा अत्यन्तै सरल र सहज रूपमा स्पष्ट अवधारणा प्रस्तुत गरेर सिद्धान्त सम्बन्धि जिज्ञाशु पाठकलार्इ उप्रेती सरले ठूलो गुण लगाउनुभएको छ । उप्रेती सरले आठ बर्ष अगाडि उक्त पुस्तक लेख्दा सिद्धान्त सम्बन्धि जति सामग्री उपलब्ध थिए, झण्डै एक दशक पछि सिद्धान्तलार्इ बुझ्ने सवालमा पक्कै पनि थप सामग्री र परिस्कृत विचारको विकास भएकै छ । हुनु पर्छ । त्यसमा पनि उत्तर आधुनिकबादको चर्चा चुलिदै गएको वर्तमान अवस्थामा सिद्धान्तलार्इ कसरी सरल र सहज ढंगले बुझ्ने होला भनी उप्रेती सरले थप प्रष्ट पारिदिनुहुन्छ कि भन्ने अपेक्षा सहित सरसमक्ष सिद्धान्तका सम्बन्धमा यो पहिलो जिज्ञाशा राख्ने जमर्को गरिएको हो ।

जिज्ञाशा नं. शिक्षक र विद्यार्थीको सिर्जनात्मक चेतका सम्बन्धमा 

प्रा. डा. उप्रेती सरले २०४५ सालमा त्रि.वि. केन्द्रिय अंग्रेजी विभागमा पढाउन थाल्नुभएको कुरा उक्त पुस्तकको पृष्ठ पचासीमा पढ्न पाइयो । सोही पृष्ठमा यहाँले विप्लव ढकालको लामो कविता “प्रोफेसर शर्माको डायरी”को प्रसंग समेत उल्लेख गर्नु भएको छ । शर्माको डायरीसँग प्रसंग जोड्दै पृष्ठ उनानब्बेमा यहाँले भन्नुभएको छ — “ज्ञान कुनै सर्वकालिक डायरीको पानामा सँधैको निम्ति बाँधिने अपरिवर्तनशील बस्तु होइन । त्यसैले डायरी हराएमा नयाँ र पूराना कुनै पनि प्रोफेसरले मूर्छित वा विक्षिप्त हुनुपर्ने विल्कुलै आवश्यकता छैन । ज्ञान त विद्यार्थी र शिक्षक मध्येको दैनिक अन्तर्क्रियाबाट उत्पन्न हुने परिवर्तनशील सत्य हो । त्यसैले डायरी हराएमा प्रोफेसर शर्माहरू आत्तिहाल्नु पर्दैन । बरू विद्यार्थीलार्इ इमान्दारीपूर्वक भने पुग्छ — आज मेरो डायरी हराएको छ । आज म बोल्दिन । बरू तपाइहरूकै कुरा सुन्छु । तपाइहरूबाटै सिक्छु । शिक्षण पेशामा कहिले कहिँ यस्ता क्षण पनि आउँछन्, जब शिक्षक विद्यार्थी बन्न पुग्छन् र विद्यार्थी शिक्षक । आफ्नै विद्यार्थीबाट सिक्न पाइने ती क्षणलार्इ नयाँ र पूराना दुवै किसिमका प्रोफेसरले त्रासदीका रूपमा नलिएर गर्वका रूपमा लिन सक्नु पर्छ । यसो हुन सकेको खण्डमा सायद डायरी हराएको क्षण विक्षिप्तता र पीडाको क्षण नभएर सिर्जनात्मक सम्भावनाको क्षण बन्न सक्नेछ ।”

प्रा.डा. उप्रेती सरले आठ बर्ष अगाडि लेखेको उही पुस्तकमा उल्लेख गर्नु भएको उक्त सन्दर्भ नेपालको वर्तमान सन्दर्भमा झन् बढि खड्किए झै लाग्छ । कहिले कहिँ त परीक्षामुखी र घोकन्ते शिक्षाले अनन्त सम्भावना बोकेका होनाहार युवा विद्यार्थीवर्गको सिर्जनात्मक र आलोचनात्मक चेत खर्लप्पै खाइदिए जस्तो अनुभुति हुन्छ । प्रत्येक व्यक्तिको मन मस्तिष्कको पनि गहिराइसम्म अकल्पनीय प्रभाव पार्न सक्ने सिर्जनात्मक एवं आलोचनात्मक चेत जस्तो सम्बेदनशील विषयमा चाहिँ यहाँको ताजा धारणा के होला भनी थाहा पाउने तिव्र चाहना भएकाले यो जिज्ञाशा यहाँसमक्ष पस्कने जमर्को गरिएको छ । विशेष गरेर सम्भावनै सम्भावनाका खानी युवा विद्यार्थीवर्गलार्इ सरल र सहज रूपमा सिर्जनात्मक एवं आलोचनात्मक ढंगले सोच्ने, विचार गर्ने र नवीन विषय पस्कन सक्ने बनाउन विश्वविद्यालयका कक्षा कोठालार्इ के कसरी अधिकतम उपयोग गर्न सकिएला भन्ने विषयमा थप प्रष्ट हुन पाए हुन्थ्यो भन्ने अपेक्षा सहित यो जिज्ञाशा राखिएको हो ।

जिज्ञाशा नं.  अंग्रेजी र मौलिक भाषा संस्कृतिका सम्बन्धमा 

अंग्रेजी भाषा र नेपालका मौलिक भाषा संस्कृतिका सम्बन्धमा आफ्ना विचार प्रस्तुत गर्दै प्रा.डा. उप्रेती सरले उही पुस्तकको पृष्ठ दुर्इ सय छ मा भन्नुभएको छ — “अंग्रेजी भाषा सिक्नु, पश्चिमी संगीत सुन्नु, पश्चिमी चित्रकला र साहित्यको आनन्द लिनु आफैंमा गलत काम होइन । समसामयिक विश्वमा हामीले पश्चिम र पूर्व दुवैलार्इ बुझ्नु पर्छ । दुवैलार्इ बुझ्दै संसारलार्इ हेर्ने द्धैत दृष्टिको विकास गर्दै लानु पर्छ । तर पश्चिमेली भाषा साहित्य र संगीत नेपालका भाषा संगीत र साहित्यहरू भन्दा साँस्कृतिक दृष्टिले उच्च छ भनेर अड्कल काटिहाल्नु गलत कुरा हो । यस्तो बुझाइले हामीलार्इ पश्चिमको साँस्कृतिक दास मात्र बनाइराख्छ । यस्तो दास जुन राजनीतिक दृष्टिले त स्वतन्त्र छ, तर मानसिक र साँस्कृतिक रूपले बाँधिएको । टाइको साँस्कृतिक साङ्लोमा बाँधिएर खलखल पसिना बगाउँदै हिडेका ती स्कुले विद्यार्थी झैं ।”

नेपालका मौलिक भाषा र संस्कृतिलार्इ ओझेलमा पार्दै आएको अंग्रेजी भाषाप्रतिको मोह सर्वसाधारण नेपाली जनतामाझ आज पनि उत्तिकै बढ्दै गएको देखिन्छ । संसारका धेरै भागमा फैलिएको अंग्रेजी भाषाको प्रभावबाट नेपाल जस्ता मुलुक मुक्त हुने कुरै भएन । उप्रेती सरले माथि नै भन्नु भए झैं अंग्रेजी भाषा जान्नु पनि आफैंमा गलत कुरा भएन । तर प्राथमिक तहसम्मको शिक्षा मातृ भाषामै ग्रहण गर्नुपर्ने संवैधानिक प्रावधान हुँदाहुँदै संविधानमा कहि कतै उल्लेखै नभएको अंग्रेजी भाषालार्इ प्राथमिक तहदेखि नै पढाउन तँछाड मछाड भइरहनु निकै अनौठो विषय भएको छ । यति सम्म कि सरकारी विद्यालयमा घट्दै गएका विद्यार्थीको संख्या बढाउने एउटा महत्वपूर्ण कडी बन्दैछ प्राथमिक तहमा अंग्रेजी माध्यमबाट पठन पाठन गराउने कुरा । यसरी नेपाली समाजमा देखिएको बढ्दो अंग्रेजी मोह र कम्तिमा प्राथमिक तहसम्मको शिक्षा मातृ भाषामा प्रदान गर्नु उत्तम हुने निश्कर्षकासाथ  त्यसरी पठन पाठन गर्ने प्रावधान सहित गरिएको संवैधानिक व्यवस्था जस्ता एक अर्कामा विपरित जस्तो लाग्ने सम्बेदनशील विषयमा के कसरी सन्तुलन मिलाएर अघि बढ्न सकिएला भन्ने पेचिलो मुद्दाका सम्बन्धमा थप प्रष्ट हुने अपेक्षा सहित उप्रेती सरसमक्ष यो तेस्रो जिज्ञाशा राखिएको छ ।

आशा एवं विश्वास छ, प्रा.डा. उप्रेतीसरले प्राकृतिक सौन्दर्यताकि धनी इलामको शुन्दर भुमीमा उपस्थित भएर उक्त तिन जिज्ञाशाका सम्बन्धमा वहाँका उस्तै शुन्दर विचार पस्कदै जिज्ञाशु पाठक, दर्शक र श्रोतालार्इ अविस्मरणीय गुण लगाउनुहुनेछ । इलामे श्रोता र दर्शकका मन मस्तिष्कमा सदा सर्वदा डेरा जमाउन सफल हुनुहुनेछ । यहि आशा, अपेक्षा र विश्वास सहित प्रा.डा. सञ्जीव उप्रेती सर र उक्त साहित्यिक महोत्सवमा पाल्नुहुने सम्पूर्ण अतिथि गणलार्इ इलाममा हार्दिक स्वागत छ । यहाँहरूको इलाम बसाइ अत्यन्तै सुखद र पूर्ण रूपमा सफल रहोस् । यहाँहरूलार्इ बारम्बार इलाम आइरहन मन लागिरहोस् । पटक पटक यस्तै गहन साहित्यिक र बौद्धिक कार्यक्रममा जम्न पाइराखियोस् । पर्यटनका लागि साहित्यको नारा व्यवहारमै अनुभुति हुन सकोस् । हार्दिक शुभकामना । *

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार