लिम्बूहरुको चिहान खनेर खेलमैदान बनाएकोमा चुम्लुङको आपत्ति

प्रमुख माबुहाङको क्षमायाचना

  नयाँ बुलन्द
7 Shares

काठमाडौं : किरात याक्थुङ चम्लुङले तेह्रथुमको लालिगुराँस नगरपालिकामा आदिवासी लिम्बुहरुको समाधिस्थल मासेर खेल मैदान बनाइएकोप्रति आपत्ति प्रकट गरेको छ ।

चुम्लुङका अध्यक्ष योगराज लिम्बूले मंगलबार एक प्रेस विज्ञप्ती निकाल्दै उक्त कार्यको विरोध गर्न तथा सांस्कृतिक अतिक्रमणविरुद्ध एकजुट हुन अपिल गरेका छन् ।

लालिगुराँस नगरपालिकाका मेयर अर्जुन माबुहाङ हुन् । पछिल्लो समय उनले आफूलाई पहिचान र संस्कृति संरक्षकको छबि बनाएका थिए ।

नगरपालिकाको वडा नं ५ दागपा सल्लेरी बहुउदेश्यीय सामुदायिक उपभोक्ता समितिको परिसरमा रहेको लिम्बू आदिवासीहरुको चिहान भत्काएर खेल मैदान बनाइएको पाइएपछि चुम्लुङले आपत्ति जनाएको हो ।

‘लालिगुराँस नगरपालिका–५ दागपा सल्लेरी बहुउदेस्यीय सामुदायिक उपभोक्ता समितिको परिसरमा रहेको लिम्बू आदिवासीहरु लगायतको समाधिस्थल मासेर खैल मैदान बनाएकोप्रति यस संस्थाबाट गम्भीर आपत्ति प्रकट गर्दै विरोध गर्दछौ,’ विज्ञप्तीमा भनिएको छ, ‘समाधिस्थल आफैमा सांस्कृतिक, पुरातात्विक पवित्रस्थल हुन् । यी स्थलहरुलाई राज्यद्वारा संरक्षण हुनुपर्ने व्यवस्थाहरु आईएलओ १६९, आदिवासी अधिकार सम्बन्धी अन्तर्राष्ट्रिय घोषणापत्र, यस सम्बन्धमा सर्वोच्च अदालतबाट भएको फैसला नेपालको संविधानले प्रष्ट पार्दापार्दै राज्यको एक जिम्मेवार अंग लालिगुराँस नगरपालिकाको सहयोगमा यस्तो कार्य हुन गएकोमा निन्दा र भत्र्सना गर्दछौ ।’

नगरपालिकाका मेयर माबुहाङले पनि मंगलबार नै विज्ञप्ती निकालेर खेल मैदान खन्ने क्रममा अञ्जानबास तिलिङ लिम्बू जातिको चिहान खनिन गएकोमा क्षमा मागेका छन् ।

विज्ञप्तीमा उनले स्थानीयको सहमति अनुसार नै खेल मैदान निर्माण गरिएको जनाएका छन् । यसबारे थप छलफल गर्नका लागि आगामी असोज ३ गते विहान ११ बजे नगरपालिकामा बैठक राखिएकोले सो बैठकमा सहभागी हुन चुम्लुङ लगायत आदिवासी जनजाति महासंघ र सरोकारवाला निकाय र व्यक्तिहरुलाई आग्रह गरिएको छ ।

सार्वजनिकबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार