
इलाम : इलाममा सञ्चालित माछा तथा मासु पसलहरु सरकारले तोकेको मापडण्ड अनुसार नभएको पाइएको छ । इलाम नगरपालिकाको संयोजनमा मंगलबार गरिएको अनुगमनका क्रममा त्यस्तो पाईएको हो ।
इलाम नगरपालिकाकी उपप्रमुख सुशिला नेम्बाङको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, पशुसेवा शाखाको प्रतिनिधिले अनुगमन गरेका थिए । उनीहरुले इलाम बजारका विभिन्न १९ वटा माछा र मासु पसलको अगुगमन गरेको थियो ।
अनुगमनका क्रममा केही माछा मासु पसलमा मुल्य सूची नराखिएको, व्यवसाय दर्ता गरेपनि नवीकरण नगरेको, हातहतियार जथाभावी राखिएको, हातहतियारमा खिया लागेको, अचानो राम्ररी नपखालेको, पानीको उचित प्रवन्ध नगरिएको पाइएको थियो ।
‘हामीले जति पसलमा अनुगमन गर्यौ, प्राय सबैमा नेपाल सरकारले तोके अनुसार मापदण्ड पाएनौं’ अनुगमनका नेतृत्व गरेकी इलाम नगरपालिकाकी उपप्रमुख शुशिला नेम्बाङले भनिन्, ‘तत्काल मापदण्ड पूरा गर्न स्थलगत रुपमा नै सुझाव दिएका छौं । आगामी दिनमा समेत अटेर गरे थप प्रक्रिया अगाडी बढाउनेछौं ।’

उपप्रमुख नेम्बाङले पशु बध गर्ने निश्चित स्थान नभएको, पसलहरु व्यवस्थित नभएको तथा बधशालामा आवश्यक सबै सामाग्री नराखिएको बताइन् ।
नेपालीहरुको चाडपर्व दशैँ, तिहार नजिकिँदै गर्दा बढी मासु खपत हुने गरेको छ । यसै समयमा जस्तो पायो तेस्तो मासु बेच्ने गरेको गुनासो आउने गरेकाले चाडपर्वको मुखमा अनुगमन गरिएको इलाम उपप्रमुख नेम्बाङले बताइन् ।
केही वर्ष अगाडीसम्म जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा अनुगमन हुने गरेको थियो । तर राज्य पुनरसंरचनामा गइसकेपछि सम्बन्धित स्थानीय तहले नै बजार अनुगमन गर्ने गरेको छ ।






















































