उचित मूल्य पाएपछि इलामका अदुवा किसान उत्साहित

  नयाँ बुलन्द  81 पटक हेरिएको

news

इलाम : उचित मूल्य पाएपछि इलामका अदुवा किसान खुशी भएका छन् । उत्पादनमा कमी तथा भारत निर्यात गर्न सहज भएका कारण झण्डै ४ गुणा मूल्य वृद्धि भएपछि किसान उत्साहित बनेका हुन् ।

गत वर्ष प्रतिमन अर्थात् ४० किलोग्राम अदुवाको मूल्य एक हजारदेखि पन्ध्र सय रुपैयाँको हाराहारीमा भएकामा यस वर्ष बढेर ६ हजार रुपैयाँ पुगेको छ ।

अघिल्लो बर्ष निकासीमा भारतले अवरोध गरेपछि उत्पादित अदुवा निर्यात गर्न निकै समस्या थियो ।

जसका कारण लगानी पनि नउठेको भन्दै व्यावसायिक खेती गरिरहेका अधिकांश कृषकहरुले यो वर्ष अदुवा खेती गरेका थिएनन् ।

अदुवाको उत्पादनमा ५० प्रतिशतले कमी आएपछि मूल्य भने ४ गुणाले बढेको हो ।

उत्पादन कम हुनु र भारत निकासीमा सहज हुनुले अदुवाको भाउ राम्रो आएको अदुवा व्यापारी कृष्ण पौडेलको भनाइ छ ।

फागुन, चैत्र महिनामा रोपिएको अदुवा अहिले फलिसकेको छ ।

पहिले रोपिएको अदुवा पनि झिकेर पुनः प्रयोग गर्न सकिने भएकाले यसबाट खासै नोक्सानी बेहोर्नुनपर्ने कृषकको भनाइ छ । अदुवाले राम्रो मूल्य पाएपछि कृषकहरु खुसीले दंग छन् ।

गाउँका स्थानीय व्यापारीले अदुवा किनेर जिल्लाका ठुला व्यापारीलाई दिने गरेका छन् ।

विगत वर्षदेखि नै इलामको अदुवा भारतीय बजारमा निकासी हुँदै आएको छ ।

मेची राजमार्गले छोएका जिल्लाका व्यापारिक केन्द्र कोल्बुङ, हर्कटे, फिक्कल, तीनघरे, इलाम, बिब्ल्याँटे, राँकेलगायतका स्थानमा यस पटक उच्च मूल्यमा अदुवा खरिद विक्रि भइरहेको छ ।

अदुवाबाट मसला, सुठो, सेन्ट, जाम, क्यान्डी, स्याम्पु लगायत बनाउन सकिन्छ । प्रदेश नम्बर १ का १४ जिल्लामध्ये पाँच जिल्लामा व्यावसायिक अदुवा खेती हुने गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार