उत्पादन घटेसँगै आलुको वीउ पाउन समस्या !

इलाम : यो वर्ष इलामको लेकाली भेगमा लामो समय तुसारो र असिना पानी आएकोले आलु उत्पादन घटेको छ । उत्पादन घटेपछि आलुको भाउ समेत ह्वात्तै बढेको  छ ।

विगत वर्षमा आलुको उत्पादन अध्याधिक भएकोले इलामको उत्तरी भेगमा भारतीय व्यापारीहरु आएर नेपाली आलु भारतीय बजारसम्म पुर्‍याउने गर्दथे । यसरी घरघरमा भारतीय व्यापारी आएर राम्रो मुल्यमा आलु किनेर भारतीय बजारसम्म पुर्‍याउने हुँदा लेकाली किसानले बर्सेनि आलु खेती बिस्तार गर्दै आइरहेका छन् ।

तर यसवर्ष  तुसारो र असिना पानीले आलु उत्पादनमा ह्रास आएसँगै भारतीय व्यापारी एक जना पनि नछिरेको माइजोगमाईका अनप्रसाद राई बताउँछन् ।आलु कम उत्पादन हुँदा लेकाली क्षेत्रमा सब्जीको अनिकाल हुनसक्ने उनी बताउँछन् ।

माईजोगमाइका यसोदा राई महिनौ दिन दुख गरेर रोपेको आलु बँदेलसँग रातदिन जाग्राम बसेर जोगाउन सफल भएपनि असिना पानीबाट बचाउन नसकेको बताउँछिन् । लेकमा उत्पादन भएको आलु इलामको तल्लो भेगमा हिउँदे आलु रोप्नका लागि लेकको आलुको वीउ ल्याउनुपर्छ  । तर यसवर्ष लेकमा आलु छैन कहाँ बाट ल्याएर रोप्ने भन्ने चिन्ताले पिरोल्न थालेको माईजोगमाइका दिपक दहाल बताउँछन् ।

असोज अन्तिमदेखि कात्तिकभित्र हिउँदे आलु रोप्नुपर्छ । बर्खे आलु पुस माघमा रोप्ने गरिन्छ । हिउँदे आलुको वीउ पहिलै जोहो गरेर राख्ने तल्लो भेगका स्थानीय आलु किसान यसवर्ष आलुको बीउ नपाएर जोहो गर्न पाएका छैनन् ।

लेकमा यो वर्ष उम्रेर फल लाग्ने समयमा लगातार असिना र हिउँ परेकोले आलु नफलेपछि बजारमा पनि बर्खे आलु कममात्र देखा परेको छ । बिगत वर्षमा प्रतिमन लेकाली आलु १२ देखि १५ सयसम्म रुपैयाँसम्म पर्दथ्यो । यो वर्ष ३ हजार प्रतिमन पुगेपनि आलु नपाइने माईजोगमाइका धनप्रसाद लिम्बूले बताए । उनले सयौं मन आलु नजिकैको नयाँ बजार पुर्‍याउने गर्दथे । यो वर्ष मुस्किले १० मन मात्र पुर्‍याएको लिम्बूले नयाँ बुलन्दलाई बताए ।

लेकाली भेगमा आलुको उत्पादन घटेकोले नै इलामको  स्थानीय गाउँपालिकाहरुको वडासम्म भारतीय आलुहरु आउन थालेका छन् । माइजोगमाइका आलु व्यापारी पासाङ शेर्पा आफूलाई धेरै ठाउँबाट आलुको माग आएपनि यो वर्ष आलु नभएकोले माग पूरा गर्न नसकेको बताउँछन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार