लिम्बू विद्यार्थी मञ्चको महाधिवेशन असोज दोश्रो साता ताप्लेजुङमा

ताप्लेजुङ : लिम्बू विद्यार्थी मञ्चको नवौं राष्ट्रिय महाधिवेशन सुदुर पूर्व ताप्लेजुङको मुकाम फुङ्लिङमा असोज १२, १३ र १४ हुने भएको छ ।

लिम्बू विद्यार्थी मञ्चका केन्द्रीय अध्यक्ष फिपराज बेघाले राष्ट्रिय महाधिवेशनको मिति तय गरेसँगै तयारीलाई तीब्रता दिन थालेको पनि जानकारी दिए । बेघाले हाल महाधिवेशनको तयारी स्वरुप विभिन्न जिल्ला, क्याम्पस र माध्यमिक विद्यालयहरुमा मञ्चको शाखा अधिबेशन गर्दै आएको बताए ।

‘मातृभाषामा व्यवहारिक शिक्षा हाम्रो अभियान, सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालमा स्वायत्त लिम्बुवान’ भने नाराका साथ आयोजना गर्न लागिएको महाधिवेशनमा १३ वटा जिल्ला शाखा र क्याम्पस साथै माध्यमिक विद्यालयका विभिन्न शाखा गरी करिव ३ सय जना प्रतिनिधि सहभागी हुने छन् । पूर्वका नौ जिल्लाहरु ताप्लेजुङसहित, पाँचथर, इलाम, तेह्रथुम, झापा, मोरङ, सुनसरी, धनकुटा, संखुवासभा साथै उपत्यकाका काठमाडौं, भक्तपुर र ललितपुर तथा चितवन शाखाका प्रतिनिधि महाधिवेशनमा सहभागी हुने मञ्चका केन्द्रीय उपाध्यक्ष जलन आङ्बुहाङले जानकारी दिए ।

आङ्बुहाङका अनुसार लिवि मञ्चको विधानबमोजिम प्रत्येक जिल्ला शाखाबाट तीन/तीनजना, क्याम्पसबाट दुई र माविबाट एकजनाका दरले प्रतिनिधि छनोट हुनेछन् । सङ्घीय शिक्षा प्रणाली, मातृभाषा, धर्म, संस्कृति, मुन्धुमसम्बन्धी अवधारणको निर्माणबारे र मञ्चको कार्य्दिशा, नीति, विधान परिस्कृत समेतमा महाधिवेशन केन्द्रित हुने उनले बताए । यस्तै महाधिवेशनलाई आर्थिक मितव्ययिताको सिद्धान्तलाई प्रयोग गर्दै पाँच लाख रुपियाँ मात्र खर्च गर्ने योजना बनाएको पनि मञ्चले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार