नेपालमा मानव अधिकारलाई चुनौति दिदैं एसिड आक्रमण बन्दैछ मुद्दा

  भावना लुइटेल  146 पटक हेरिएको

भावना लुइटेल

विश्वमा सन् १९४८ डिसेम्बर १० मा विश्विवव्यापी रूपमा मानव अधिकार सम्बन्धी घोषणापत्र लागू गरियो । त्यसैलाई पछ्याउँदै नेपाल अगाडि बढिरहेको छ । २०६२/०६३ को आन्दोलनपश्चात तत्कालिन राजा ज्ञानेन्द्रले ०६३ वैशाखमा जनताको अधिकार जनतालाई नै दिने घोषणा गरेपछि नेपालमा राजतन्त्र समाप्त भई लोकतन्त्रको स्थापना भएको थियो । अझ २०६३ सालको संविधानले जनताका अधिकारहरू सुनिश्चत गर्ने सङ्कल्प गर्दै मानव अधिकारलाई संविधानमा नै समावेश गरेको थियो । त्यसपश्चात महिला अधिकार, बाल अधिकार जस्ता कुराहरूलाई संविधानमा हकका रूपमा नै उल्लेख गरेर अगाडि बढेको थियो । अझ नेपालको संविधान २०७२ ले मानव अधिकारका रूपमा भाग ३ मा ३१ वटा मौलिक हकको व्यवस्था गर्दै प्रत्येक व्यक्तिको समाजमा स्वतन्त्र रूपमा बिनाडर, बिना भेदभाव बाँच्न पाउने अधिकारको सुनिश्चित गरेको छ । साँच्चै सही रूपमा कार्यान्वयन भइरहेको छ त ? आजको नेपाली समाजमा महिलाहरूमाथि गरिने एसिड प्रहार सामान्यजस्तो बन्दै गइरहेको छ र विकारल रूप लिँदैछ ।

पूर्वीय भेगको तुलनामा पश्चिमी भेगमा यस्ता घटनाहरू बढी घट्ने गरेको पाइन्छ । एसिड प्रहार मात्र हैन महिलाहौमाथि हुने बलत्कार, किडन्यापिङ, बेचबिखन, दाइजोका निहुमा जिउँदै जलाउने तथा घरायसी हिंसाका घटना कैयौं छन् र बढ्दै गइरहेका छन् । कतिपय घटना पुलिसमा दर्ता गरिन्छन्, मुद्दाका रूपमा उठाइन्छ तर अपराधी पत्ता लगाउन सकेको ईतिहास भने कमै पाइन्छ भने कतिपय त घटनाको पुलिस दर्ता नै हुन पाउँदैनन् र भए पनि कानुनद्धारा नै लुकाउने काम गरिन्छ । तथ्यका लागि निर्मला हत्याकाण्डको विश्लेषण गर्दा सामूहिक बलत्कार गरि हत्या गरिएकी कञ्चनपुरकी निर्मला पन्तको लास उखुबारीमा भेटिएको २ वर्ष बित्न लाग्दा पनि अपराधी किन पत्ता लाग्न सकेको छैन ?

मानव अधिकार, बाल अधिकार र महिला अधिकारको कार्यान्वयन यही हो ? बलत्कारका अलावा अहिले देखिइरहेको आम मुद्दामा एसिड आक्रमण बन्दै गइरहेको छ । २०७१ फागुन १० गते देशको राजधानी काठमाडौंमा दुई किशोरीमाथि एसिड आक्रमण गरिएको थियो । एसएलसी दिने तयारीमा रहेका सङ्गीता मगर र सीमा बस्नेतमाथि ए “प्लस टु ट्युसन सेन्टर” मा ट्युसन कक्षाभित्रै पसेर जीवन विकले एसिड प्रहार गरेका थिए । उक्त घटना देशव्यापी मुद्दा पनि बन्न पुगेको थियो । त्यसैगरी २०७५ अश्विनमा रौतहटमा २० वर्षीया सम्झनाकुमारी दास र १५ वर्षीया सुस्मिता कुमारीलाई रामबाबु पासवानले एसिड आक्रमण एसिड आक्रमण गरेका थिए।त्यसैगरी २०७५ अश्विनमै नवलपरासीमा २० वर्षीया बसन्ती परियारमाथि ३७ वर्षीय विमल श्रीपालीले एसिड आक्रमण गर्नुका साथै छुरा प्रहार समेत गरेका थिए । यस्ता घटनाहरू देशमा घट्ने क्रममा नै रहेका छन् र घटिरहेका छन्।थोरै मात्र घटना बाहिर ल्याइन्छन् भने अधिकांश समाजमै लुकाइन्छन् । यसैगरी अन्तिम तथ्यअनुसार २०७६ भाद्र २० गतेवीरगन्ज वडा नम्बर ५ गणेशमान चोकमा विद्यालय जाने क्रममा ६:३० बजे कक्षा ९ मा अध्ययनरत मुस्कान खातुनमाथि १६ वर्षीय संसाद मिया र १७ वर्षीय मजिद आलमद्धारा एसिड प्रहार गिएको छ । एसिड छाती र अनुहारमा प्रहार गरिएको थियो ।

जीवन विक, रामबाबु पासवान, विमल श्रीपाल, संसाद मिया र मजिद आलमजस्ता सिकारी समाजमा पलपलमा जन्मिरहेका हुन्छन् । यसरी एसिड पर्हार गर्नेलाई पक्राउ गरियो, अनुसन्धान गरिय‍, जेल पनि राखियो तर के घटना भइसकेपछि अपराधी समातेर जेल हाल्दा मात्र समाजबाट समस्या हटेर जान्छ त?त्यसैले सामान्य कानुन मात्र नभएर कडाभन्दा कडा कानुन बनाइनु जरूरी छ । अपराधीलाई आजीवन काराबास वा फाँसी समेतको सजाय सुनाएर २/३ पटक कार्यान्वयन गरिसकेपछि मात्र अर्को व्यक्तिले यस्तो अपराध पु:न दोहोर्याउने आँट नगर्लान् कि भन्न सकिन्छ । उल्लेखित घटनाहरू उदाहरणका रूपमा छन् । समाजमा कैयौं युवतीहरूमाथि गरिने एसिड प्रहारको घटना बढ्दो छ । उक्त तथ्यहरूलाई मध्यनजर गरेर हेर्दा एसिड आक्रमण अधिकांश रूपमा किशोरीहरूमाथि हुने गरेको देखिन्छ । अक्सर १५-२० वर्षसम्मका किशोरीहरू यो समस्याबाट पीडित बनिरहेका छन् । अनुसन्धानबाट व्यक्तिगत तथा पारिवारिक रिसीविका कारण एसिड प्रहार गरिने गरिएको तथ्य पत्ता लागेको छ।अर्कोतर्फ एसिड प्रहार गर्ने र पीडितको उमेरको विश्लेषण गर्दा केटीले केटाको प्रेमप्रस्ताव अस्वीकार गरेका कारणले त एसिड प्रहार गरिएको हैन?भन्ने प्रश्न पनि उठ्न जान्छ।किनभने १५-२० वर्ष भनेको किशोरावस्थाको बीचमा पर्दछ र त्यो उमेरका किशोर किशोरीको मानसिक अवस्थाको विश्लेषण गर्दा प्रेम, हिंसा, यौन जस्ता कुरामा बढी नै आकर्षित हुने गरेको पाइएको छ । अपरिपक्क मानसिकताका कारण छिटो निर्णय गर्ने तथा सही निर्णय गर्न नसक्ने कुरा मानव विकास मनोविज्ञानले पत्ता लगाएको छ।त्यसैले कतै यो घटना उमेरअनुसार देखापर्ने जटिल मानसिक संरचना तथा कमज‍ोर मानसिकताको उपज त होइन?

एसिडको प्रहार किशोरी तथा युवतीको ज्यानलिन सक्ने हुन्छ।समयमै उपचार पाए उनीहरूले नयाँ जीवन प्राप्त त गर्छन् तर उनीहरूको शारीरिक संरचना भने पूर्ण रूपमा खराब भएर जान्छ।उनीहरूको व्यक्तिगत जीवनमा पुरै असर गर्छ।उनीहरूका कैयौं सपना नै टुटेर जान्छन्।समाजको हेर्ने नजरमा परिवर्तन आउँछ । यस्तो हृदयविदारक दृश्य देख्दा आँखामा आँशु टिलपिल नहुने को होला र? एसिडको प्रहार किशोरी तथा युवतीको ज्यानलिनसक्ने हुन्छ । समयमै उपचार पाए उनीहरूले नयाँ जीवन प्राप्त त गर्छन् तर उनीहरूको शारीरिक संरचना भने पूर्ण रूपमा खराब भएर जान्छ । उनीहरूको व्यक्तिगत जीवनमा पुरै असर गर्छ।उनीहरूका कैयौं सपना नै टुटेर जान्छन् । समाजको हेर्ने नजरमा परिवर्तन आउँछ । यस्तो हृदयविदारक दृश्य देख्दा आँखामा आँशु टिलपिल नहुने को होला र? उनीहरूका लागि मानव अधिकार कहाँ छ? माथिका सबै उदाहरणहरूको विश्लेषण गर्दा अर्को पाटो के छुट्टिन्छ भने कि एसिड प्रहारबाट पीडित हुनेमा सब‌ै महिला मात्र छन्।महिलाले पुरूषलाई एसिड प्रहार गरेको त ईतिहास छैन त । हाम्रो समाजमा समाजले नै महिला र पुरूषको सामाजिक भूमिका निर्धारण गरिदिएको छ।महिलाले गर्नुपर्ने काम र पुरूषले गर्नुपर्ने काम समेत समाजले निर्धारण गरिदिएको छ । खाना पकाउने, लुगाकपडा धुने, बालबच्चा हुर्काउने, घरधन्दाको काम महिलाको जिम्मामा हुन्छ भने अफिसमा काम गर्ने, पैसा कमाउने, मानेछेसँग बहस गर्ने अधिकार पुरूषलाई दिइएको छ । नारीको इज्जत सियोको टुप्पो र खुकुरीको धार जसरी केलाउने समाजले पुरूषको इज्जतलाई भने किन ख्याल गर्दैन? मर्दाङगीको प्रतीक मानेर? त्यसैगरी महिला लज्जालु हुनुपर्ने, बढी बहस गर्न नहुने, बिस्तारै हिँड्नुपर्ने, घरबाहिर बढी निस्कन नहुने, कही कतै जानुपरे सोधेर जानुपर्ने आदि आदि र पुरूष निडर हुनुपर्ने, बिनासूचना सात दिनपछि घर आएपनि प्रश्न नठाउने परम्पराले समाजमा हुने एसिड प्रहारजस्ता यस्ता अन्य सामाजिक अपराधका घटनालाई बढावा दिइरहेका छैनन् र? प्रस्तुत सामाजिक भूमिका र सामाजिक दृष्टिकोणका कारणले पनि युवती तथा महिलाहरूले आफ्ना समस्याहरू खुलेर व्यक्त गर्न सकिरहेको पाइँदैन।यसरी महिलामाथि हुने गरेका एसिड प्रहारका घटना पितृसत्तात्मक समाजको उपज हैनन् र ? एसिडका अलावा अझ पनि महिलामाथि हुने हिंसा यथावत् नै रहेका छन्।कानुनको नजर परे पनि यथार्थ स्वीकार नगरी कानुन आँखा चिम्लेर बसेको अवस्था छ ।

एसिड आक्रमण त समाजको एक जल्दोबल्दो उदाहरण हो। समाजमा यस्ता अन्य थुप्रै उदाहरणहरू रहेका छन् । छाउपडी प्रथा, देउकी प्रथा, बाल विवाह, कुमारी प्रथा, घरायसी हि्सा, बलत्कार, हत्या, किडन्यापिङ, यौन शोषण, साइबर अपराध आदि आजको समाजका कलङ्कका अन्य उदारणहरू हुन् जसबाट हरेक नारीहरू पीडित बनिरहेका छन् । नेपालको संविधान २०७२ ले झन् सार्वभौमसत्ता नै नेपाली जनतामा सुम्पिदिएपछि ३३ प्रतिशत अधिकार महिलाका लागि कानुनअनुसार नै आरक्षित गरिदिएको छ । तर केही उच्च वर्गका,राजनीतिक पार्टी संलग्न र सहरी क्षेत्रका महिलाबाहेक ग्रामीण क्षेत्रका महिलाहरूले ३३% हकको उपभोग गर्नु त कुरा छौडौं “महिला हक” पनि छ नेपालमा भन्ने थाहा नै नभएसम्मको स्थिति छ । यस्तो विकारल अवस्था देख्दा भन्ने भन्न मन लाग्छ खै महिला अधिकार कहाँ छ? महिला अधिकारको कुरा जोडिरहदा अधिकारको बारेमा जानकार क्षेत्र जस्तै काठमाडौ त यस्ता समस्याबाट पीडित छ, व्यवहारमा पूर्ण रूपमा लागू भएको पाइन्न । रिसीविका वा रमाइलोका लागि खुल्ला सार्वनिक स्थलमा एसिड हान्ने,सार्वजनिक बसमा महिलामाथि अश्लील हर्कत समेत गर्ने आँट गरिन्छ भने भित्रका घटना त भित्रै लुकाइँदैनन् र? देशको मूल केन्द्रको त अवस्था त्यस्तो पाइन्छ भने अन्य ग्रामीण क्षेत्रका समस्या त पैतालामुनिको धुलो न हो । अर्कोतर्फ बनाइएको कानुनको सही रूपमा कार्यान्वयन हुन नसक्दा कति अपराधी उम्कने गरेका छन् भने कतिपय पैसा र शक्तिका भरमा छुट्ने/छुटाइने गरेमरका घटनाहरू ताजै छन्।अझ कतिपय अवस्थामा त कानुनका रखवालाहरूको नै संलग्नता रहेको पाइन्छ।यसरी कानुनकै पुजारीहरूद्धारा कानुन उलङ्घन गरिनु नेपालजस्तो सार्वभौमसत्ता सम्पन्न लोकतान्त्रिक देशमा आम घटना बन्दै गइरहेको छ । तत्तत् घटनाहरूलाई मध्यनजर गरेर चर्चा गर्दा नेपालमा महिलाहरूमाथिको हिंसा अझ पनि यथावतै छन् । आफ्नो पति मर्दा पतिको लाससँगै जिउँदै जल्नुपर्ने “सती प्रथा” को त चन्द्रसमशेरले वि.सं १९७७ असार २५ गते देशबाटै उन्मूलनको घोषणा गरेका थिए तर अझ पनि नेपालमा महिलामाथि हुने अनेकौं अत्याचारका घटना देख्दा नेपालको ईतिहासको तितो यथार्थ र एक परम्परागत पितृसत्तात्मक समाजको अमिलो डकारको दुर्गन्ध आउँदैन र ?

तततत् सबै कुराको विश्लेषण गर्दा “मानव अधिकार” को प्रत्येक व्यक्तिलाई स्वतन्त्र रूपमा बिनात्रास, बिनाभेदभाव आफ्नो जीवनयापन गर्ने स्वतन्त्रताको पूर्ण रूपमा कार्यान्वयन भएको कहाँ देखिन्छ? अब्राहम लिङ्कनको “जनताले जनताका लागि र जनताद्धारा गरिने शासन”को वास्तविक अर्थ पुष्टि भएको छ त? यहाँ त खुल्ला रूपमै अधिकारको हनन् भइरहेको उदाहरणहरू प्रत्यक्ष भेटिइरहेका छन्।छिमेकीको घरमा चोरि हुदा आफ्नो घरमा पनि नहोला भन्न सकिन्छ र? त्यसैले अधिकार र हकका कुरा कानुनका किताकमा मात्र सीमित नगरेर कडाइका साथ व्यवहारमा उतार्नु पनि शक्त जरूरी देखिन्छ र लागू गराउन दबाब दिन सार्वजनिक दबाब दिन पनि जरूरी देखिन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार