चुम्लुङको स्थापना दिवसमा इलाममा दुई छात्रालाई छात्रवृत्ति

  नयाँ बुलन्द  342 पटक हेरिएको

इलाम : किरात याक्थुङ चुम्लुङले आज मंगलबार विश्वभर विभिन्न कार्यक्रम गरी ३१ औं स्थापना दिवस मनाउँदैछ । याक्थुङ चुम्लुङको केन्द्रीय समिति, प्रदेश समिति, जिल्ला समिति, पालिका समिति, वडा समिति र प्रवासमा समेत विभिन्न कार्यक्रम गरी स्थापना दिवास मनाउँदैछन् ।

शुभकामना आदानप्रदान, अन्तरक्रिया कार्यक्रम, सम्मान, पुरस्कार वितरण, छात्रवृत्ति वितरण तथा विभिन्न खेलकुदका कार्यक्रम आयोजना गरी स्थापना दिवास मनाइरहेका छन् ।

यसै क्रममा किरात याक्थुङ चुम्लुङ इलामले शुभकामना आदानप्रदान र छात्रवृत्ति वितरण गरी स्थापना दिवस मनाएको छ ।

चुम्लुङको ३१ औं स्थापना दिवसको अवसरमा मंगलबार आयोजित कार्यक्रममा दुई वटा विधाका दुई जनालाई गरीब तथा जेहेन्दार छात्रवृत्ति वितरण गरेको छ ।

श्रीमती खोममाया आङबुहाङ लिम्बू छात्रवृत्ति कल्याण कोषबाट यस वर्षदेखि जिल्लामा प्रदान गर्न सुरु गरिएको गरीब तथा जेहेन्दार छात्रवृत्ति चिसोपानी माविकी भूमिका लिम्बूलाई प्रदान गरिएको छ । नगद १० हजार राशीको छात्रवृत्ति प्रमुख अतिथि यामप्रसाद लिम्बूले हस्तान्तरण गरे । माङसेबुङ गाउँपालिका २ की भूमिका कक्षा ११ मा अध्ययनरत छिन् ।

त्यस्तै किरात याक्थुङ चुम्लुङ इजरायल कल्याण कोषबाट प्रदान गरिदैं आएको गरीब तथा जेहेन्दार छात्रवृत्ति बालकन्या माविकी वेविसा येक्तेन लिम्बूलाई प्रदान गरिएको छ । नगद १० हजार राशीको सो छात्रवृत्ति वेविसालाई विशेष अतिथि चुम्लुङका पूर्व केन्द्रीय उपाध्यक्ष मोहनसिंह थेवेले हस्तान्तरण गरे । इलाम नगरपालिका ११ की वेविसा कक्षा ६ मा अध्ययनरत छिन् । बैदेशिक रोजगारीका शिलशिलामा इजरायल पुगेका नेपाली लिम्बूहरुले वर्सेनि छात्रवृतिका लागि रकम संकलन गरी नेपाल चुम्लुङलाई पठाउने गरेको छ ।

किरात याक्थुङ चुम्लुङ इलामका अध्यक्ष गायत्री थेगिमको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि लिम्बू, विशेक्ष अतिथि थेवे, चुम्लुङ इलामका सल्लाहकार एवम् फासिङ सजुमका अध्यक्ष बखतबहादुर आङदेम्बे, इलाम नगर सचिव रामकुमार लिङदम, लिम्बू विद्यार्थी मञ्चका अध्यक्ष अतित योङहाङ, याक्थुङ युवा मञ्चका अध्यक्ष भीम योङहाङ शुभकामना मन्तव्य राख्दै छात्रवृत्ति प्राप्त छात्राहरुको शैक्षिक प्रगतिको कामना गरेका थिए । छात्रवृत्ति प्राप्त गरेका भूमिका लिम्बू र वेविसा येक्तनले पनि चुम्लुङलाई धन्यवाद दिदैं आगामी दिनमा चुम्लुङसँग निरन्तर जोडिने र आफ्नो कर्तव्य पालना गर्ने प्रतिवद्धता जनाए ।

कार्यक्रमको संचालन चुम्लुङका सचिव राम योङहाङ र स्वागत सहसचिव याम माबोहाङले गरेका थिए ।

दुवै छात्रवृत्ति मंगलबार इलामसहित अरुण पूर्वका ९ जिल्लामा एकैसाथ वितरण गरिएको छ ।

चुम्लुङको स्थापना दिवसको अवसरमा इलाम नगरपालिकाको बरबोटे, देउमाई नगरपालिकाको जीतपुर, माङसेबुङ गाउँपालिकाको लारुम्बा, चुलाचुली गाउँपालिका लगायतमा विभिन्न कार्यक्रमको आयोजना भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार