मानव अधिकार मञ्‍चद्वारा प्रजिअ तिमल्सिनालाई विदाई (भिडियो सहित)

  नयाँ बुलन्द  142 पटक हेरिएको

इलाम :  इलाम जिल्लाबाट सरुवा भएर काभ्रे गएका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिनालाई मानव अधिकार मञ्च नेपाल इलामले विदाई गरेको छ ।  मञ्चले सोमबार आफ्नै कार्यालयमा एक कार्यक्रम आयोजना गरी प्रजिअ तिमल्सिनालाई विदाई गरेको हो ।

तिमल्सिना बुधबार इलामबाट काभ्रे प्रस्थान गर्नेछन् । १६ वैसाख २०७५ मा इलाममा हाजिर भएका तिमल्सिना करिब १६ महिनापछि सरुवा भएका छन् । तिमल्सिनाले सो अवधिमा एक कुशल प्रशासकको रुपमा आफूलाई परिचित गराउन सफल भएका थिए । इलाममा धनकुटाबाट सीताराम कार्की सरुवा भएर आएका छन् ।

तिमल्सिनाको कार्यकालमा जिल्लाको शान्ति सुव्यवस्था बजबुद बनेको, सुशासन प्रवर्द्धनमा उल्लेख्य सुधार भएको, विभिन्न स्थानीय सरकार तथा कार्यालय र संघसंस्थाहरुबीच सुमधुर सम्बन्ध स्थापित भएको भन्दै कार्यक्रमका वक्ताहरुले प्रजिअ तिमल्सिनाको सकरात्मक भूमिकाको प्रसंशा गरेका थिए । वक्ताहरुले प्रजिअ तिमल्सिनाको आगामी दिनहरु समेत सुखमय र प्रगतिमय बनोस् भन्दै कामना व्यक्त गर्दैजिल्लाबासीको तर्फबाट धन्यवाद ज्ञापन गरेका थिए । त्यस्तै प्रजिअ तिमल्सिनाले पनि इलाममा रहँदा सबै पक्षको सहयोग पाएको भन्दै समग्र जिल्लाबासीलाई धन्यवाद दिएका थिए ।

कार्यक्रममा प्रमुख अतिथि जिल्ला समन्वय समिति इलामका प्रमुख गणेशप्रसाद बराल, माईजोगमाई गाउँपालिकाका अध्यक्ष जीतबहादुर राई, जिल्ला युवा समिति इलामका अध्यक्ष नवराज शंकर, मानव अधिकार मञ्च नेपाल इलामका उपाध्यक्ष वीरबहादु खड्का, कार्यकारी निर्देशक देवेन्द्र विश्वकर्मा, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) इलामका अध्यक्ष राम योङहाङलगायत विभिन्न सरकारी कार्यालय र संघसंस्थाका प्रतिनिधिहरुले मन्तव्य राखेका थिए ।

कार्यक्रम मानव अधिकार मञ्चका अध्यक्ष मोहनसिंह थेवेको अध्यक्षता र गायत्री थेगिमको संचालनमा भएको थियो ।

यस्तै सोमबार नै प्रमुख जिल्ला अधिकारी तिमल्सिनालाई  जिल्ला समन्वय समिति इलामको तर्फवाट पनि विदाई गरिएको छ। कार्यालयमा आयोजित  विदाई कार्यक्रममा विभिन्न राजनीतिक दल तथा सरकारी कार्यालय र संघसंस्थाका प्रमुखहरुको सहभागित रहेको थियो ।

भिडियो हेर्नुहोस् :

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार