इलाम नगरले खुला क्षेत्र राख्‍ने प्रक्रिया अगाडी बढाउने

  नयाँ बुलन्द
0 Shares

इलाम : आइतबार सम्पन्न इलाम नगरपालिका नगर कार्यपालिकाको बैठकले  विभिन्न निर्णय गरेको छ ।

इलाम नगरपालिका वडा ७ चोकबजार दक्षिणमा प्यागोडा शैलीमा बनिएको धार्मिक तथा पर्यटकीय स्थलमा रुपमा रहेको भीमसेनथान मन्दिर वरिपरि सार्वजनिक हितका लागि खुला क्षेत्र राख्ने प्रक्रिया अगाडि बढाउने भएको छ ।

त्यसका लागि इलाम ७ साविक इलाम १ क कि.नं. ९५,९६,९८,१२४ क्षेत्रफल क्रमशः ३६.००, ३८.००, ६१.३२, ३६,०० वर्ग मिटर भएको जग्गाहरु भीमसेनथान मन्दिरको वरिपरि खुला भाग राख्न, ऐतिहासिक पुरातात्विक सांस्कृतिक महत्वको मन्दिरको संरक्षण तथा सम्वद्र्धन र सार्वजनिक हितका लागि जग्गा प्राप्ति ऐन, २०३४ बमोजिम मुआब्जा तथा अन्य खर्च नगरपालिकाले व्यहोर्ने गरी जग्गा प्राप्ति ऐन, २०३४ को दफा ३ क बमोजिम उक्त जग्गा प्राप्तिका लागि अधिग्रहण प्रक्रिया बढाउन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा अनुरोध गर्ने निर्णय गरेको छ ।

साथै सो कि.नं. क्षेत्रफल भएको जग्गामा कुनै पनि किसिमको निर्माण कार्यको लागि नक्सापास कार्य रोक्का राख्ने निर्णय समेत गरेको इलाम नगरपालिकाका प्रवक्ता ठाकुरनारायण श्रेष्ठले जानकारी दिए ।

यसैगरी इलाम नगरपालिका ७ निवासी संगीतकार तथा कलाकार स्वर्गीय मदन दिपबिमको योगदानको कदर गर्दै उनको सम्मानमा निकुञ्जपथदेखि चियाबारी हुँदै टेलिकमसम्म जाने बाटोको नाम मदन दिपबिम मार्ग राख्ने निर्णय भएको छ ।

यस्तै इलाम नगरपालिका, ‘घ’ वर्गको निर्माण व्यवसायी इजाजतपत्र सम्बन्धी कार्यविधि, २०७५ बमोजिम घ वर्गको निर्माण व्यवसायी इजाजत पत्र प्रदान गर्नका लागि सो कार्यविधिको दफा २ को उपदफा ३ अनुसार जाँचबुझ समितिबाट पेश भए अनुसार इजाजत पत्र प्रदान गर्ने निर्णय गरेको छ ।

इलाम नगरपालिका अन्तरगत चालु आर्थिक वर्ष २०७६।०७७ को कार्यक्रममा अन्तर वडास्तरीय फुटवल प्रतियोगिताको लागि १० लाख रकम विनियोजन भएको हुनाले उपयुक्त समयमा र वडास्तरीय फुटवल प्रतियोगिता सम्पन्न गर्ने निर्णय भएको छ ।

प्रतियोगिताको प्रथम पुरस्कार १ लाख २५ हजार र दोस्रो पुरस्कार ७५ हजार राखिने भएको छ । साथै टिम तयारीको लागि प्रत्येक वडालाई ५० हजारका दरले उपलब्ध गराउने भएको छ ।

यसैगरी यस नगरपालिकाले स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा १०२ अनुसार स्वीकृत कार्यविधि तथा निर्देशिका अनुसार गठन गरिएका समिति तथा प्रतिष्ठानहरुको व्यवस्थित परिचालन सम्बन्धमा संस्थाका पदाधिकारी (अध्यक्ष, सचिव, कोषाध्यक्ष), वडाध्यक्ष तथा कार्यपालिका सदस्यहरु समेत सहभागी हुने गरी अभिमुखीकरण कार्यक्रम संचालन गर्ने गराउने निर्णय भएको छ ।

बैठक नगरप्रमुख महेश बस्नेतको अध्यक्षतामा भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार