बास्केटबल लिग खेल्ने खेलाडीको बिदाई

  नयाँ बुलन्द
0 Shares

इलाम : नेपाल बास्केटबल लिग ३×३ को पुर्वी छनौट खेल्ने इलामका खेलाडीहरुलाई शनिबार एक समारोहबीच बिदाई गरिएको छ ।

जिल्ला बास्केटबल संघ इलामले आयोजना गरेको बिदाई कार्यक्रमका अवसरमा जिल्ला युवा समितिको कार्यालय इलामका अध्यक्ष एवं जिल्ला बास्केटबल संघका सल्लाहकार नवराज शंकर, खेलप्रेमी सन्तोष भक्तराज, जिल्ला बास्केटबल संघ कोषाध्यक्ष याक्खा थाइम रंजिता, युवा अगुवा मनोज थापा लगायतको उपस्थिति रहेको थियो ।

बिदाईको अवसरमा बोल्दै युवा समिति अध्यक्ष एवं बास्केटबल संघका सल्लाहकार शंकरले व्यक्तिले खेल्न गईरहेको नहुदा समग्र जिल्लाको प्रतिनिधित्व गर्दै उपाधी लिएर फर्कन शुभकामना दिए । “अनुशासन र कौशलकासाथ खेलेर इलामको नाम राखेर फर्कनुहोला” उहाँले भन्नुभयो- “जसले इलाममा बास्केटबलको विकासमा एउटा उचाई थप्नेछ ।”

आइतबारबाट शुरु हुने प्रतियोगितामा इलामबाट दुई टिमले सहभागिता जनाउँदैछन् । दुवै टिमको प्रशिक्षक बिमल लिम्बू रहनुभएको भने टि भ्याली इलाम र ग्रीनसिटि इलामले प्रतियोगितामा सहभागी हुनेछन् । टिभ्याली इलामको क्याप्टेन पवन सुवेदी र खेलाडीहरु विजय बुर्जा, सौभाग्य श्रेष्ठ र सजिन लिम्बू रहेका छन् ।

यसैगरी ग्रीनसिटि इलामको टिम क्याप्टेन राजन राई र खेलाडीहरुमा अनुपम लिम्बू, प्रशान्त श्रेष्ठ र समीर गुरुङ रहनुभएको छ । पुर्वी क्षेत्रमा झापा, मोरङ्ग र सुनसरीमा छनौट प्रतियोगिता हुदैछ भने झापामा हुने छनौटमा झापा र इलामका टिमहरुले प्रतिस्पर्धा गर्दैछन् । तीन वटै स्थानमा हुने छनौटबाट आएका उत्कृष्ट दुई टिमबीच नेपाल बास्केटबल लिगको ३×३  पुर्वी छनौट खेल्नेछन् ।

पुर्वी छनौटमा उत्कृष्ट हुने दुई टिमले राष्ट्रिय लिगमा सहभागीता जनाउन पाउनेछन् । टिभ्याली इलामका क्याप्टेन पवन सुवेदीले पुर्वी छनौटको उपाधी जितेर राष्ट्रिय लिगमा सहभागीता जनाउने महान लक्ष्य बोकेर झापा झर्ने बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार