एउटा कोठाबाटै जिल्लाको निगरानी

  प्रकाश नेपाल
0 Shares

news

इलाम : जिल्ला प्रहरी कार्यलय इलामले कार्यालयको एउटा कोठाबाटै जिल्लाको निगरानी गर्न थालेको छ ।

जिल्लामा अपराध र चोरीका घटना बढ्न थालेपछि जिल्लाका सबै बजारमा सिसी क्यामेरा जोडेर निगरानी थालेको हो । प्रदेश सरकारको २७ लाख बजेटमा जिल्लामा ३४ वटा क्यामेरा जडान गरिएको छ ।

इलाम बजारमा १० वटा, फिक्कलमा ८ वटा, पशुपतिनगरमा ८ वटा र मंगलबारेमा ८ वटा क्यामेर जडान गरी निगरानी गर्न थालेको हो ।

बजार क्षेत्रमा बढी अपराधका घटना हुने र सामान हराउने उजुरी बढेसँगै प्रहरीले निगरानी बढाएको हो ।

बजार क्षेत्रमा १० किलोमिटर अप्टिकल फाइबरमार्फत क्यामेरा प्रयोग गरिएको छ । क्यामेरामा एक महिनासम्मको रेकर्ड रहने गरी मिलाइएको छ ।

क्यामेरा जडानपछि कार्यालयले चोरी भएका २ वटा मोटरसाइकल पत्ता लगाइसकेको छ ।

क्यामेराको निगरानीले सडकमा हुने दुर्घटनाको पनि नियन्त्रण हुने प्रहरी कार्यालयको भनाई छ ।

जिल्लाका अन्य ठाउँमा पनि क्यामेरा जडान गर्ने तयारी रहेको छ ।

यसअघि झापा र इलामको सिमानामा मात्र सिसी क्यामेराबाट निगरानी भइरहेको थियो भने १ महिना अघिबाट बजार क्षेत्रमा जडान गरिएको बताइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार