पाथीभरा गोल्डकपको उपाधि एलाभेन एरोजलाई

  प्रयास लिम्बू
0 Shares

ताप्लेजुङ : ताप्लेजुङमा सम्पन्न चौंथो पाथीभरा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि एलाभेन एरोज क्लब दुवही सुनसरीले जितेको छ । शुक्रबार भएको फाइनल खेलमा झापाको रेडस्टार क्बललाई ट्राइबेकरमा ४–२ गोलअन्तरले पराजित गर्दै एलाभेन एरोजले उपाधि जितेको हो ।

लाखेजात्रा सञ्चालन समितिले आयोजना गरेको प्रतियोगिताको उपाधि भिडन्तमा शुक्रबारको खेलमा निर्धारित समयभित्र दुवै टोलीबाट बराबर दुई गोल भएपछि नतिजाका लागि खेल ट्राइबेकरमा धकेलिएको थियो ।

ट्राइबेकरमा योगेश गुरुङले प्रहार गरेको पहिलो गोल नै गोलमा परिणत हुन नसकेपछि रेडस्टार पछि परेको थियो । एलोभन एरोजका तर्फबाट रुपेश केसीले प्रहार गरेको पहिलो गोलले जाली चुमेसँगै एरोजले अग्रता लिएको हो ।

त्यसपछि रेडस्टारका पुजन उपरकोटी र निशान लिम्बूको प्रहार मात्र गोलमा परिणत भएको थियो भने पहिलो गोल प्रहार गर्ने गुरुङ र विकास थुलुङले गरेको गोल प्रहार एलाभेन एरोजका गोलरक्षक प्रिसो येभ्सले रोकेका थिए । यता एलाभेन एरोजका रुपेशसहित जीवन धामी, विष्णु सुनुवार र उमेश कार्की चारैजनाले प्रहार गरेको गोल रेडस्टारका गोलरक्षक विवश चौधरीले बचाउ गर्न नसकी गोलमा परिणत भएको थियो ।

खेलको निर्धारित समयमा ५८ औं मिनेटमा योगेश गुरुङले गोल गर्दै रेडस्टारलाई अग्रपंतीमा राखेका थिए । त्यसपछि खेलको ७४ औं मिनेटमा एलाभेन एरोजका क्यामरुनी खेलाडी यानिक ओनाले गोल गर्दै बरारीमा पु¥याएका थिए ।

एक–एक गोल बराबर भएपछि दुवै टोलीबाट निक्कै आक्रामक खेल प्रदर्शन भएसँगै पुनः रेडस्टारका मिलन राईले खेलको ८७ औं मिनेटमा दोस्रो र एलाभेन एरोजका सुसन तामाङले पनि निर्धारित समय सकिनलाई १ मिनेट बाँकी छँदा दोस्रो गोल गरेपछि खेल ट्राइबेकरमा धकेलिएको हो ।

गत वर्षको उपाधि बितेजा समेत रहेको रेडस्टार फाइनलमा पुगेसँगै यसवर्ष समेत उपाधिको दाउमा रहे पनि सफल हुन सकेन । यता उपाधि बिजेता एलाभेन एरोज क्लबले ट्रफीसहित तीन लाख ११ हजार १११ रुपियाँ नगद पुरस्कार प्राप्त गरेको छ भने उपबिजेता बनेको रेडस्टारले नगद एक लाख ५१ हजार १११ रुपियाँमा चित्त बुझाउनुपरेको छ । यसवर्षको सर्वाधिक गोलकर्ता एलाभेन एरोजका यानिक ओना हुनुभयो । ओनाले प्रतियोगिता भरमा चार गोल गर्न सफल हुनुभएको लाखेजात्रा सञ्चालन समिति अध्यक्ष नारायण थापाले जानकारी दिए ।

गत साताको बिहीबारदेखि सदरमुकाम फुङ्लिङस्थित भानुजन माध्यमिक विद्यालयको खेल मैदानमा सञ्चालित पाथीभरा गोल्डकप चौंथो संस्करणअन्तर्गतको प्रतियोगितामा स्थानीय दुईसहित १० टोली (टिम) को सहभागिता रहेको थियो ।

यसवर्षको प्रतियोगितामा सहभागी १० मध्ये नेपाल बाहिर भारतको युनाइटेड खर्साङ क्लब दार्जिलिङको टोली समेतले सहभागिता जनाएको आयोजकले जानकारी दिएको छ । प्रतियोगिताको बिजेता टोली तथा परस्कृत खेलाडीलाई संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले पुरस्कार वितरण गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार