इलाममा धुमधामका साथ मनाईयो रोपाईं जात्रा (फोटो/भिडियो सहित)


इलाम : इलाम सदरमुकाममा बिहानैदेखि चहलपहल बढेको थियो । जिल्लाका विभिन्न गाउँबाट मानिसहरु आउने क्रम विहानैदेखि सुरु भएको थियो । नजिकका गाउँबाट पैदल तथा टाढाको गाउँबाट चारपाङ्ग्रे सवारीमा चापाचाप यात्रुको संख्या देखिन्थ्यो । पार्किङमा नै समस्या हुने गरी सवारीको चाप पनि उस्तै थियो । सधैंको बिहीबारे हटिया भन्दा यसपटकको हटियामा फरक दृश्य देखिन्थ्यो ।

यो दृश्य हो बिहीबार देखिएको इलाम बजारको । विहीबार इलाम बजारमा धुमधामका साथ रोपाईं जात्रा प्रदर्शन गरियो । इलाम बजार दिनभर जात्रामय बन्यो । विगताका वर्षहरुझैं यसवर्ष पनि उत्सवका साथ रोपाईंजात्रा प्रदर्शन गरियो ।

नेपाल भाषा तथा संस्कृति समाज इलामको आयोजनामा भएको रोपाईंजात्राका कारण इलाम बजारमा बिहानैदेखि चहलपहल बढेको थियो । जात्रामा रम्न जिल्लाका विभिन्न गाउँबाट आएका दर्शकहरको भिड लागेको थियो ।

सिमसिम पानीमा रुझ्दै रुझ्दै निकालिएको जात्राले सबैको मन तानेको थियो । मुख्यतयाः युवा पुस्ताले विभिन्न पहिचरनमा अनुहार लगायत शरीरका विभिन्न भागमा रङ दलेर झाँकीसहित गरेको बजार परिक्रमाले दर्शकको मन झनै लोभ्याएको थियो ।

अघिअघि बाउसे, पछिपछि रोपाहार भेषभूषा र श्रृङ्गारमा सजिएर गरेको अभिनय साथमा बाजा गाजाको रोमाञ्चक धुनमा धानको वीउ हातमा लिई लहरमा उभिएर रोपाहारको शैलीमा छुपुछुपु धान रोपेजस्तो गरेको अभिनय हेरिरहँु लाग्दो थियो । विशेषगरी विद्यार्थी र युवायुवतीलाई सांकेतिक रुपमा काँस वा सीरुलाई धानको वीउ बनाएर वीउ रोप्दै सडमा हिँडेको दृश्य झनै मनमोहक देखन्थ्यिो ।

जात्राको क्रममा मानिसलाई गोरुको प्रतिक बनाई जुवामा नारेर दाँदे लगाउने, बाउसे गर्ने, वीउ काढ्ने, धान रोप्नेलगायतका क्रियाकलाप सडकमै देखाईएको थियो । त्यस्तै सडकमा निस्केको साधु र मुङ्ग्रेहरुको कलात्मक अभिनय र अन्य साँस्कृतिक झाँकीहरुले जात्रा हेर्न गाउँगाउँबाट आएका दर्शकहरुको मन झनै लोभ्याएका देखिन्थ्यो ।

यहाँका नेवार समुदायले निकाल्दै आएको जात्रामा राई, लिम्बू, तामाङ्ग लगायत अन्य समुदाय मानिसहरु पनि उल्लेख्य रुपमा सहभागी थिए । बालबालिकादेखि युवायुवती र वृद्धवृद्धा पनि सहभागी थिए ।

रोपाईंजात्राले परम्परागत संस्कृतिको संरक्षणका साथै पारिवारिक सुख समेत मिल्ने विश्वास रहिआएको छ । जात्राको दिन मीठामीठा परिकार बनाएर खाने, रमाइलो गर्ने समेत गरिन्छ । राणा शासनकालमा इलामका तत्कालीन बडाहाकिम गजराजसिंह थापाले १९७२ मा सुुरु गरेको रोपाईंजात्रा आजकल नेपाल भाषा तथा संस्कृति समाजको अगुवाईमा निकालिने गरेको छ । रोपाईंजात्रा वर्खाकै दिन निकालिने भएकाले यसलाई हिले जात्रा समेत भन्ने गरिन्छ ।

रोपाईं जात्रालाई संस्कृतिको जगेर्ना गर्दै पर्यटक आकर्षणको माध्यमका रुपमा समेत लिन थालिएको छ । वर्सेनि आयोजना गरिने रोपाईंजात्राले मौलिक परम्परा र सांस्कृति पहिचानको विकासका साथै एकतालाई समेत माथि उठाउन सहयोग पुग्ने नेपाल भााष तथा संस्कृति समाजका अध्यक्ष प्रविण श्रेष्ठले बताए ।

खेतमा रोपाईं सकिएको अवसरमा नेवार समुदायले रोपाइँजात्रा निकाल्ने गर्दछन् । गाईजात्रासँगै रोपाईं पनि सकिने भएकाले रमाईलो गरेर रोपाईंजात्रा मनाउने चलन छ ।

इलाम नगरपालिका ५ बिब्ल्याँटे बजारबाट सुरु भएको जात्रा धोवीभारा, नारायणस्थान, मालापथ, हुँदै चोकबजार, नविनचोक, भानुपथ, टुँडीखेल, गोलबस्ती, फूलगाछी, निकुञ्जपथ, प्रकाशपथलगायत बजारको विभिन्न क्षेत्रको परिक्रमा गरी चोकबजारमा आएर समापन गरिएको थियो ।

सदरमुकाममा नेवारको बसोबास सुरु भएसँगै थालिएको यो जात्रा पूर्वको लोकप्रिय मौलिक जात्रा मानिन्छ । रोपाईंजात्रा इलाम सदरमुकाम बाहेक जिल्लाका विभिन्न बजारमा पनि प्रदर्शन गर्ने गरिएको छ ।

यसअघि बुधबार देउमाई नगरपालिकाको मंगलबारे बजारमा रोपाईजात्रा प्रदर्शन गरिएको थियो । शुक्रबार देउमाई नगरपालिकाको जीतपुर र माई नगरपालिकाको शुक्रबारे र माईजोगमाई गाउँपालिकाको नयाँबजारमा समेत रोपाईजात्रा मनाउने तयारी छ । ग्रामीण क्षेत्रमा हटिया लाग्ने दिन यो जात्रा मनाउने गरिन्छ ।

इलाममा रोपाई जात्रा हेर्नुहोस् भिडियोमा :

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार