प्रहरी र रविका समर्थकबीच झपड, ५ समर्थक पक्राउ

चितवन । पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरणमा मुछिएका पत्रकार रवि लामिछानेपछि प्रहरी र उनका समर्थकबीच झडप भएको छ । लामिछानेको रिहाई माग गर्दै प्रदर्शनमा उत्रेका समर्थकलाई तितरबितर पार्नेक्रममा झपड भएको हो । प्रदर्शन नियन्त्रण गर्नेक्रममा प्रहरीले ५ जना समर्थकलाई पक्राउ गरेको छ ।

पुडासैनी मृत्यु प्रकरणमा प्रहरीले लामिछानेसहित ३ जनालाई बिस्तृत अनुसन्धान थालेको छ । कुनै पनि व्यक्तिले मर्नुअघि दिएको बयानलाई कानुनी आधार मान्ने व्यवस्था छ । त्यो कानुनी व्यवस्था अनुसार घटनामा लामिछाने दोषी ठहरिने स्थिति देखिएको छ।

चितवनका प्रहरी प्रमुख दानबहादुर मल्लले घटनाको गहिरो अध्ययन भइरहेको जानकारी दिनुभएको छ । ‘मर्नुअघिको बयानलाई सत्य मानिने कानुनी आधार छ, यसलाई ‘डाइङ डिक्लेरेशन’ भनिन्छ’ उहाँले भन्नुभयो, ‘मृतकको मोबाइलमा रेकर्ड गरिएको भिडियो भेटियो । हामीले टेष्ट गर्यौं । भ्वाइस पनि परीक्षण गर्यौं ।’

प्रहरी प्रमुख मल्लका अनुसार, सार्वजनिक भएको भिडियो, अन्य प्रमाण तथा परीक्षण मृतकको नै भएको प्रमाणित भएको छ । त्यसमा लामिछाने, युवराज कँडेल र अस्मिता कार्की दोषी देखिएका छन् ।

‘प्रहरीसँग यसबाहेक अन्य प्रमाण छन्’ उहाँले भन्नुभयो, ‘यिनै आधारमा तीनैजनामाथि अनुसन्धान गर्नुपर्ने देखिन्छ । त्यही कारण उनीहरुलाई पक्राउ गरिएको हो ।’

लामिछाने, कँडेल र कार्कीलाई अपराधसंहिता २०७४ अनुसार अनुसन्धान तथा कारबाही थालिएको छ । अपराधसंहिता २०७४ को १८७ अनुसार कुनै अपराधका लागि दुरुत्साहन गरेको पाइए यसलाई फौजदारी कसुर मानिन्छ । ऐनको भाग २ को परिच्छेद १२ को धारा १८५ मा यस्तो कसुर गर्नेलाई ५ वर्षसम्म कैद र ५० हजार रुपेयाँ सम्म जरिवाना गर्ने उल्लेख छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार