सानिमा बैंकले प्रदान गर्‍यो छात्रवृत्ति

  गोविन्द लामिछाने
0 Shares

इलाम : इलामको फाकफोकथुम गाउँपालिकामा स्थापित सानिमा बैंकले एसईई उत्तीर्ण गरेका एक जना विद्यार्थीलाई उच्च शिक्षा हासिलका लागि शैक्षिक छात्रवृत्ति प्रदान गरेको छ ।

बैंकले ६३.७५ प्रतिशत अंक ल्याई एसईईमा उत्तीर्ण गरेका सिंहदेवी माध्यमिक विद्यालय आमचोकका युवराज पौडेललाई शैक्षिक छात्रवृत्ति प्रदान गरेको हो ।

उनले उच्च शिक्षा अध्ययनका लागि बैंकबाट वार्षिक ४० हजार छात्रवृत्ति पाउँछन् । यसवर्षको एसईई परीक्षामा सि ग्रेड ल्याएर सोही विद्यालयमा अध्यनरत पौडेललाई छात्रवृत्ति छनौट समितिले छात्रवृत्ति प्रदान गरेको हो ।

गरिब, जेहेन्दार तथा उत्कृष्ठ दुई जना विद्यार्थीलाई पुरस्कृत गर्न विज्ञापन आव्हान गरिएपनि छात्रवृत्तिका लागि एक जनाको मात्र आवेदन परेको बैंकका शाखा प्रबन्धक लक्ष्मण विसङ्खेले जानकारी दिए ।

यस गाउँपालिकाका माध्यमिक विद्यालयबाट एसईई परीक्षामा सि ग्रेड ल्याएर उत्तीर्ण विद्यार्थीले सम्वन्धित विद्यालयमै अध्ययन गर्नुपर्ने अर्थात गाउँपालिकाका जुनसुकै विद्यालयमा उच्च शिक्षा हासिल गर्दा पनि बैंकले उक्त छात्रवृत्ति प्रदान गर्ने जनाएको छ । ‘गाउँपालिकाभरका माध्यमिक विद्यालयमा सूचना टाँस गरेपनि सिंहदेवी माध्यमिक विद्यालय आमचोकबाहेकका विद्यार्थीको आवेदन पेश नहुनु दुखद हो, प्रबन्धक विसङ्खेले भने‘आगामी वर्षदेखि यस्तो नहोला भन्ने विश्वास छ ।’

शैक्षिक छात्रवृत्ति अन्तर्गत विद्यार्थीले मासिक दुई हजार नगद पाउँछन् भने अध्ययनरत विद्यालयमा भर्ना शुल्क, पाठ्यपुस्तक, डटपेन, कपी, मासिक शुल्क समेतको रकम पाउँछन् । यसपटक कक्षा ११ मा अध्ययनरत विद्यार्थी जसले छात्रवृत्ति पाएका छन्, उनले कक्षा ११ उत्तीर्ण गरेमा मात्र आगामी वर्ष कक्षा १२ मा पनि छात्रवृत्ति पाउँछन् ।

नाफामूलक क्षेत्रमा मात्र नभई सामाजिक उत्तरदायित्व अन्तर्गत बैंकले शैक्षिक छात्रवृत्ति उपलब्ध गराएको शाखाले जनाएको छ । बैंकले गरिब, तथा जेहेन्दार र उत्कृष्ट विद्यार्थीलाई शैक्षिक छात्रवृत्ति प्रदान गरेकोमा आफू बैंकप्रति आभार रहेको वडाध्यक्ष तथा छात्रवृत्ति छनौट समितिका सदस्य राजन पौडेलले भने। बंैकले सामाजिक उत्तरदायित्व अन्तर्गत गतवर्ष २० जना विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान गर्नुका साथै ग्रामीण क्षेत्रमा विभिन्न कार्यक्रम गर्दै आएको प्रबन्धक विसङ्खेले बताए ।

बैंकको छात्रवृत्ति सिफारिस समितिमा वडाध्यक्ष राजन पौडेल, समाजसेवी दिपेन्द्र पराजुली, उपेन्द्र पौडेल, प्रधानाध्यापक मोतिखर पोखरले, सञ्चारकर्मी गोविन्दप्रसाद लामिछाने रहेका थिए । छात्रवृत्ति छनौट समितिको आइतबार बसेको बैठकले युवराज पौडेललाई सिफारिस गरेको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार