आम्दानी दिने समयमै मर्न थाल्यो अलैंची

इलाम : इलाममा लगाइको अलैंची मर्न थालेपछि किसान चिन्तित भएका छन् । केही वर्षअघि लगाइएको अलैंचीको बोट मर्न थालेपछि किसान चिन्तित भएका हुन् । खोल्साको कालो सुन भनेर चिनिने अलैंचीको मुख्य उत्पादन हुने समयमा रोग लागेर मर्न थालेपछि चिन्ता बढेको किसान बताउँछन् ।
दाम महंगो भएकै कारण कालो हीराको समेत उपमा पाएको अलैंचीको फूलमा रोग लाग्न थालेपछि किसानहरू निरास बन्न थालेका छन् । यो सिजन फूल फूलेर फल लाग्ने समय हो । फल लाग्ने समयमै बोट मर्न थालेको किसानहरू बताउँछन् । स्वस्थ फल रातो तथा कलेजी रंगको हुन्छ । तर दाना कुहिएर कालो भएको अलैंची किसानहरूको भनाइ छ । सुकाउँदा यसको रङ कालो हुन्छ तर काँचो अलैंची नै कालो भएपछि अलैंची मासिएको संकेत पाइएको किसान मनु सापकोटा बताउँछन् ।

अलैंचीमा छिर्के, फुर्के रोग, गानो कुहिने रोगसँगै फैलिएको झाँग सुक्ने रोगका कारण किसानका बगानमा समस्या देखिन थालेको छ । करिव एक दशक अलैंची मासिएको थियो । त्यसपछि पुन किसानले अन्नबाली लगाउने बारीमा नै अलैंची लगाएका थिए । त्यसले पनि मुख्य आम्दानी दिने बेला भएपछि मासिएको भन्दै किसान यसको पनि विकल्प खोज्न थालेका छन् ।
धान, मकैलगायतका बालीको सट्टा लगाइएको अलैंचीबाट निकै ठूलो आश लिइएको भए पनि अब यसको विकल्प खोज्न थालेको सापकोटाले बताए । उनले अब अलैंचीबाट खासै फाइदा लिन नसक्ने भन्दै अलैंची मासेर अन्य खेती गर्ने सोच बनाएको बताए ।
रोगको प्रकोप नियन्त्रणका लागि इलामको फिक्कल, पान्दाममा अलैंची विकास केन्द्र स्थापना गरे पनि उक्त संथाले किसानका लागि सहयोग नगरेको किसानको गुनासो छ । संस्थाले अलैंचीसम्बन्धी अध्ययन, तालिम, बीउ विरुवा उत्पादन तथा वितरण र प्राविधिक सेवा पु-याउँदै आएको अलैंची विकास केन्द्र फिक्कल इलामका प्रमुख पदम अधिकारी बताउँछन् ।

सजिलो खेती र राम्रो मूल्य पाउने भएकाले प्रायः किसानले अलैंची खेती गर्दै आइरहेको भए पनि अव भने यसको साटो अन्य खेती गर्ने सोच बनाउन थालेका छन् । हाल अलैंचीको मूल्य प्रतिमन २६ हजारदेखि ३० हजार रूपैयाँसम्म रहेको इलाम देउमाईस्थित मंगलबारे बजारका ब्यापारी मातृका घिमिरेले बताए । पूर्वाञ्चलका पहाडी जिल्लाबाट सुरु भएको अलैंची खेती देशका विभिन्न जिल्लामा विस्तार हुँदै गएको छ । नेपाल सरकारले २०३९ सालमा पूर्वाञ्चलका इलाम, पाँचथर, ताप्लेजुङ र तेह्रथुम जिल्लालाई अलैंची विकास क्षेत्र घोषणा गरेको थियो । तर त्यसपछि अलैंचीलाई जोगाउने खालका कार्यक्रम अघि सार्न नसकेका कारण किसानले लगाएको अलैंची मासिँदै गएको छ । हालसम्म कुनै पनि निकायबाट सहयोग पाउन नसकेको किसान घनश्याम खतिवडा बताउँछन् । उनले अलैंची धेरै फलाउन अथवा रहेको अलैंचीलाई निरोगी बनाउनका लागि कुनै पनि सहयोग नपाएको बताए ।

जिल्लाका १० वटै स्थानीय तहमा अलैंची खेती हुन्छ । त्यसमध्ये पनि माईजोगमाई गाउँपलिका र सन्दकपुर गाउँपालिकामा बढी खेती हुने गरेको छ । यसको खेती सामुन्द्रिक सतहबाट ७०० देखि २१ सय मिटरसम्ममा हुने गरेको छ । यति धेरै स्थानमा हुने अलैंची खेती जोगाउन सरकारले किसानलाई आवश्यक सहयोग गर्नु गर्ने उनीहरूको माग छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार