प्रदेशको नामाङ्कन पहिचानलाई सम्बोधन गरेरै हुन्छ : कागते

समुदायको बारेमा बोल्न अंकुश लगाउने पार्टी हुन सक्दैन

इलाम : प्रदेश १ का सांसद काजीमान कागतेले प्रदेशको नामाङ्कन कुनै न कुनै रुपमा पहिचानलाई सम्बोधन गर्ने गरी हुने बताएका छन् ।

२५ औं विश्व आदिवासी दिवसको अवसरमा नेपाल आदिवासी जनजाति महासंघ इलामले आयोजना गरेको आरक्षण बचाउ आन्दोलन सम्बन्धी अन्तरक्रिया तथा विचार गोष्ठीलाई सम्बोधन गर्दै कागतेले त्यस्ता बताएका हुन् ।

सर्वसम्मत रुपमा प्रदेशको नाम राख्न प्रदेश सरकार र प्रदेश सभाले प्रयत्न गरिरहेको बताउँदै सांसद कागतेले प्रदेश १ का जनताको भावनालाई समेट्ने गरी नामाङ्करण गरिने बताए ।

‘जसरी हामीले सर्वसम्मत रुपमा प्रदेशको राजधानी टुङ्गायौं । त्यसरी नै प्रदेशको नाम पनि सर्वसम्मत रुपमा नै टुङ्ग्याउने कोसिस भइरहेको छ’ सांसद कागतेले भने, ‘प्रदेशको नामाङ्करण गर्दा सकेसम्म यस प्रदेशका सबै जातजाति, भाषाभाषी, भूगोल, इतिहास र सबै समुदायको भावनालाई समेट्ने छौं ।’

सांसद कागतेले प्रदेशको नामाङ्करण गर्दा कुनै न कुनै रुपमा पहिचानलाई समेत सम्बोधन गरिने बताए पनि यो वा त्यो नाम रहन्छ भन्ने चाँही आफुले अहिले नै बताउन नसक्ने बताए ।

सांसद कागतेले आदिवासी जनजातिहरुले हालसम्मको उपलब्धीको रक्षा गर्दै बाँकी उपलब्धी प्राप्तिका लागि अघि बढ्न आदिवासी अभियान्ताहरुलाई सुझाएका थिए । उनले आफू पनि आदिवासी समुदायको प्रतिनिधित्व गर्ने सांसद भएको भन्दै आदिवासीको अधिकारका लागि सधैं प्रतिवद्ध रहेको बताए ।

उनले आदिवासी जनजाति र राजनीतिक दल दुई भिन्न रहेको बताउँदै जुनसुकै पार्टीमा आस्था राख्ने भएपनि आदिवासी जनजातिको अधिकारका विषयमा खुलेर वकालत गर्न आग्रह गरे । ‘हामी जन्मदाँ पहिला जाति भएर जन्मन्छौं पछि मात्र पार्टीमा आस्था राख्छौं । जसरी अहिले देशमा कम्युनिष्टको सरकार छ । पछि परिवर्तन हुन पनि सक्छ, तर हामी आदिवासी त परिवर्तन हुँदैनौ’ सांसद कागतेले भने, ‘पार्टी र जाति दुई भिन्न विषय भएकाले जातिको कुरा जातीय समूहमा खुलेर राख्‍ने हो । त्यसका लागि पार्टीले बोल्न बन्देज लगाउन हुँदैन ।’

कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टि सम्बद्ध वक्ताहरुले आफूहरुलाई समुदायको बारेमा बोल्न र आदिवासीको आन्दोलनमा संलग्न हुन पार्टीले अंकुश लगाएको गुनासो गरेका थिए । प्रमुख अतिथि कागतेले त्यही गुनासोलाई समेत सम्बोधन गर्दै आफ्नो समुदायको बारेमा बोल्न नपाइले लोकतन्त्र नहुने र बोल्न अंकुह लगाउने पार्टी नहुने बताउँदै आदिवासीको पक्षमा खुलेर वकालत गर्न आग्रह गरेका थिए ।

कागते तत्कालिन नेकपा एमालेबाट इलामबाट प्रदेशसभामा प्रत्यक्ष निर्वाचित सांसद हुन् ।

कार्यक्रम नेपाल आदिवासी जनजाति महासंघ इलामका अध्यक्ष चक्र येक्तेन (अभिषेक) को अध्यक्षतामा भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार