किवीको गुणस्तर खस्किँदा मूल्यमा गिरावट

news

 

इलाम : किबी खेती फस्टाउँदै गए पनि गुणस्तरीय उत्पादन नहुँदा इलाममा यसको मूल्यमा गिरावट आएको छ ।

व्यवस्थापनमा कृषकले ध्यान नदिएका कारण सानो र कम तौल भएका किवी उत्पादन भएपछि उचित मूल्य पाउन कठिनाइ भएको हो ।

इलामसहितका पूर्वी जिल्लामा व्यावसायिक खेती भइरहेको किवी फलले उचित मूल्य पाउन सकेको छैन ।

भौगोलिक अवस्थितिअनुसार किवीको जात छनोट हुन नसक्नु तथा व्यवस्थापनमा कमजोरी रहेका कारण उत्पादन भएका अधिकांश फल कम तौलका र साना छन् ।

किवी फलको व्यवसायिक रुपमा उत्पादन र उचित मुल्य पाउनका लागि किवी बालीको व्यवस्थापनमा ध्यान दिन आवश्यक भएको किवी फल महासंघका महासचिव तथा किबी विशेषज्ञ सगुन उपे्रती बताउँछन् ।

प्रधानमंन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत किवी जोन सञ्चालनमा रहेको इलाममा किवी खेतीलाई व्यावसायीकरण गरिने उद्देश्य रहेको छ ।

पाँच सय हेक्टर क्षेत्रफलमा गरिएको किवी खेतीबाट बार्षिक पाँच सय टन उत्पादन हुने गरेको छ ।

धेरैजसो उत्पादन जिल्लामै खपत हुने र बाँकी काठमाडौँ, दिल्ली तथा दुवईमा समेत निर्यात् हुने गरेको छ ।

विदेशसम्म बजार विस्तारका लागि गुणस्तरीय उत्पादन गरे मात्र उचित मुल्य पाइने किवी जोन परियोजना सञ्चालक समितिका संयोजक देउ कुमार राईको भनाइ छ ।

एक बोटमा करिब दुईसय किलोसम्म उत्पादन हुने किवी मकैबारी ,चियाबारी र अलैचीका बोटमाथि थाँक्रा लगाएर रोपिएको छ ।

किवी फलमा १२ किसिमको फलफूलको स्वाद र १७ किसिमको प्रोटिन,भिटामिन र खनिज तत्वहरु पाइने भएकाले पनि यो पछिल्लो समय लोकप्रिय बन्दै गएको छ ।

जसलाई समुद्र सतहदेखि ८ सय मिटरदेखि  तीन हजार मिटर उचाइसम्मको वातावरण अनुुकूल मानिन्छ ।

उचाइअनुसार किवीको जात छनोट नगर्दा उत्पादनमा आएको ह्रासबारे सबैलाई सचेत गराउन आवश्यक छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार