इलाम : निरन्तरको वर्षापछि इलामका दर्जनौं ग्रामीण सडकहरुमा क्षति पुगेको छ । बाढी र पहिरोका कारण जिल्लाका अधिकाशं ग्रामीण सडकहरु भताभुङ्ग भएका छन् । ग्रामीण सडकहरु भत्किएपछि सर्वसाधारणलाई आवतजावत गर्न कठिन बन्दै गएको छ ।
सडकहरु भताभुङ्गा हुँदा जिल्लाका स्थानीय तहहरु सदरमुकामबाट सम्पर्क विच्छेद भएका छन् । वर्षाले ठाउँठाउँमा सडकहरु भत्किएका छन् । मुख्य र सहायक सडक यातायात सञ्चालन हुन नसक्ने गरी हिलाम्मे भएका छन् । सयौं ठाउँमा खाल्डाखुल्डी भएपछि सदरमुकाम र ग्रामीण क्षेत्र जोड्ने सडकहरु सञ्चालनमा कठिनाई भएको छ । दैनिक रुपमा जिल्लाका विभिन्न ग्रामीण क्षेत्रबाट झापा र पाँचथससम्म चल्ने लामो दूरीका बस र ट्याक्सी चल्न छाडेका छन् ।
वर्षाका कारण इलामबाट माङ्सेबुङ गाउँपालिका जोड्ने मंगलबारे–गजुरमुखी–इभाङ सडकमा पर्ने खोला तथा खहरेमा आएको बाढीले यातायात चल्न नसक्ने गरी सडक भत्किएको छ । अहिले इलामबाट माङसेबुङ गाउँपालिका गाडि पुग्दैन । गजुरमुखीबाट पैदल हिँड्नुपर्ने बाध्यता छ । त्यस्तै झापाको दमकबाट पाँचथरको रवि हुँदै उत्तरी इलामको रा“केबजारसम्म जोड्ने राष्ट्रिय विभूती फाल्गुनन्द मार्ग वर्षाकै कारण क्षतिग्रस्त भएपछि दुई सातादेखि बन्द छ ।
इलाम–माङसेबुङ, इलाम–इभाङ, इलाम–जीतपुर, इलाम–पञ्चमी, इलाम–रवि, इलाम–आमचोक, इलाम–फाकफोक, इलाम–एकतप्पा, इलाम–नयाँबजार, इलाम–आलुबारी, इलाम–जमुना, इलाम–प्याङ्ग सडक खण्डलाई पनि बर्षाले बढी मात्रामा असर पुर्याएको छ । अहिले यी सडकहरुमा सम्पूर्ण यातायातका साधानहरु चल्न छाडेका छन् । त्यहाँ दैनिक ५० भन्दा बढी भाडाका बस, ट्याक्सी, जीप र अन्य साना गाडीहरु सञ्चालन हुदैं आएका थिए । गाडीहरु नचल्दा सर्वसाधारणले दुई दिनसम्म पैदल हिँडेर सदरमुकाम आवतजावत गर्न बाध्य छन् ।
यस्तै बाटो बिग्रिएपछि दैनिक उपभोग्य सामग्रीहरु ढुवानीमा समेत समस्या भएको छ । बजारबाट उपभोग्य सामान गाउँसम्म लैजान र गाउँमा उत्पादित कृषिजन्य सामग्रीहरु बजार पुर्याउन समस्या भएको व्यापारीहरु बताउँछन् । सडक हिलाम्य भएको कारण धेरै ठाउँमा ट्याक्टर समेत हिडाउँन मुस्किल पर्ने गरेको उनले बताए । त्यसैगरी बाटो बिग्रिएकै कारण विरामी पर्दा समेत एम्बुलेन्स सञ्चालन नहुँदा घण्टौसम्म स्टेचर र डोकोमा बोकेर अस्पताल पुर्याउनुपर्ने समस्या सिर्जना भएको गाउँलेहरु बताउँछन् ।
सडक निरन्तरताभन्दा पनि ट्रयाक खोले पुग्छ भन्ने सोचाईका कारण यस्तो समस्या आएको अनुमान गर्न सकिन्छ । मर्मत संभार नभएका सडकहरुमा ठूला सवारीका साधनसँगै नियमित ट्याक्टहरु जबरजस्ती गरी कुदाउने गरेकाले सडकको अवस्था झनै जटिल बन्दै गएको स्थानीयको भनाई छ ।