आरक्षण !

  अन्वेश थुलुङ राई  426 पटक हेरिएको

अन्वेश थुलुङ राई

विषय चिरपरिचित हो । हामी नेपालीको बानी के छ भने हामी हाम्रो सानो कुवाजत्रो भुगोल हेरेर भ्यागुता जस्तो टरटराउँछौँ । इतिहास भन्ने कुरालाई उतिसारो वास्ता पनि गर्दैनौँ पो । आरक्षणको विषय नपचेको धेरै समय भइसक्यो । ‘‘योग्यता नै नभको मानिसहरु आरक्षणको बलमा माथि पुगे ।’’ भन्ने खालको कुरा गरेपछि कोहि बोलि पनि हाल्छन् । ‘‘ढिलो आयो तर कडा आयो ।’’ बहुत उदेक लाग्दो कुरा के भने उनीहरु आरक्षण भन्नाले टपक्कै टिपेरै राख्ने जस्तो बुझ्छन् । आरक्षणभित्र पनि उत्कृष्टहरुलाई नै प्राथमिकता हुन्छ, यो कुरा भुल्छन् ।

लेख्दा लेख्दै एकजनाले गुनासो लेख्नुभयो, ‘‘यो आरक्षण कोटाले गर्दा योग्य मानिसहरु खाडीमा छन् ।’’ धेरै कुरा यहाँ जोडिन सक्छ । पुस्तकको नाम बिर्सेँ त्यसको सानो प्रसंग म जोड्न चाहन्छु । अमेरिकाको एक विश्वविद्यालयले हरेक साल सयवटा छात्रवृत्ति दिँदो रहेछ जसमा चालिसवटा कोटा मेक्सिन विद्यार्थीहरुको लागि थिएछ । र गोरा विद्यार्थीहरुको आवेदन आउँदो रहेछ लगभग बिस हजारको हाराहारी । जसले स्कलरसीप पाए उनीहरुले पाए तर जजसले पाएनन् उनीहरुले भने ‘‘यी मेक्सिनहरुले हाम्रो सम्भावना खोसे ।’’ जस्ता प्रतिक्रिया दिँदा रहेछन् । लेखले के भन्छ भने, जम्मा चालिसवटा कोटा मात्रले गोराहरुको उन्नाइसहजार नौसय चालिस विद्यार्थी अटाउने कुरा वैज्ञानिक रुपबाट असम्भव छ । र त्यो कोटा भने त्यसै राज्यमा बस्ने अधिकाँश अशिक्षित मेक्सिनहरुको शैक्षिक स्थिति सुधार्नको लागि थियो । आरक्षण विषयमा टपक्क टिपेर थपक्क राख्ने जुन हाम्रो ह्यालुसिनेसन छ त्यसको विषयमा लागु गराउने हाम्रो पुरानो सरकारलाई किन पो यस्तो गराइस् ? भनेर सोधे कसो होला । फुर्सद हुँदा आरक्षण के हो के होइन ? भन्ने शिर्षकमा डा.मोम विश्वकर्माको नागरिक दैनिकमा प्रकाशित लेख पढे अझ प्रष्ट हुन्छ ।

खाडीमा रोजगारीको लागि जाने जुन क्षेत्री÷ब्राह्मण युवाहरुको मर्म लक्षित जुन प्रतिक्रिया थियो त्यहाँ नै बुझाईको कमजोरी छ । सरकारी कर्मचारी हुनु भनेको सिर्फ जागिर मात्र हैन । जुन पैसा आर्जनको स्थायी बाटो हो भन्ने हाम्रो बुझाई छ त्यो सरासर गलत छ । देशको नितिनिर्माण, निति कार्यन्वनको लागि कर्मचारीतन्त्रको महत्वपुर्ण भुमिका हुन्छ । वास्तवमा कर्मचारी हुनु भनेको प्रतिनिधित्व गर्नु पनि हो । कुनैबेला एकै जातिको बाहुल्यता मात्र रहेको कर्मचारीतन्त्रभित्र असमानता थियो । जातिगत हिसाबबाट नेपालका उच्च मानिने जातिका सपाङ्ग पुरुषहरुको संख्या अधिकतम थियो । अझ त्यसबेला त कर्मचारीहरुको शक्ति स्थानिय जनप्रतिनिधिभन्दा बढ्ता हुन्थ्यो । वर्गियताको कुरा गर्दै गर्दा ती शक्तिमा रहेका कर्मचारीहरुको ज्यादती थिएन र ? उनीहरु शासक थिएनन् भन्न सकिन्छ र ? खाडीमा जाने योग्यहरुको लिस्टमा सिर्फ हामी मर्माहत हुने जाति मात्र छैनन् । र आरक्षणले आरक्षित जाति सबैलाई पनि रोजगारी दिएर राखेको छैन ।

हरेक आन्दोलनहरुमा उग्रताहरु हलाहल विष जस्तो बनेर आउँछ नै । तर हलाहल आयो भन्दैमा आन्दोलनको मुद्धालाई छाड्ने कुरा आउँदैन । हाललाई आरक्षण सम्बन्धी बहस चलि नै रहेको छ । विरोध समर्थन भन्ने कुरा स्वभाविक हो । हाल समावेशीताको व्यवस्थाले महिलाहरुलाई अनिवार्य गराएको छ । कुनै बेला पोथी बासे धुरी कटाउने समाजले हाललाई गाउँघरको सानासाना विकासे योजनामा समेत महिलाहरुलाई सम्बोधन गर्न थालेको छ । यद्यपी फेरी पनि हामीले डाटा उठाएर हेर्ने हो भने ती विकास योजनाका लागि बनेका व्यवस्थापन समितिमा महिलाहरुको पद भनेको उपाध्यक्ष, कोषाध्यक्ष र सदस्य भन्दा हुन्न । आरक्षणको एउटा मर्म भनेको हामी पनि यहि देशका नागरिक हौँ भन्ने संवेदनशीलतासँग पनि जोडिन्छ । योग्यताको प्रश्न यहाँपनि उठ्ला तर कोहि आयोग्य छन् वा बनाइएको हो ? त्यो पनि सोच्न आवश्यक छ । कोहि किन पछि परेको छ भन्ने कुरा घुँडा धसेर रट्ने मानसिकताले मात्र थाहा हुन्न । हामीमा विद्यमान रहेको पितृसत्ता, वर्णव्यस्थाको ऐतिहासिक ज्वार कहिले पत्रिकाको फ्रन्टपेजमा त कहिले सामाजिक सञ्जालमा उम्लिरहेकै हुन्छ । कुनै जिल्लाको एक कुनामा बसेर कमेन्ट वा आफ्नो विचार ट्वीट गरेर यो बुझिनेवाला कुरै हैन । कुनै समाजले सिर्फ एकजनाको बोलीको भरमा मात्र भेदभाव गर्न सक्दैन । अन्यायको चरित्र शक्ति र समर्थनको इशारामा हुन्छ । समाजले नस्वीकारेसम्म, विरोध नगरेसम्म को कसरी बोक्सी हुन सक्छ, भेदभाव कसरी हुन सक्छ ? जहाँ शासन गर्ने वर्ग अन्याय गर्नसक्ने र अन्याय गरेर बच्न सफल हुने सम्मको हैसियत बोक्छ भने त्यस्तो परिस्थितिमा शक्ति सन्तुलनको लागि समेत आरक्षण आवश्यक छ । कर्मचारीतन्त्र पनि एक महत्वपुर्ण निकाय हो ।

एकबेला कुरा यस्तो पनि आयो । ‘‘दिएको कोटाजति पनि जनजातिहरुले नाम निकाल्न सकेनन् । पद खेर गयो । योग्यहरु पाखाकृत भए ।’’ कुनै परिक्षाको यस्तै नतिजा आएको थियो । यो पनि एक पक्षबाट सहि कुरा नै होला । पद खेर गयो । तर यसमा अर्को पक्ष समावेशीताको उद्देश्य अझै प्राप्ति नभएको पनि बुझ्न सकिन्छ । अझै पनि आदिवासी जनजाति मुलधारमा नआइसकेको रहेछ भन्ने पनि त हुन्छ ।

रह्यो कुरा वर्ग र वर्णको । वर्ग र जातिको । डा.भीमराव अम्बेडकर भन्छन्, दक्षिण एसियाको सवालमा वर्गको चरित्र वर्ण अनुसार छ । सम्पन्न भए पनि दलित दलित नै रहन्छ र विपन्न रहेपनि ब्राह्मण ब्राह्मण नै रहन्छ । वर्गिय रुपबाट विपन्न दलित र विपन्न ब्राह्मणमाझ वर्गको निर्माण आफैँ हुन्छ । यद्यपी हामीले लागु गरेका व्यवस्थाहरुको बहस भने समय समयमा रहिरहनु भने आवश्यक छ । समयअनुरुप हामीले लागु गरेका व्यवस्थाले समाजमा रहेका सीमान्तकृत जातिहरुलाई के कति फाइदा पुग्यो र के कस्तो कमजोरी रह्यो भन्ने विषयहरुमाथि बहस हुनसक्छ । अन्त्यमा, सावित्री तिवारीको कोशेलीको वर्ग कि जाति लेखबाट, बुझ्नैपर्ने कुरा के हो भने, आरक्षण भनेको गरिबी निवारणको परियोजना होइन । गरिबी निवारणको लागि सरकारले अनेक आर्थिक कार्यक्रम लागु गर्न सक्छ । यो सरकारको प्राथमिक काम हो । आरक्षणले लामो समदेखि चल्दै आएको खस–आर्यबहुल शासक÷प्रशासक वर्गको अविन्छिन्न एकल आरक्षण भत्काएर सबैको अपनत्वसहितको समावेशी राज्य निर्माणको बाटो खोल्ने हो ।…

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार