अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको निर्माणकार्य पुनः सुरु

  प्रनिश थापा
0 Shares

चितवन : चितवनको रामपुरमा निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको निर्माण कार्य मंगलबारदेखि पुनः सुरु भएको छ ।

रंगशाला निर्माणको लागी डीपीआर बनाउने र वातावरणीय प्रभाव मूल्यांकन ईआईए तथा ग्राउण्ड निर्माणको काम भइरहेको समयमा सतारुढ दलका निलम्बित कार्यकर्ताद्वय प्रकाश कंडेल र भैरव बास्ताकोटीको नेतृत्वमा आएका केही अराजक समूहहरुले भत्काइदिएपछि रोकिएको थियो ।

पश्चिमतर्फको सडक बाटो विस्तारका विषयलाई लिएर रगंशाला सुरक्षाका लागी लगाइएको तारबार डोजर लगाएर भत्काइदिएपछि गएको जेठ १५ गतेदेखि स्थगित भएको झन्डै दुई महिनापछि मंगलबारदेखि सुरु गरिएको हो ।

ठूलो लगानीमा राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको रगंशाला निर्माण सम्पन्न गर्न जनस्तरबाट सहयोग जुटाउन लागिपरेको फाउण्डेशनले देश विदेशबाट सहयोग जुटाउँदै आएको थियो । तर, बार भत्काएको घटनापछि यहाँको माहोल बिग्रिन गएपछि चितवनका राजनैतिक दल, जिल्ला समन्वय समिति, भरतपुर महानगरपालिका र स्थानीय सरकारबीच बसेका बैठकले फाउण्डेशनलाई काममा फर्कन आग्रह गरेका थिए ।

पछिल्लो पटक गएको असार ४ गते जिल्ला समन्वय समिती चितवनका प्रमुख कृष्णकुमार डल्लाकोटी र भरतपुर महानगरपलिका प्रमुख रेणु दाहालले असार ४ गते सयुंक्त विज्ञप्ती नै जारी गरेर फाउण्डेशनलाई काममा फर्कन अपिल गरेकी थिइन् ।

त्यसलगतै फाउण्डेशनले विज्ञप्ती नै निकालेर काममा फर्कने बताएको थियो । सरोकारवाला निकायको प्रतिबद्धता र रोहवरपछि फाउन्डेसन काममा फर्किएका हुन् । रंगशाला निर्माणका मजदुरहरु पनि हिजोबाट नै काममा खटिसकेका छन् । बन्द रहेको फाउण्डेशनको साइट कार्यालयहरु पनि खोलिएको छ । मंगलबार बिहानबाट रंगशालाको फिल्ड कार्यालय खोलिएको धुर्मुस-सुन्तली फाउण्डेशनका अध्यक्ष एवं कलाकार सिताराम कट्टेलले फिल्डमा गर्न मिल्ने सबै काम सुरु गरिएको जानकारी दिए ।

यता, रंगशाला निर्माणको काम गरिरहेको धुर्मुस-सुन्तली फाउण्डेशनका अध्यक्ष सीताराम कट्टेलले रगंशालाको निर्माणको काम सुरु गरेका छन् । धुर्मसले विहान झरीमा रुजेरै रंगशाला निर्माणको काम था थालेका हुन् । रंगशाला निर्माणमा खटिएका अध्यक्ष धुर्मसले बेल्चा, गल र रड बोकेर रंगशाला निर्माणको काम अघि बढाएको सन्देश दिए । उनलाई चितवन क्षेत्र नं २ (२) का सांसद विजय सुवेदीले साथ दिएका थिए ।

फाउण्डेशनका निर्माण सम्वद्ध कर्मचारीहरु यहि कार्यालयमा बसेर थप कामलाई अघि बढाउने फाण्डेशनका अध्यक्ष कट्टेलले बताए । निर्माणमा खटिने थप कामदारहरु मंगलवार साँझसम्म साइटमा आइपुगिसकेको उनको भनाइ छ ।

यस्तै, सत्तारुढ नेकपाका ३ नम्बर प्रदेशका सांसद बिजय सुवेदीले चितवनको गौरवको आयोजनाका रूपमा लिइएको क्रीकेट रंगशालामा गएको जेठ १५ गते नहुनु पर्ने घट्ना भएको र त्यो घट्ना अहिले साम्य भइसकेकोले अब सबै एकैसाथ मिलेर अघि बढ्नुपर्ने बताए ।

कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरको २० विघा जमिनमा फाउण्डेशनले ३ अर्ब रुपैयाँ संकलन गरेर अन्तराष्ट्रिय स्तरको क्रिकेट रंगशाला बनाउन लागेको हो । २०७५ माघ १६ गते काठमाण्डाैमा प्रधानमन्त्रीको उपस्थितिमा भरतपुर महानगरपालिका र धुर्मुस सुन्तलीफाउण्डेशनको बीचमा रंगशाला बनाउने विषयमा सम्झौता पत्रमा हस्ताक्षर गरिएको थियो ।

२५ हजार दर्शक क्षमताको अत्याधुनिक सुविधासम्पन्न रंगशाला निर्माण गर्ने लक्ष रहेको छ । विश्वस्तरीय प्यारापिटमा बसेर खेल हेर्न सकिने यो रंगशालामा चारवटा ढोका हुनेछन् । १३५ मिटर ब्यासमा बन्ने रंगशालामा देश विदेशबाट आउने विशिष्ट व्यक्तिका लागि विशेष लबिको व्यवस्था हुनेछ ।

अन्तर्राष्ट्रिय मापदण्डमा बन्ने यो रंगशाला आफ्नैपन झल्कने नेपाली जनताको सहयोगबाट बनेको विश्वकै नमूना र जनस्तरबाटनिर्माणभएको पहिलो रंगशाला हुनेछ । रंगशालामा क्रिकेटबाहेक फुटबल, भलिबल, बास्केटबल, ब्याडमिन्टन, तेक्वान्दो, डन्डीबियो, स्विमिंङलगायतको खेल खेल्न सकिने संरचना पनि बन्ने लक्ष राखिएको छ । रंगशाला निर्माणस्थलको सुरक्षाका लागी अहिले प्रहरी नायव निरीक्षक नारायण श्रेष्ठको नेतृत्वमा त्यहाँ ६ जना प्रहरीलाई २४ सै घण्टा खट्ने गरि परिचालन गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार