वर्षासँगै फाल्‍गुनन्द मार्ग अवरुद्ध, स्थानीयलाई सास्ती

वर्षातले क्षतिग्रस्त  फाल्गुनन्द मार्गको माङसेबुङ भञ्ज्याङ सडक खण्ड मर्मत गर्दै स्थानीय । तस्वीर : राजहाङ लाओतीको फेसबुकबाट

इलाम : केही दिनदेखि लगातार परेको वर्षातका कारण झापाको दमकबाट रविसम्म जोड्ने दमक-चिसोपानी-रवि सडक (फाल्गुनन्द मार्ग) अवरुद्ध बनेको छ ।

वर्षाले सडकको अधिकांश क्षेत्र क्षतिग्रस्त भएपछि यातायात सञ्चालन हुन सकेका छैनन् । वर्षाले कच्ची सडकमा ठूलठूला खाल्डाहरु बनेका छन् । यातायात सञ्‍चालन नहुँदा स्थानीयको जनजीवन प्रभावित बनेको छ ।

पुर्वी पहाडी जिल्ला इलाम र पाँचथरका विभिन्न क्षेत्र छुने कच्ची सडकमा गाडीहरु चल्न नसक्दा हजारौं बासिन्दा प्रभावित बनेका हुन् । सडक निर्माणमा राज्यको चासो जान नसकेका कारण वर्षातको समयमा सो सडकमा सवारी साधन चल्न सक्दैनन् ।

रतुवा खोलाको किनारै किनार पर्ने दमक-लारुम्बा सडक खण्डको १७ किलोमिटर दुरी वर्षातले बढीक्षतीग्रस्त भएको स्थानीयले बताएका छन् । खोलामा आएको बाढीले सडक भत्किएर लथालिङ्ग भएपछि ट्याक्टर चल्न पनि मुस्किल परेको स्थानीयको भनाई छ ।

सो मार्ग बन्द भएपछि अहिले ६ नम्बर बुधबारे हुँदै पाँचथरको कन्याटारको बाटो प्रयोग गर्नु परिरहेको छ । हिउँदमा सहज रुपमा बस र ट्याक्सीहरु गुड्ने भएपनि वर्षात सरु भएपछि रतुवा खोलामा बाढी आउनसाथ कुनै प्रकारको सवारी साधन चल्न सक्दैनन् । सडकमा नियमित सवारीका साधन नचल्दा आउजाउमा कठिनाई छ । उपभोग्य सामाग्री ढुवानी गर्ने ट्रक र ट्याक्टरसमेत चल्न कठिन भएको छ । सडक क्षतिग्रस्त नहुञ्जेलसम्म सो मार्गमा दैनिक दर्जन बढी ट्याक्सी, बस, ट्रक र ट्याकटरहरु सञ्चालन हुँदै आएका थिए ।

पूर्वी पहाडी जिल्लाहरुलाई जोड्ने सबैभन्दा छोटो दुरीको सडकको रुपमा रहेको यस सडकको १२ किलोमिटर रतुवाको किनार मात्र पर्दछ । झण्डै तीन दशकदेखि निर्माण सुरु गरिएको सडकले यतिका दिनसम्म पनि पूर्णता पाएको छैन ।

यात्रुवाहक सवारी सधान चल्न छाडेपछि होटललगायतका अन्य व्यवसाय समेत ठप्प भएका छन् । यो सडकसँग आश्रित पाँचथरका बासिन्दा समेत उत्तिकै प्रभावित छन् ।

झापाको विर्तामोडबाट माई नगरपालिकाको दानाबारी र महमाई हुँदै लारुम्बा जोड्ने सडकमा पनि यातायातका साधन चलेका छैनन् । माइ नगरपालिकाको महमाई र दानावारीबीचको माइखोलामा पुल नहुदा बर्खालाग्न साथ सडक अवरुद्ध हुने गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार