लोकसेवाको असमावेशी विज्ञापनविरुद्ध इलाममा जुलुस र प्रदर्शन (भिडियो/फोटो फिचर)

  राम योङहाङ  400 पटक हेरिएको

इलाम : लोकसेवा आयोगले गत १५ जेठमा स्थानीय तहका लागि गरेको विज्ञापन समानुपातिक र समावेशी विरोधी रहेको भन्दै आन्दोलनमा उत्रिएको उत्पीडित समुदायहरुले मंगलबार इलाममा सिठी जुलुस र प्रदर्शन गरेका छन् ।

नेपाल आदिवासी जनजाति महासंघको संयोजनमा आदिवासीजन्य संघसंगठन, युवा, विद्यार्थी, महिला, दलित, सीमान्तकृत, अपाङ्गता भएका व्यक्तिलगायतको सहभागीतामा लोकसेवा आयोगको आरक्षणविरोधी विज्ञापन खारेज गरी नयाँ समावेशी विज्ञापन खुलाउन माग गर्दै इलाम बजारमा प्रदर्शन गरेका हुन् ।

इलामको ठूलो टुँडीखेलबाट सुरु भएको जुलुस र र्‍यालीले इलाम बजार परिक्रमा गरी चोबकजारमा आएर कोणसभामा परिणत भएको थियो । प्रदर्शनमा सरकारका साथै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित र लोकसेवा आयोगका अध्यक्ष उमेशप्रसाद मैनालीविरुद्ध चर्को नाराबाजी भएको थियो ।

संविधानअनुसार लोकसेवाले विज्ञापन सच्चाएर समावेशी विज्ञापन जारी नगरेसम्म आफूहरुको आन्दोलन नरोकिने आन्दोलनमा सहभागी वक्ताहरुले बताएका छन् । उनीहरुले कुनैपनि हालतमा परिक्षा संचालन हुन नदिने चेतावनी समेत दिएका छन् ।

कार्यक्रममा नेपाल आदिवासी जनजाति महासंघ इलामका अध्यक्ष चक्र येक्तेन (अभिषेक), किरात राई यायोक्खाका केन्द्रीय सचिव कृष्णकुमार खालिङ, युवा विद्यार्थी इश्वरी तामाङ, महिला नेतृ संगीता थामी, दलित अधिकारकर्मी मनकुमार बराइलीलगायतले सम्बोधन गर्दै असमावेशी र विभेदपूर्ण विज्ञापन तत्काल खारेज गरी नयाँ समावेशी विज्ञापन जारी गर्न सरकार र लोकसेवा आयोगलाई आग्रह गरे । उनीहरुले कार्यपालिका, न्यायपालिका र व्यवस्थाविका समेत मिलेर समानुपातिक समावेशीतालाई सिध्याउन लागेको आरोप लगाउँदै तत्काल सच्याएर समस्याको समाधान गर्न सम्बन्धित पक्षको ध्यानाकर्षण समेत गराएका थिए ।

लोक सेवा आयोगले स्थानीय तहमा कर्मचारी भर्नाको लागि नौ हजार १ सय ६१ जना कर्मचारीको लागि विज्ञापन जारी गरेको थियो । उक्त विज्ञापनमा संविधानअनुसार आरक्षणको व्यवस्था नगरिएको भन्दै सर्वोच्चमा समेत रीट दायर भएको छ । सर्वोच्चमा मुद्दा विचाराधीन रहेको अवस्थामा आदिवासी समुदायसहित उत्पीडित समुदायहरु सडक छन् ।

भिडियो हेर्नुस :

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार