तीन दिन देखिको बर्षाले इलाममा के-के भयो ?

  नयाँ बुलन्द  389 पटक हेरिएको

इलाम : स्थानीय तहले जथाभावी सडक लगायत बिकास निर्माण संचालन गरेका स्थानमा लगातारको बर्षाले बिजुलीका पोल बगाउदा ठूलो क्षती भएको छ । केहि दिन देखिको लगातार बर्षाका कारण इलाम जिल्लाका बिभिन्न स्थानमा २२ वटा बिजुलीका पोल बगाएको छ भने दुईवटा ट्रान्सफर्मरमा क्षती गरेको हो ।

This image has an empty alt attribute; its file name is Bijuli-2.jpg

हिउँदका समयमा स्थानीय तहले जथाभावी निर्माण गरिएका सडकका आसपासका बिद्युतपोल लगातारको बर्षाले बगाउदा इलामको लक्ष्मीपुर, नयाँबजार लगायतका स्थानमा बिद्युत सेवा समेत अवरोध भएको छ ।

सूर्योदय नगरपालिका १३ र १४ लक्ष्मीपुर जाने बाटोमा फिक्कल सवस्टेशनको लक्ष्मीपुर फिडरको ११ के.भी.लाईनमा १४ वटा बिद्युत पोल पहिरोले बगाएको छ । पोल बगाए पछि बिद्युत अवरोध हुँदा उक्त क्षेत्रमा दूध र चिया कारखाना प्रतक्ष प्रभाबित भएका छन् । इलाम फिक्कलको भालुखोपमा ३३ के.भी. प्रसारण लाईनको १ थान बिद्युत पोल पहिरोले बगाएको छ ।

This image has an empty alt attribute; its file name is bijuli-3.jpg

यस्तै माईजोगमाई गाउँपालिकाको कार्यालय भवन पछाडी ५ थान बिद्युत पोल पहिरोले बगाएको छ । बिद्युत पोल बगाए पछि उक्त क्षेत्रमा बिद्युत सेवा अवरुद्ध भएको गाउँपालिका अध्यक्ष जीतबहादुर राईले जानकारी दिनु भयो ।

नेपाल बिद्युत प्राधिकरण इलाम बितरण केन्द्रका प्रमुख रविनबाबु घिमिरेका अनुसार इलाम नगरपालिकाको सिलिखान स्थित ट्रान्सफर्मर टावरको मुनीबाट भलले माटो काटी ढल्ने अवस्थामा पुगेको छ । उक्त क्षेत्रमा पानीको भल तरकाएर ट्रान्सफर्मर सार्ने काम भैरहेको छ । यस्तै इलाम जिल्ला अस्पतालको ट्रान्सफर्मर टावर पनि पहिरोको जोखिममा रहेको छ ।

उता चुलाचुली गाउँपालिकामा ११ के.भी.प्रसारण लाईनको एकथान पोल बाढीले बगाएको छ ।

स्थानीय तहले सडक निर्माण गर्दा बिजुलीका पोललाई ध्यान नदिएका कारण धेरै स्थानमा बिद्युत पोल जोखीममा परेको पाईएको छ । जथाभावी खनीएका सडक आसपासका बिद्युतपोल ढल्ने क्रम जारी रहेको पाईएको छ । स्थानीय तहले सडक निर्माण गर्दा नेपाल बिद्युत प्राधिकरण संग समन्वय गरेर काम गर्नु पर्ने प्रावधान भए पनि स्थानीय तहले प्राधिकरण संग समन्वय नै नगरी काम गरेको पाईएको छ ।

इलाम बितरण केन्द्रका प्रमुख घिमिरेले भन्नु भयो ‘हामीले स्थानीय तहलाई तीन पटक सम्म समन्वय गरेर काम गर्न पत्राचार गर्दा पनि उहाहरुले समन्वय बिनै काम गर्नु भयो, अहिले जताततै समस्या आएको छ । ’ प्रमुख घिमिरेले क्षती भएका स्थानमा तत्काल कर्मचारी पठाएर मर्मतको काम गरिरहेको जानकारी दिनु भयो ।

पहिरोले बिद्युतपोल बगाए पछि संगै अन्धकार बनेका क्षेत्रका चिया, दुध कारखाना संचालनमा समेत समस्या भएको छ । पोल र ट्रान्सफर्मर बगाउदा २० लाख बढीको क्षती भएको प्राधिकरण कार्यालयले जनाएको छ । दुई दिन भित्रमा सबै ठाउँ बिद्युत सुचारु गरीसक्ने समेत कार्यालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार