एलबि दाई ..

  अन्वेश थुलुङ  304 पटक हेरिएको

अन्वेश थुलुङ

‘‘….भाइ, लु बधाइ छ । आज पोष्ट (इलाम पोष्ट)मा लेखेको आर्टिकल पढेँ । गज्जब लाग्यो । यो लेख त राष्ट्रिय स्तरको छ भाइ ।’’ एलबी दाइले बिहानै फोन गरेपश्चायत मलाई भन्नुभएको थियो । ‘‘तिम्रो लेखमा आउने मानिसहरु, केन्द्रमा रहेकाहरु होइनन् । तिम्रो लेखमा आएका स्थानिय पात्र र विचारहरु तिमीले बचाएको छौ नी, त्यो नै गज्जब कुरा हो । कसले दिन्छ र त्यस्तो स्पेश ?’’ प्रायः मेरो लेख पढेपछि दाइ मलाई सम्पर्क गरिहाल्नुहुन्थ्यो । तात्तोचानको विषयमा मैले लेखेको लेख भने दाइले खण्डन गर्नु भएको थियो । वैचारिक रुपबाट हामी समर्थक आलोचक दुवै थियौँ एकअर्काको तर व्यक्तिगत रुपबाट हरेक तर्कको मुस्कानसँग हामी अन्त्य गथ्र्यौँ ।
आठ साल अघि सामसुङ्ग ब्रान्डको मोबाइल बोक्ने एकदमै कम साथीहरु थिए । स्लाइड गर्न मिल्ने एक नीलो मोबाइल थियो, सामसुङ्गको । उज्वल (शर्मा) र सुवास (लुइटेल) बाहेक त्यो मोबाइल बोक्नेहरु म चिन्थिन । आखिर जमाना नोकियाको थियो । एप्पल भन्ने कुरा त्यसबेला गुगल सर्च इन्जिन हुन अघिको अमेरिका जस्तै थियो । धेरै परको कुरा, कहाँ छ थाहा पनि छैन जस्तो ।

समय यस्तरी बद्लिन्छ भन्ने कुरा कसले सोचेको थियो होला र ? फेसबुक, इमेल, ट्वीटर, इन्सटाग्राम हाम्रो सपनामा सम्म पनि थिएन । लेखको लेखक बिर्सेँ तर उनकै लेखकै आशयजस्तै, आजकल म आफैँलाई पनि लाग्छ, नेपाललाई विश्वव्यापीकरणले घिसारेर प्रविधिको युगमा ल्याएको छ । नत्र हाम्रै इभल्युसनले नै गरेर वाइफाइ, एन्ड्रोइडको जमानामा हामी पुगेकै होइनौँ । उपभोक्ता भएकाले समानहरु खरिद गरेर यो स्थितिसम्म पुगेका हौँ भन्ने भ्रममा बाँचेको छौँ जस्तो लाग्छ । जे होस् मोबाइलको डाटाबाट नेट चल्छ भन्ने सुनेपछि मैले गुगलमा धेरै रात बिताए । वान जि, टु जि, थ्री, फो जि भन्दा पनि त्यसबेला मोबाइल हुने भनेको ‘बिजि’ थियो तर पनि हामीलाई त्यसबेला गुनासो थिएन । आजकल सर्भर ढिलो चलेकोमा एमविपिएस ढिलो चलेकोमा मोबाइल फुटाउला जस्तो खालको आक्रोसपुर्ण समय आइसक्यो । प्रेमीहरुको म्यासेन्जरमा रिप्लाई ढिलै भएकै कारण ब्रकअप परिरहने जमाना न हो यो । खैर, त्यो नोकिया कम्पनी चलेको बेला सुदिप (श्रेष्ठ) दाइहरु हामी पढ्ने आर्दश उच्च मा.विमा युएसएडको युवा कार्यक्रम लिएर आउनुभएको थियो ।

स्वर्गीय एलबि वनेम

सो कार्यक्रम इलाम नगरपालिकाभित्र ३ शैक्षिक संस्थामा चलेको थियो जस्तो लाग्छ । संघीयता, विकेन्द्रीकरण, असल शासन, गणतन्त्र, लोकतन्त्र आदि विषयमा भएको अन्तरक्रियात्मक कार्यक्रमहरुमाझ हामीलाई सहभागी गराइएको थियो । एक प्रसंगको एकदम याद आउँछ । त्यसदिनको अन्तरक्रिया कार्यक्रमको संयोजकत्व मैले गरेको थिएछु क्यार । (हाम्रो उच्च मा.विको युवा संयोजक मदन घिमिरे थिए ।) कार्यक्रम सकिएपश्चायत मैले, ‘‘….र यसैसँगै आजको कार्यक्रम समापन भएको घोषणा गर्दछु ।’’ भनेको थिएँ । यसको प्रतिक्रिया स्वरुप सुदीप दाइले भनेको याद आउँछ, ‘‘हामी असल शासनको विषयमा बोलिरहेका छौँ, त्यसो हुँदा यो घोषणा भन्दा पनि समापन भएको जानकारी गराउन चाहन्छु भन्दा अलि शासकिय नसुनिएला ।’’ त्यो बेला हामीले सिकेका धेरै कुराहरु याद उतिसारो छैन तर यो कुरा भने आजको दिनसम्म लागु गर्ने गरेको छु । एलबी दाइ त्यहिदिन महेन्द्र रत्न बहुमुखी क्याम्पसबाट आउनुभएको थियो । त्यसदिन हो पहिलोचोटी दाजुलाई देखेको ।
त्यहि सेरोफेरोमा युवामेला विव्ल्याँटेमा हुने भएको थियो ।

युएसएडको सो युवा कार्यक्रममा सम्मिलित सबै युवा विद्यार्थीहरुलाई एकै स्थानमा ल्याउने कुरा थियो । ‘‘सफ्टवेयर भन्दा हार्डवेयरको आवश्यकता छ हाललाई ।’’ नवीन (चौहान), मिलन (खत्री) लगायतका केहि साथीहरु खाली अह«ाउने प्रवृत्ति भएका साथीहरुलाई कटाक्ष गर्दै बाँस बोकिरहेका थियौँ । त्यसबेला सम्म बलियोबाङ्गो अनि अलि उमेर खाको जस्तो लाग्ने मान्छेको रुपबाट दाइसँग हल्का बोलचाल हुन थालिसकेको थियो । आफ्नै उच्च मा.वि.मा युवा कार्यक्रमकै बखत देखाएको नाटक हिट खाइसकेपश्चायत हामीले सो नाटक विव्ल्याँटेको युवा मेलामा पनि देखाउने भयौँ । आखिर जिल्लाभरिका विद्यालयहरुमाझ प्रतिनिधित्व गर्नु कुनै विश्वकप खेलिरहेको खेलाडीको भन्दा कम कम्पिटिसनको मानसिकता थिएन ? नाटक वहाँ पनि हिट खायो । एलबी दाइले त्यहाँबाट मलाई अलि मज्जले चिन्न थाल्नुभयो ।
साथी इश्वरी (तामाङ्ग) आजसम्म पनि मलाई उसको हराएको पुस्तकको आरोप लगाउँछ । तर हालसम्म हाम्रो पुस्तकको वास्तविक हिसाबमा भने मेरो पल्ला भारि छ । यद्यपी साथी अध्ययनशील छ । अँ प्रसंगमा जाउँ, मेरो पुस्तक पढ्ने बानीको विकास भएको धेरै भएको थिएन । केहि पुस्तकहरु बल्ल तल्ल छिचोल्दै थिएँ । त्यससमय, उसको र मेरो पुस्तकउपर छलफल र बहस चलिरहन्थ्यो । हामी दुइ कहिले भिन्न मत राख्दै तर्क गथ्र्यौँ, त कहिले सहमत भएर एक अर्कालाई पुरा गथ्र्यौँ ।

त्यस्तै दिनचर्याहरुकै एक दिनचिर्यामा मैले सोधेको थिएँ उसलाई, ‘‘इलाममा पढ्ने युवाहरु खासै भेटिदैँन त यार । को को पढ्छन् हौ ?’’ उसले एलबी दाइको नाम लिएको दिन म छक्कै परेँ । हेर्दैमा ज्यान (न)परेको मान्छे पनि पढ्छ र ? त्यस्तो बढिबिल्डरजस्तो । त्यसो त धेरै समयसम्म मलाई रोशन (खाप्तुवा) दाइ पनि पढ्छन् जस्तो लाग्दैन थियो । एकदिन मलाई नयन राज पाण्डेको कथासंग्रह चकलेटको कथाहरु सुनाउँछन् त बा । ‘‘एलबी दाइले पढ्न दिएको पुस्तक मध्य मन परेका पुस्तक चैँ त्यो हो ।’’ र त्यसदिन यस्तरी दुइ अकल्पनीय घटना घट्यो । एक एलबी दाइ अध्ययनशील छन् भन्ने प्रमाणीत भयो । दुइ रोशन दाइ पनि पढ्दा रैछन् भन्ने थाहा भयो ।
पुस्तक बहसको चर्चा होटलको टेबलहरुमा गर्दै जाँदा पढ्ने युवाहरुको गिन्तीमा मेरो नाम पनि आउन थालेपछि एउटा नयाँ कुरा भयो । एलबी दाइले एकदिन बाटामा जम्काभेट भको दिन इलाम चौतारीमा बोलाउनु भयो । हाल आएर गणेश खनियाँ सरले गर्नुभएको त्यो प्रयास कति सान्दार थिएछ भन्ने कुरा मलाई महशुष भइरहन्छ । वैचारिक रुपबाट सुन्दर हुन्छन् मानिसहरु । उनीहरुको विचारले ठाउँ पाउँदा, सुन्ने अवसर पाउनुले समाजका सम्पुर्ण प्रगतिशील सोचहरु चलायमान हुन्छन् । इलाम चौतारीले त्यस्तै युवा जमातको निर्माण गरेको थियो जस्तो लाग्छ । हाल म टेड एक्स हेरिरहन्छु अनि इलाम चौतारीको इतिहासलाई नियाल्छु । विचारहरु चलायमान हुनैपर्छ । हो त्यहि कार्यक्रममा मलाई दाइले बोलाउनु भएको थियो । दुइ चोटी कार्यक्रम नभुलेको दिन गएँ सायद, मलाई त्यो भन्दा बढ्ता याद छैन । हामी त्यसबेलासम्म एकअर्कासँग परिचित हुन थालिसकेका थियौँ । दाइ इलाम चौतारीको संयोजक हुनुहुन्थ्यो केहि समय ।

इलाममा यसै पनि कुनै कुरा सन्सनी हुन कुनै सोसियल मिडिया नै चाहिँदैन यसै बढिहाल्छ । हाम्रो भेटघाट घनिष्ट भइसकेको थियो । ‘‘एलबीले भञ्ज्याङ्गमा जग्गा लिजमा लिएर फार्म खोलेको छ रे । ….सुँगुर, कुखुरा, सब्जी सबैको अग्र्यानिक आन्दोलन गर्ने रे ।’’ यस्तै सुनिन्थ्यो । दाइ त्यसपश्चायत पहिलेजस्तो उतिसारो भेटिनुहुन्थेन । र म पनि त्यससमय नाटक, कथा, आदिमा व्यस्त हुन थालेको थिँए । इलाममा हुने साहित्यिक, अन्तरक्रिया कार्यक्रम उतिसारो छुटाउनुहुन्थेन दाइले । र, वहाँसँग जहिल्यै पनि पुस्तकहरुकै सेरोफेरोसँगै कुराको सुरुवात हुने गथ्र्र्योे । त्यसबेला भन्नुहुन्थ्यो । ‘‘भाइ, सम्पत्ति कति जोडिन्छ थाहा छैन । पुस्तक चैँ दुइ लाख जातिको किनिसकेछु । त्यसको चैँ बहुतै माया लाग्छ । अब गाउँमा एउटा लाइब्ररी बनाउने मेरो सोच छ । …त्यो जोन उडले जब बाहुन डाँडामा पुस्तक पु¥याउँछ नी त्यसबेला बच्चाहरु पुस्तक ल्याएको खच्चड हेर्नलाई रुखबाट, बारीबाट, मुस्कुराउँदै हेरेको बताउँछ नी….. । भाइ मन यस्तरी कटक्कै खायो नी । अमिलै भयो ।’’
केहि समयपछि भञ्ज्याङ्ग फार्ममा पुग्दा वहाँको घुँडाको लिगामेन्ट च्यातिएको थियो । म मेरो डिएसएलआर बोेकेर वहाँ बस्ने घरतिर झरेको थिएँ । दाजु मलाई आफैँले बनाएको बाँसको फलैँचामा पर्खिरहनुभएको थियो । त्यसो त त्यहाँ सब बाँसको थियो, दाइ आफैँले बनाएको । देश त्यतिबेला पेट्रोलको सर्टेज भोगिरहेको थियो । टिभिमा काठमाडौँमा छतमा बसेर यात्रा गरिरहेको यात्रुहरु देख्दा आफू राकेँ जाँदा छतमा बसेको पुरानो यादहरु ताजा हुन आउँथ्यो । र त्यससँगै दाइ आफ्नो बिक्रिको लागि तयार भएको सुँगुर आफ्नै खर्चले थेगिरहनु भएको थियो । ‘‘गर्छु भनेर मात्र हुदैँन रैछ भाइ । दुःख गरेर अग्र्यानिक टमटर फलायो आफैँ लगेर बेच्दा पनि मानिसहरुलाई त्यो चाहिँदैन । यो बजार व्यापारीले चलाको छ हौ भाइ । अग्र्यानिक अग्र्यानिक भन्छन् । फलायो । महँगो भो भन्छन् किन्दैनन् ।’’ दाइले धेरै समयसम्म आफ्नो कुरा सुनाइरहनुभएको थियो । ‘‘भाइ अब हेर त, पुर्वमा विशेषतः सुगुँर खाने मानिसहरु बस्छन् । यताको विशेषता यो हो । तर यसपटक कृषिमा प्रपोजल हालेको चार ओटा गाइ फर्मलाई अनुदान प¥यो । त्यसमाथि ती पनि सब हुनेखानेको । अनि भन कहाँ छैन विभेद ?’’ त्यो अमुल्य मुस्कानमा छिपेको कुराहरु यस्तै थिए । म मुस्कान र केहि फोटोसँगै त्यहाँबाट बिदा भएँ ।

दाजुसँगको भेट भनेकै घरिघरि हुनेगर्थे अनि त्यहि घरिघरि मध्ये, भेटेकै एकदिन भन्नु भएको थियो, ‘‘भाइ अब म गाउँ जान्छु । आमासँगै बस्छु । एक्लो छोरो परियो ।……’’ यसपश्चायत दाइसँग उहि फोनमा कहिले काँहि बातचित मात्र हुने गर्थे । हामीले धेरैपटक आफैँलाई ग्रीन टिहरुसँगै साटेका छौँ । वहाँ आफ्नो अनुभवलाई धेरै किताबी रिफ्रेन्स लिएर बोल्ने गर्नुहुन्थ्यो । आफ्नो गाउँको राजनैतिक, अर्थिक, सामाजिक अनि व्यवहारिक जिन्दगीको बारेमा आफ्ना विश्लेषणहरु सुनाउनुहुन्थ्यो । ‘‘पोल बोक्न हामी यता माथि आको छुम् हौ भाइ । तिम्लाई म भरै कल गर्छु ल ।’’ उकालोमा बलपरेसरि मान्छेहरुको हल्लामाझको आवाज म कहिले सुनिरहेको हुन्थेँ त कहिले सानो स्वरमा, ‘‘भाइ म अहिले फिदिम विद्यालयको मिटिङ्गमा छु ल, भरै कल गर्छु ।’’ सुनिरहेको हुन्थे । र पनि हामी कहिलेकाँहि भेट हुन्थ्यौँ ।

थाहा छैन हामी कहाँ कहाँ सहमति र असहमतिको कित्तामा उभिएर बहस ग¥यौँ । मैले जान्दा हामीले गफ नगरेको विषयहरु थिएनन् । द गड मस्ट बि क्रेजीको वहाँ कुरा जहिल्यै गरिबस्नुहुन्थ्यो । ‘‘भाइ त्यस्तो ठाउँमा पनि मानिसहरुले आफ्नो जीवनलाई बाँची रहेकै हुन्छन् है । …त्यसमाथि एउटा बोतलले मानिसहरुमाथि गरेको शासन, भाइले हेरेको छौ नी ?’’ म मुस्कुराएर छु भनेर टाउको हल्लाउँथे । गिजुभाइको पढाउने शैलीको वहाँ फ्यान हुनुहुन्थ्यो । मेरो म्यासेज इन्बक्समा वहाँको ‘‘फलानो पुस्तक राम्रो छ है भाइ, पढ ।’’ भनेको म्यासेज आइरहन्थ्यो । कहिले, ‘‘कुन कुन नयाँ फिल्म छ हौ भाइ ?’’ भनेर सोध्नुहुन्थ्यो ।

पक्का पनि मेरो दाइ त्यसदिन गिजुभाइ मनमा राखेर मञ्चमा उभिनु भयोहोला । आँखाअगाडी देखिएका केटाकेटीहरु हेरेर तात्तोचानको कोयावाशी सरभन्दा भावुक हुनुभयो होला । बिहानीपख उपेन्द्र दाइले लेखेको कविताहरुजस्तै आमा, चौतारा, समयलाई साक्षी राखेर आउनुभएको थियो होला । हुनसक्छ कुनै पुस्तक वहाँले साँझ सक्छु भनेर सिरानीमा राख्नुभएको थियो । हुन सक्छ कुनै रुखको विरुवा भोली रोप्छु भनेर थाती राख्नुभएको थियो । बिहान खाना खाएपश्चायत केहि सकारात्मक सोच्नुभएको हुँदो हो । हुनसक्छ वर्तमान समयको राजनैतिक अराजकतालाई कुनै भेलामा आलोचना गर्नुभएको थियो । कतिलाई भेट्ने बाचा गर्नुभएको हुँदो हो । आमासँग गएँ भनेर हिँड्नु भएको हुँदो हो । बस सदाजस्तरी फर्किन्छ भन्ने दिनचर्या नै ठान्नुभएको थियो होला आमाले पनि । बस भैरव अर्यालले बताएजस्तै मुटुले एक पटकलाई ‘एकछिन’ भनिदियो र धड्किन अल्छी गरिदियो ।

सम्झना यसै रहेछ दाइ । कुनै दिन धेरै समयअगाडी तपाईको एक मुस्कुराएको तस्वीर लिएको थिएँ । आज विश्वास लागिरहेको छैन । पर्दा खस्यो र नाटकको एक अध्याय फेरियो । र तपाईको विषयमा लेखिएको यो लेख तपाईँले पढ्नुहुन्न थाहा छ । केहि प्रतिक्रिया हुनेछैन थाहा छ । बस यादहरुको एक चाङ्ग छ । मोबाइल स्क्रोल गर्दा तपाइको नम्बर त्यहिँ देखिन्छ । फेसबुकको प्रोफाइल त्यहि देखिन्छ । तपाईको म्यासेजहरु पनि उस्तै छन् । फोटो उसै हाँसिरहेछ तर कुनैदिन, ‘‘यो फोटो चैँ मैले डाउनलोड गरेर राखेँ ल भाइ ।’’ भन्नु हुने छैन । हामीमाझ अब संवाद हुन असम्भव रह्यो । मेरो दाइ यो हाम्रो भेट धेरै नै छोटो र यादगार रह्यो । तर थाहा थिएन दोबाटो यहाँबाट यस्तरी सुरु हुनेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार