माईजोगमाई गाउँपालिकाको बजेट साढे ३६ करोड (हेर्नुहोस् बजेटको पूर्ण पाठ)

  नयाँ बुलन्द
0 Shares

माईजोगमाई : इलामको माईजोगमाई गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७६/०७७ का लागि बजेट, नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।

नयाँबजारमा मंगलबार आयोजित कार्यक्रममा गाउँपालिका उपाध्यक्षा सावित्रा भट्टराईले आगामी आर्थिक वर्षका लागि बजेट सार्वजनिक गरेकी हुन ।

भट्टराईले आगामी एक वर्षका लागि ३६ करोड ५४ लाख ३२ हजार बराबरको बजेट सार्वजनिक गरिन् । सडक, खानेपानी,  सिंचाई र भवन निर्माणलाई उच्च प्राथमिकतामा राख्दै बजेट तथा कार्यक्रम सार्वजानीक गरिएको उपाध्यक्ष भट्टराईले जानकारी दिइन् ।

जसमध्ये चालु खर्च तर्फ ५ करोड ३० लाख, सशर्त अनुदानतर्फ १५ करोड ८६ लाख, र पुंजीगत खर्चतर्फ १५ करोड ३८ लाख ३२ हजार  बिनियोजन गरिएको छ ।

पुँजीगत खर्च तर्फ कुल विनियोजित बजेटको आर्थिक विकास तर्फ ९ दशमलव १२ प्रतिशत, सामाजिक विकास तर्फ १७ शदमलव ८७ प्रतिशत, पूर्वाधार विकास तर्फ ५६ दशमलव ९७ प्रतिशत, वन, वातावरण तथा विपद व्यवस्थापन तर्फ ३ दशमलव २५ प्रतिशत, संस्थागत विकास, सेवा प्रवाह र सुशासन तर्फ ५ दशमलव ९४ प्रतिशत बजेट खर्च हुने गरि योजना तथा कार्यक्रम तयार गरिएको छ ।

वडा कार्यालय र गाउँपालिकाको केन्द्र जोड्ने मुख्य सडकहरुमा कम्तिमा ५५ लाखका दरले बजेट विनियोजन गरिएको छ भने वडा स्तरीय सडक योजनाहरुमा कम्तिमा ४ लाखका दरले बजेट विनियोजन गरेको छ । यस वर्ष सम्पूर्ण वडा कार्यालय भवन निर्माण सम्पन्न हुने गरी बजेट विनियोजन गरिएको छ ।

हेर्नुहोस् आर्थिक वर्ष २०७६ / ७७ को कार्यक्रम तथा बजेटको पूर्ण पाठ 

माननिय सभाध्यक्ष महोदय,

यस गरिमामय सभामा यस माईजोगमाई गाउँपालिकाको उपाध्यक्षको हैसियतले नेपालको संविधान कानुन बमोजिम आगामी आर्थिक वर्ष २०७६ / ०७७ को बजेट प्रस्तुत गरिरहँदा गौरव महशुस गरेको छु । यस अवसरमा आजको लोकतन्त्रिक गणतान्त्रिक  शासन व्यवस्था र  राजनीतिक तथा सामाजिक रुपान्तरणका निमित्त आफ्नो अमूल्य जीवन बलिदान गर्नुहुने ज्ञात अज्ञात महान शहिदहरु प्रति हार्दिक श्रद्धानञ्जली अर्पण गर्दछु । साथै वेपत्ता तथा घाइते योद्धाहरु र वहाँहरुको परिवार जन लगायत आम गाउँबासिमा हार्दिक सम्मान प्रकट गर्न चाहन्छु ।

“माईजोगमाई गाउँपालिकाको आह्वान जनश्रम र जनसहभागिताको सम्मान” भन्ने नाराका साथ विकासमा उच्च जनसहभागीताका साथ समृद्ध गाउँपालिका बनाउने हाम्रो ध्येय रहेको छ ।

२०७४ साल अषाढ २९ गते गठन भएको माईजोगमाई स्थानिय सरकार विभिन्न अनुभवहरु संगाल्दै माईजोगमाई गाउँपालिकाको वृहत्तर विकासका लागि अघि बढिरहेको छ । नयाँ शासन व्यवस्था नयाँ संरचना नयाँ अनुभवको बाबजुद यस माईजोगमाई स्थानिय सरकारले तेस्रो वर्षमा प्रवेशको संघारमा माईजोगमाई गाउँपालिकाका लागि तेस्रो वार्षिक बजेट तथा कार्यक्रम प्रस्तुत गर्ने अवसर प्राप्त भएको छ । जनप्रतिनिधि बाहालि भएपछि १ वटा वार्षिक बजेट तथा कार्याक्रम सफल रुपमा कार्यान्वयन भएको छ भने चालु आ.व.को बजेट तथा कार्यक्रम कार्यान्वयनको अन्तिम चरणमा छ ।

यस विचमा माईजोगमाई स्थानिय सरकारले दिगोविकासको निमित्त आयोजनहरुको डि.पी.आर. तयार गर्ने, विकास योजना तयार गर्ने कार्यको थालनि गरेको छ साथै वास्तविक तथ्याङ्कमा आधारित भएर माईजोगमाई गाउँपालिकाको प्रथम पञ्चवर्षिय योजना २०७६ – ८१ तयार गरि लागु गरेको छ । यसै पञ्चवर्षिय योजना, केन्द्रिय योजना  र प्रदेशको योजनाहरु सँग तादम्यता राख्दै  साथै जनताका आवश्यकता चाहानालाई मध्यनजर गर्दै आगामि आर्थिक वर्ष २०७६/ ०७७ का लागि बजेट तथा कार्यक्रम तयार गरिएको छ ।

माईजोगमाई गाउँपालिकाको आ.व २०७६/०७७ को कुल बजेट ३६ करोड ५४ लाख ३२ हजार मध्ये चालु खर्च तर्फ ५ करोड ३० लाख , सशर्त अनुदान तर्फ १५ करोड ८६ लाख, र पुंजीगत खर्च तर्फ १५ करोड ३८ लाख ३२ हजार  बिनियोजन गरिएको छ ।

पुँजीगत खर्च तर्फ कुल विनियोजित बजेटको आर्थिक विकास तर्फ ९.१२ प्रतिशत, सामाजिक विकास तर्फ १७.८७ प्रतिशत, पूर्वाधार विकास तर्फ ५६.९७ प्रतिशत, वन, वातावरण तथा विपद व्यवस्थापन तर्फ ३.२५ प्रतिशत, संस्थागत विकास, सेवा प्रवाह र सुशासन तर्फ ५.९४ प्रतिशत बजेट खर्च हुने गरि योजना तथा कार्यक्रम तयार गरिएको छ ।

यस वर्ष मुख्यतः सडक, खानेपानी,  सिंचाई र भवन निर्माण लाई उच्च प्राथमिकतामा राखीएको छ साथै वडा कार्यालय र गाउँपालिकाको केन्द्र जोड्ने मुख्य सडकहरुमा कम्तिमा ५५ लाखका दरले बजेट विनियोजन गरिएको छ भने वडा स्तरीय सडक योजनाहरुमा कम्तिमा ४ लाखका दरले बजेट विनियोजन गरेको छ । यस वर्ष सम्पूर्ण वडा कार्यालय भवन निर्माण सम्पन्न हुने गरी बजेट विनियोजन गरिएको छ ।

 माननीय अध्यक्ष ज्यु तथा सदस्य ज्युहरु, अव म विषयगत क्षेत्र तर्फको बजेट प्रस्तुत गर्न गईरहेको छु ।

आर्थिक विकास क्षेत्र :

  • कृषि उत्पादनमा आधुनिकिकरण विविधिकरण र व्यवसायिकरण गर्दै कृषि पेशालाई प्रमुख आर्थिक आधारको रुपमा विकास गरिनेछ । कृषि क्षेत्र अन्तर्गत बिउविजन वितरण कार्यक्रम, कृषकहरुको क्षमता विकास कार्यक्रम, कृषक समुहहरुलाई कृषि सम्बन्धि औजार उपकरण वितरण कार्यक्रम र नमुना अलैची,अदुवा र अकबरे खुर्सानी उत्पादन कार्यक्रम तथा पशु विकास कार्यक्रम समेतको लागि एकमुष्ट रु. ७० लाख विनियोजन गरेको छु । विषयगत कार्यालयहरुसँग समन्वय गरी थप कार्यक्रमहरु सञ्चालन गरिनेछ ।
  • कुटिर उद्योग सञ्चालनको लागि आयोजनागत अनुदान तथा उद्यमशिलता सम्बन्धि सिप विकास कार्यक्रमको लागि एकमुष्ठ ८ लाख ३२ हजार विनियोजन गरेको छु ।
  • पर्यटन प्रर्वद्धनका लागि नयाँबजार गुम्बाको संरक्षण तथा प्रर्वद्धन, प्याङ्ग गुम्बा निर्माण, गुरुङ्ग गुम्बा निर्माण र बालागूरु शिवालय मन्दिरमा वेद विद्याश्रम निर्माणका साथै थुम्के महोत्सव, मलुपोखरी पर्यटन क्षेत्र संरक्षण, म.म. गुप्तेश्वर कालीमाई धाम प्रवर्धनको लागी एकमुष्ठ रु. ४० लाख विनियोजन गरेको छु ।
  • सहकारीको सिद्धान्त मर्म अनुसार सहकारी सञ्चालन व्यवस्थापन र शसक्तिकरण कार्यक्रमका साथै सहकारी सञ्चय, प्रशोधन, वजारीकरण र रोजगारमूलक कलकारखाना समेत स्थानीय सम्भाव्यताको आधारमा आयोजनागत अनुदान कार्यक्रमका लागी साथै जनताहरुको बिचमा बैकिंङ पहुँच पुर्याउने उदेश्यले वित्तिय साक्षरता तथा बैकिंङ कार्यक्रमको लागि एकमुष्ठ रु. १२ लाख विनियोजन गरेको छु ।

सामाजिक विकास क्षेत्र :

  • शिक्षालाई माईजोगमाई गाउँपालिकाको विकास र समृद्धिको आधारको रुपमा लिइनेछ । यस वर्ष विद्यालयको भौतिक पुर्वाधार भन्दा शैक्षिक क्षेत्रमा क्षमता विकासका कार्यक्रमहरु, शिकाई प्रशिक्षण हाजिरी जवाफ प्रतियोगिता, विद्यालय भित्र पोशाक एकरुपता कार्यक्रमका साथै विद्यालय घेरावारा जस्ता कार्यक्रमहरुको लागि एकमुष्ठ रु. ४० लाख  विनियोजन गरेको छु । शिक्षा सम्वन्धी थप कार्यक्रमहरु विषयगत कार्यालयबाट समेत हस्तान्तरण भई थप हुनेछन् ।
  • स्वास्थ्य नै मानिसको महत्वपूर्ण धन हो भन्ने मुल मर्मलाई यस गाउँपालिकाले अनुशरण गर्नेछ । यसका लागि स्वास्थ्य केन्द्रहरुमा आवश्यक सामाग्रीहरुको व्यवस्थापन कार्यक्रम, स्वास्थ्य केन्द्रहरुको मर्मत संभार र स्वास्थ्य सेवा गुणस्तर प्रर्वद्धन अन्तर्गत अत्यावश्यक ‍औषधि खरिद जस्ता कार्यक्रमहरु सञ्चालन गरिनेछ । यी कार्यक्रमहरुको लागि एकमुष्ठ रु. ३० लाख विनियोजन गरेको छु ।
  • खानेपानी तथा सरसफाई सेवालाई प्रर्वद्धन गर्न गाउँपालिकाबाट विशेष जोड दिइनेछ । यसका लार्गिे, वडास्तरमा खानेपानीको मर्मत तथा व्यवस्थापन कार्यक्रम साथै यसै वर्ष गाउँपालिकालाई पूर्ण सरसफाई उन्मुख गाउँपालिका घोषणा गर्ने गरी कार्यक्रम सञ्चालन गरिनेछ । यी कार्यक्रमहरुको लागि एकमुष्ठ रु.  १ करोड ६ लाख  विनियोजन गरेको छु ।
  • इलाम जिल्लाकै पहिचानको रुपमा रहेको माईवेनी शिवालय धामको प्रर्वद्धन गर्न माईवेनी शिवालय मन्दिर विकास गुरुयोजना निर्माण, साकेला थान निर्माण, दुर्गा मन्दिर निर्माणका लागि एकमुष्ठ रु. १० लाख हजार विनियोजन गरेको छु ।
  • गाउँपालिकामा क्षेत्रमा खेलकुदको प्रर्वद्धन र विकासका लागी खेलकुद कार्यक्रम संचालनलाई प्राथमिकता दिईनेछ । खेलकुद कार्यक्रम अन्तर्गत एकमुष्ठ  रु. १५ लाख विनियोजन गरेको छु ।
  • यस गाउँपालिकामा रहेका महिला, आदिवासी जनजाती, दलित, बालबालिका , जेष्ठ नागरिक, अपाङ्ग.र सिमान्तकृतहरुलाई लक्षित वर्गहरुको रुपमा लिदै यिनीहरुको शसक्तिकरणका लागि सिप विकास, आयआर्जन तथा रोजगारमुलक कार्यक्रमहरु संचालन गर्न  एकमुष्ठ  रु. ७४ लाख  विनियोजन गरेको छु ।
  • स्थानीय तहको घोषणासँगै पुर्वाधार विकासमा तिव्रता दिनु अतिआवश्यक देखिएको छ । तसर्थ पूर्वाधार विकासको लागि स्थानिय सडक तथा पुलको क्षेत्रमा तिब्र गतिमा विकास गर्ने गरी यस वर्ष मुख्यत बजेट विनियोजन गरेको छु ।

नयाँबजार बजारक्षेत्र पि.सि.सि. ढलानका लागी रु १ करोड ७० लाख,  इ.न.पा ब्रजदेवि हात्तिटार शुक्रबारे चित्रे नयाँबाजर सडकको लागी रु ७५ लाख, नयाँबजार सार्वजनिक शौचालय शनिश्चरे वडा कार्यालय सु.न.पा. सडक खण्डको लागी रु ५५ लाख , नयाँबजार प्याङ्ग पंचमी इङ्ला सडक को लागी रु ५५ लाख, स्याल ढुङ्गा सरस्वति मा.वि. सोमगोलाई हर्रापाखा बममायागोलाई कृष्णगोलाई पिङ्गगोलाई अर्चलेपुल इ.न.पा सडक रु ५५ लाख विनियोजन गरेको छु भने गत आ.व. मा खरिद गरेको हेव्वी इक्विप्मेन्ट सञ्चालन तथा मर्मतका लागि रु ५० लाख र पुल तथा झोलुङ्गे पुल मर्मत निर्माण साझेदारीका लागि रु १० लाख गरी जम्मा स्थानिय सडक पुल तथा झोलुङ्गेपुल तर्फ वडा स्तरीय बाटोहरु समेत गरी एकमुष्ठ रु ४ करोड ७४ लाख विनियोजन गरेको छु ।

  • गाउँपालिकामा क्षेत्रमा कृषि उत्पादनमा वृद्धि गर्न सिंचाईको भरपर्दो व्यवस्था गरिनेछ । यसको लागि वडास्तरीय सिंचाई मर्मत सुधार कार्यक्रमको लागि रु. ३४ लाख विनियोजन गरेको छु ।
  • स्थानिय तहको घोषणा संगै संस्थागत संरचनाहरुको आवश्यकतालाई मध्यनजर गर्दै गाउँपालिका अन्तर्गत वडा नं. १ को वडा कार्यालय भवन निर्माण, वडा नं. ४ को वडा कार्यालय भवन निर्माण निरन्तरता दिदै वडा नं. ३ को वडा कार्यालय भवन तल्ला थप तथा वडा नं. २ र ६ को वडा कार्यालय भवन निर्माण  क्रमागत रुपमा निर्माण गरिनेछ । साथै अमर कल्याण मा.वि.मा तालिम हल निर्माण गरिनेछ । यी कार्यहरुको लागि एकमुष्ट  रु. १ करोड ३५ लाख   विनियोजन गरेको छु ।
  • गाउँपालिकाका सम्पूर्ण वडाहरुमा विद्युत विस्तार गरि यस गाउँपालिकालाई विद्युतिय पहुँच पुगेको गाउँपालिकाको रुपमा विकास गर्ने दिर्घकालिन सोचका साथ अगाडी बढिनेछ । यस आ.व मा गाउँपालिका क्षेत्रका विभिन्न वडाहरुमा विद्युत विस्तार र मर्मत कार्यक्रमको लागि एकमुष्ट रु. ५० लाख विनियोजन गरेको छु । थप कार्यक्रमका लागि सम्बन्धित निकायमा पहल गरिनेछ ।
  • वातावरणिय संरक्षण र   विपद व्यवस्थापन जस्ता कार्यक्रमहरुलाई मध्यनजर गर्दै वन तथा भु-संरक्षणका लागि रु २० लाख, वातावरण संरक्षण जलवायु परिवर्तन सचेतना कार्यक्रमका लागि रु २ लाख विनियोजन गरेको छु भने प्याङ पञ्चमी, शनिश्चरे र शुक्रबारे जस्ता बजारमा ढल व्यवस्थापन का लागि रु २१ लाख विनियोजन गरेको छु ।
  • यस गाउँपालिकाको क्षेत्रमा हुने विपद सम्वन्धि कार्यलाई व्यावस्थित गर्नका लागि विपद व्यवस्थापनका लागि सचेतना तालिम तथा विपद उद्दार सामाग्रि खरिद र जल उत्पन्न प्रकोप नियन्त्रण कार्यक्रमका लागि एकमुष्ठ रु. ७ लाख विनियोजन गरेको छु ।
  • गाउँपालिका बाट प्रवाह हुने सेवा प्रवाहको पद्धतिमा  सुधार गर्ने, जनताको घर दैलोमा सेवा प्रवाहको पहुँच पुराउन घुम्ति सेवा संचालन गर्ने, गुनासो सुनुवाई संयन्त्र निर्माण गर्ने जस्ता सुशासन कायम गर्ने कार्यक्रम तथा कर्मचारी / पदाधिकारी तालिम अवलोकन भ्रमण, न्यायिक समितिका लागि क्षमता विकासका कार्यक्रम पञ्जिकरण व्यवस्थापन कार्यक्रम गर्ने गरि कार्यक्रमहरु संचालन गरिनेछ । यी कार्यक्रमको लागि एकमुष्ट रु. ३६ लाख ५० हजार  विनियोजन गरेको छु ।
  • गाउँपालिका र अन्तर्गतका वडा कार्यालयहरुमा पूँजीगत सामानहरु जस्तै फर्निचर, मेसिन औजार आदिको व्यवस्था गर्न, पूँजीगत अनुसन्धान तथा परामर्श सेवाकालागि एकमुष्ठ रु ५५ लाख विनियोजन गरेको छु ।
  • आर्थिक श्रोतको सुनिश्चितता नै विकासको सुनिश्चितता भन्ने मूल धेयका साथ ऐन नियम बनाई यस वर्षबाट स्थानिय विकास कोष सञ्चालन गर्ने गरी रु ५ लाख विनियोजन गरेको छु । भने अन्य विकास साझेदार निकायहरु सँग साझेदारीमा काम गर्ने गरी समपुरक कोषमा  एकमुष्ट रु. १ करोड  विनियोजन गरेको छु ।
  • प्रस्तुत बजेट तर्जुमामा मार्ग निर्देशन गर्नुहुने,अध्यक्ष ज्यू, प्रमुख प्रशासकिय अधिकृत ज्यू, सम्पूर्ण कर्मचारीहरु, गाउँकार्यपालिकाका सम्पूर्ण सदस्यहरु, राजस्व परामर्श समिति, श्रोत अनुमान तथा बजेट सीमा निर्धारण समितिका सदस्यहरु, बजेट तर्जुमा समितिका सदस्यहरु र बजेट निर्माणको क्रममा आआफ्नो तर्फबाट अमूल्य राय सुझाव र सल्लाह दिनुहुने सम्पूर्ण राजनीतिक दलका प्रमुख एवं प्रतिनिधि ज्यूहरु, बुद्धिजिवि, नीजि क्षेत्रका संगठनहरु, नागरिक समाज तथा सामुदायिक संस्था, गैरसरकारी संस्थाहरु, पत्रकार एवंम संचारकर्मीहरु प्रति विशेष आभार प्रकट गर्न चाहन्छु ।

समस्याहरु धेरै छन् सबैको एकैपटक समाधान संभव छैन र हुन पनि सक्दैन । वर्तमान वस्तुगत यथार्थ धरातलमा उभिएर चुनौतिहरुको सामना गर्न हामी सबै कटिबद्ध, प्रतिबद्ध र एकताबद्ध बनौँ । उज्जल भविष्य निर्माणको लागि आशावादी बनौँ ।

अन्तमा, हामी राज्य पुर्नसंरचना अन्र्तगत अत्यन्त नयाँ व्यवस्थाको अभ्यासको क्रममा छौ । यो संक्रमणकालिन समयमा हामी जति मेहनेत र परिश्रमका साथ अगाडी बढ्छौ त्यति नै संक्रमणकाल लाई छिटो अन्त्य गरि माईजोगमाई गाउँपालिकालाई विकास र समृद्धिको पथमा अगाडि बढाउन सफल हुन्छौ भन्ने मैले विश्वास लिएको छु । यस ऐतिहासिक र अभूतपूर्व परिवर्तलाई संस्थागत गर्न यस माईजोगमाई गाउँपालिकामा क्रियाशिल राजनीतिक दलहरु, नागरिक समाज, सरकारी तथा गैरसरकारी संस्था, वुद्धिजीवि, विकास प्रेमी, संचार जगत, आम जनताको साथ र सहयोगको यस गाउँपालिका ठुलो अपेक्षा गर्दछ ।

आफनो बजेट र नीति योजना आफै तर्जुमा गरि विकासको गति र दिशा तय गर्ने हम्रो यो ऐतिहासिक अवसर र चुनौति पनि हो । यो नीति तथा बजेट निर्माण कार्यमा सुरु देखि नै  आफनो बुद्धि विवेक र परिश्रमले सहयोग गर्नुहुने प्रमुख प्रशासकिय अधिकृत, गाउँकार्यपालिकाका सम्पूर्ण सदस्यहरु, सरोकारवाला वर्ग र कर्मचारी मित्रहरुप्रति विशेष आभार प्रकट गर्दछु ।

धन्यवाद  !

श्री सावित्रा भट्टराई

उपाध्यक्ष

माइजोगमाइ गाउँपालिका इलाम

मिति २०७६/३/१०

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार