राष्ट्रपति रनिङ शिल्डको उपाधि सिंहदेवी माविलाई

  नयाँ बुलन्द
0 Shares


इलाम : इलामको फाकफोकथुम गाउँपालिकामा आयोजित राष्ट्रपति रनिङ शिल्ड छनौट प्रतियोगिताको उपाधी सिंहदेवी माध्यमिक विद्यालय एकतप्पाले चुमेको छ ।

राष्ट्रपति रनिङ शिल्ड छनौट प्रतियोगिता आयोजक समितिका संयोजक तथा गाउँपालिकाका अध्यक्ष रामकुमार श्रेष्ठले विजयी टीमलाई ट्रफी, मेडल र प्रमाण पत्र प्रदान गरे ।

खेलको समापन समारोहलाई सम्वोधन गर्दै अध्यक्ष श्रेष्ठले खेलकूद क्षेत्रको विकासका लागि गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि विशेष कार्यक्रम ल्याउने प्रतिबद्धता समेत जनाए । यस गाउँपालिकालाई जिल्ला तथा क्षेत्र र राष्ट्रमा जित्ने खालको खेलाडी उत्पादन गर्ने स्थानको रुपमा विकास गरिने भनाई राखे ।

सितोरियो कराँते, उसु तथा एथलेक्टिक्सका नयाँ नयाँ खेल भित्र्याउनका लागि गाउँपालिकाले प्रशिक्षक बोलाएर यहाँका माध्यमिक विद्यालयमा खेलाउन सुरू गरिने गाउँपालिका अध्यक्ष श्रेष्ठले बताए । खेलमा सहभागी विद्यार्थीहरुको मनोबल बढ्ने किसिमले प्रोत्साहन गरिने उनको भनाई छ ।

प्रतियोगितामा जनकल्याण माध्यमिक विद्यालय दोकानडाँडा द्वितीय र राष्ट्रिय मावि कोल्बोटेले तृतीय स्थान हासिल गरे । खेलमा प्रथम द्वितीय र तृतीय हुने विद्यालयलाई ट्रफी, मेडल र प्रमाण पत्र प्रदान गरियो । त्यस्तैगरी खेलमा सहभागी विद्यालयहरुलाई समेत प्रशंसा पत्र प्रदान गरियो ।

खेलमा सिंहदेवी मावि आमचोक, विष्णु मावि फूएतप्पा, सिंहदेवी मावि फूएतप्पा, सिद्धबाबा आवासीय बोडिङ स्कूल, छायाँदेवी मावि लुङसुङदाङ, खाम्वाङ मावि खाम्वाङ र फलाँटे माविको सहभागिता रहेको थियो । खेलमा निर्णायकको रुपमा भूमिका निर्वाह गर्नुहुने माधव सुवेदी, घनश्याम चम्लागाईं, उद्वव लामिछाने, तुलसीराम अधिकारी, खेल सञ्चालक जीवन सुवेदीलाई प्रशंसा पत्र प्रदान गरियो ।

यहाँ छनौट भएका खेलाडी तथा विद्यालयले जिल्लामा हुने राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागिता जनाउनेछन् ।

आयोजक समितिका सदस्य सचिव मोतिखर पोखरेलले सञ्चालन गरेको कार्यक्रममा विद्यालय व्यवस्थापन समिति महासंघ इलामका अध्यक्ष लक्ष्मण घतानी, वडा नं. ३ का वडाध्यक्ष राजन पौडेल, स्टाउट शिक्षक तुलसीराम अधिकारीलगायतले बोलेको थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार