प्रधानमन्त्री ओलीको युरोप भ्रमण ‘फितलो, यथोचित सम्मान भएन’

  नयाँ बुलन्द
0 Shares

news

 

काठमाडौं : अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ)को शतवार्षिकी कार्यक्रममा सहभागी हुन स्वीट्जरल्यान्ड गएका प्रधानमन्त्री केपी शर्मा ओलीले बेलायत र फ्रान्सको पनि औपचारिक भ्रमण सकेर स्वदेश फर्किएका छन् ।

प्रधानमन्त्री आलीले युरोप भ्रमणलाई ‘उपलब्धिमूलक’ भनेका छन् ।

तर, भ्रमणकाक्रममा आइएलओको शतवार्षिकी समारोहलाई सम्बोधन गर्नुबाहेक देखिनेगरी दुईपक्षीय वार्ता तथा सम्झौताहरु हुन सकेन ।

प्रधानमन्त्री ओलीले आफ्नो भ्रमण सफल भएको बताएपनि कूटनीतिक क्षेत्रका विश्लेषकहरुले भने प्रधानमन्त्री ओलीले भ्रमण गरेका देशहरुमा यथोचित सम्मान नभएको बताएका छन् ।

बेलायत र फ्रान्समा राष्ट्र तथा सरकार प्रमुखलाई गरिने मापदन्डअनुरुप प्रधानमन्त्री ओलीको स्वागत नहुनु, बेलायती समकक्षीसँगको भेटवार्तामा दुईपक्षीय समझदारी नहुनु र संयुक्त वक्तव्य वा विज्ञप्तिसमेत जारी नहुनु तथा राजपरिवारका कनिस्ठ सदस्य राजकुमार ह्यारीसँगमात्रै भेटवार्ताको अवसर उपलब्ध हुनुले नेपालका प्रधानमन्त्रीको औपचारिक भ्रमणको मान्यतासमेत नदिएको हो कि भन्ने आशंका पनि कूटनीतिज्ञहरुले गरेका छन् ।

परराष्ट्रविद् रमेशनाथ पाण्डेले फ्रान्स भ्रमणकाक्रममा त्यहाँका राष्ट्रपतिसँग भेटवार्तासमेत नहुनु र फ्रान्सका प्रधानमन्त्रीले रात्रिभोजसमेत आयोजना नगर्नुले पनि ती मुलुकहरुले ओलीको भ्रमणलाई तुलनात्मकरुपमा कम महत्व दिएको बुझ्नसकिने बताए ।

उच्चस्तरीय भ्रमणका एजेन्डा र भ्रमणका दौरान हुने सबै भेटवार्ताको जानकारी भ्रमणपूर्व नै हुने हुँदा राष्ट्रको मान रहनेगरी भ्रमण गर्नुपर्ने उनको सुझाव छ ।

कूटनीतिक मूल्य–मान्यता राष्ट्रहितमा निहित हुने भएकाले दूरगामी सोचका साथ अघि बढ्नु आवश्यक हुने र राष्ट्रको प्राथमिकताकाबारेमा ख्याल नै नगरी विनातयारी भ्रमण गर्दाको परिणाम यस्तै आउने पाण्डेको धारणा छ ।

प्रधानमन्त्रीको युरोप भ्रमणबारे परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तिमा महत्वपूर्ण साझेदार राष्ट्रहरुसँग सार्वभौमिक समानता, पारस्परिक लाभ र सम्मानका आधारमा सम्बन्ध विस्तार गर्दै लैजाने सरकारको परराष्ट्र नीतिले अपेक्षित परिणाम दिन थालेको दाबी गरिएको छ ।

तर, प्रधानमन्त्रीका विदेश भ्रमणहरुको सूक्ष्म अनुगमन गरिरहेका विज्ञहरु भने एजेन्डाविहीन भ्रमण भइरहको अनुभव गरिरहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार