जिप दुर्घटना, ९ जनाको मृत्यु

  नयाँ बुलन्द
0 Shares

बझाङ : बझाङमा एक यात्रीवहाक जिप दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ९ पुगेको छ । चारजना गम्भीर घाइते छन् ।

मृत्यु हुनेमा पाँच पुरुष, तीन महिला र एक बालिका छन् ।

दुर्घटनामा परी मृत्यु हुनेमा मष्टा गाउँपालिका–१ का कलकबहादुर खड्काको सनाखत भएको छ । उनका छोराको पनि मृत्यु भएको जनाइएको छ ।

यस्तै, मृतकहरुमा जुनधारा खड्का, नैन खड्का, धौली खड्का, जुना खड्का, भक्त द्धाल, चालक सुरेन्द्र थापा र लक्ष्मी द्धाल रहेको वडा प्रहरी कार्यालय चैनपुरका सइ महानन्द जोशीले बताए । उनीहरुको ठेगाना खुलिसकेको छैन ।

गम्भीर घाइतेहरुलाई उपचारका लागि नेपालगन्जतर्फ लगिएको छ । उनीहरुलाई सिम्रिक एअरको हेलिकोप्टरमार्फत् नेपालगन्ज लगिएको घटनास्थलमा उद्धारमा खटिएका नेकपाका जिल्ला सदस्य रामचन्द्र रोकायाले जानकारी दिए ।

सोमबार सदरमुकाम चैनपुरनजिकै रहेको डुङ्रीबाट मष्टा गाउँपालिकातिर जाँदै गरेको स१ज १०७२ नम्बरको जिप दुर्घटना भएको हो ।

मष्टा गाउँपालिका वडा नम्बर–१, डौठी भन्ने ठाउँमा जिप दुर्घटना भएको प्रहरीले जनाएको छ ।

जिपमा कतिजना सवार थिए भन्ने खुलेको छैन । जिप भीरमा अड्किएको अवस्थामा छ । उद्धारकार्य अझै जारी छ ।

जिप सडकबाट करिब ५०० मिटर तल अफ्ठ्यारो ठाउँमा खसेको र मान्छेसमेत जान नसक्ने भएका कारण उद्धार गर्न निकै चुनौती रहेको सइ जोशीको भनाइ छ ।

नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय उद्धारमा जुटेका छन् ।

दुर्घटनाको कारण खुल्न सकेको छैन ।

घटनास्थलमा प्रमुख जिल्ला अधिकारी सुरेश सुनार, प्रहरी नायब उपरीक्षक सूर्यबहादुर केसीसहितको टोली पुगेको छ ।

दुर्घटनास्थल सदरमुकाम चैनपुरबाट करिब ६ किलोमिटर टाढा पर्दछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार