असुरक्षित आप्रवासन र मानव बेचविखन रोक्न युवा समूहको परिचालन

परियोजना अन्तरगत पत्रकारहरुसँग गरिएको अन्तरक्रिया ।

इलाम : पछिल्लो समय दिनानुदिन बढ्दो असुरक्षित आप्रवासन र मानव बेचविखन रोक्ने उद्देश्यले इलामका दुई स्थानीय तहमा युवा समूहहरु परिचालन गरिएको छ । ‘सामाजिक रुपान्तरणका लागि युवा’ नारासहित ‘असुरक्षित आप्रवासन र मानव बेचविखन रोकथामका लागि युवा समूहहरुको परिचालन परियोजना’  अन्तरगत रोङ गाउँपालिका र माई नगरपालिकामा सशक्तिकरण युवा समूह गठन गरी अभियानलाई तीब्रता दिइएको  छ ।

वैदेशिक रोजगारीमा जानेहरुको चाप बढी रहेको रोङ गाउँपालिका र माई नगरपालिकाका १६ वटै वडामा युवा सशक्तिकरण समूह गठन गरी अभियानमा उनीहरुलाई परिचालन गरिएको छ । स्थानीय पालिकाहरुको सहकार्यमा सबै क्षेत्र, लिङ्ग, समुदाय समेटेर १८ देखि ३० वर्ष उमेर समूहका युवा समेटेर युवा सशक्तिकरण समूह गठन गरिएको परियोजन संयोजक सन्तोष मगरले जानकारी दिए ।

समूहमा वैदेशिक रोजगारीका शिलशिलामा प्रवासमा विभिन्न समस्या भोगेर मुलुक फर्किएका, आप्रवासी र आप्रवासनको सम्भावितहरु, समाजका अगुवा र सरोकारवालाहरुलाई समेटिएको छ । १६ वडामा २० जनाका दरले ३ सय २० जना सो समूहमा संगठित भएका छन् । त्यस्तै पालिकास्तरीय समितिमा २७ जना संगठित भएका छन् ।

९२ लाख २५ हजार रुपैयाँको परियोजना १ वर्ष संचालन हुनेछ । त्यसमध्ये ३२ लाख २८ हजार ७ सय ५० रुपैयाँ प्रशासनिक र सामाग्री खर्च तथा ५९ लाख ९६ हजार २ सय ५० रुपैयाँ कार्यक्रममा खर्च हुने जनाइएको छ । परियोजनाको कार्यक्रम अन्तरगत वैदेशिक रोजगारीलाई निरुत्साहित गर्नका लागि युवा सशक्तिकरण समूहमार्फत विभिन्न तालिम संचालन गरिने मानव अधिकार मंच नेपाल इलामका कार्यकारी निर्देशक देवेन्द्र विश्वकर्माले बताए ।

युवा सशक्तिकरण समूहलाई सुरक्षित आप्रवासन, मानव बेचविखन, समूह परिचालन, नेतृत्व विकास सम्बन्धी ४ दिवसीय तालिम १६ वटै वडाका समूहका ३ सय २० जनालाई दिइसकिएको छ । त्यस्तै १६ वडाका २ सय ३५ जनालाई ७ दिवसीय उद्यमशीलता विकास तालिम समेत संचालन गरिएको छ । तालिम लिएकाहरुलाई सीप विकास आवश्यक परेमा छनोट गरेर सीपमुलक तालिम समेत दिइनेछ । तालिम लिएर उद्यम गर्न इच्छुक वडाका २/२ जनालाई बीऊ पुँजीको रुपमा केही रकम समेत उपलब्ध गराउने कार्यक्रम रहेको निर्देशक विश्वकर्माले जानकारी दिए । युवा सशक्तिकरण समूहमार्फत मानव बेचविखन विरुद्ध अभियान चलाउने र बेचविखनमा परेर फर्किएकाहरुलाई समाजमा पुनर्स्थापना गराउने परियोजनाको लक्ष्य छ ।

परियोजना अन्तरगत ४ स्थानमा वैदेशिक रोजगार परामर्श केन्द्र समेत स्थापना गरिएका छन् । जिल्ला प्रशासन कार्यालय इलाम, परियोजना आयोजक संस्था मानव अधिकार मंच नेपाल इलाम तथा परियोजना संचालित रोङ गाउँपालिका र माई नगरपालिकामा परामर्श केन्द्र स्थापना भएका हुन् । परामर्श केन्द्रमार्फत सुरक्षित वैदेशिक रोजगारीका सम्बन्धमा आवश्यक परामर्श दिइनेछ ।

परियोजना अन्तरगत अहिंसात्मक संचार, सहजकर्ताहरुका लागि प्रशिक्षक प्रशिक्षण तालिम, साप्ताहिक रेडियो कार्यक्रम, संचारकर्मीहरुसँगको अन्तरक्रिया लगायतका कार्यक्रमहरु रहेका छन् ।

एडब्लु ओ नामक अन्तरराष्ट्रिय जर्मन संस्थासँगको साझेदारीमा मानव अधिकार मंच नेपाल इलामले रोङ र माईमा परियोजना सुरु गरेको हो । मुख्यगरी युवाहरुलाई असुरक्षित आप्रवासन, मानव बेचविखन रोक्ने र उद्यमशीलतामा संगल्न गराई स्वरोजगार समेत बनाई आत्मनिर्भर बनाउने उद्देश्यका साथ परियोजना संचालन भइरहेको परियोजना संयोजक मगरले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार